close

आफ्ना यौनजन्य तस्विर बनाएको भन्दै एलन मस्कको एआई कम्पनीमाथि उनकै बच्चाकी आमाले हालिन मुद्दा

टेकपाना टेकपाना

माघ ४, २०८२ ७:२३

आफ्ना यौनजन्य तस्विर बनाएको भन्दै एलन मस्कको एआई कम्पनीमाथि उनकै बच्चाकी आमाले हालिन मुद्दा

काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई विरुद्ध मस्ककै एक बच्चाकी आमाले गम्भीर कानुनी मुद्दा दायर गरेकी छिन् । एशले सेन्ट क्लेयर नाम गरेकी ती महिलाले कम्पनीको ग्रोक च्याटबटले उनको सहमति बिना यौनजन्य र शोषणकारी डिपफेक तस्बिरहरू सिर्जना गरेको आरोप लगाउँदै न्युयोर्कको अदालतमा मुद्दा दर्ता गरेकी हुन् । 

२७ वर्षीया लेखिका तथा राजनीतिक रणनीतिकार सेन्ट क्लेयर मस्कका १६ महिने छोरा रोमुलसकी आमा हुन् । मुद्दा अनुसार ग्रोक च्याटबटले प्रयोगकर्ताहरूको अनुरोधमा सेन्ट क्लेयरका अनेकौँ यौन दुर्व्यवहारपूर्ण र अपमानजनक सामग्रीहरू उत्पादन गरेको छ । 

आफूले १४ वर्षको उमेरमा खिचेको सामान्य तस्बिरलाई सम्पादन गरेर ग्रोकले बिकिनी लगाएको बनाएको दाबी सेन्ट क्लेयरले गरेकी छिन् । यसका साथै उनलाई वयस्कको रूपमा आपत्तिजनक यौनजन्य आसनहरूमा र स्वस्तिक चिन्ह अङ्कित बिकिनी लगाएको अवस्थामा समेत देखाइएको दाबी गरिएको छ । 

यहुदी धर्मावलम्बी भएकी हुनाले स्वस्तिक चिन्ह प्रयोग गरिएका ती तस्बिरहरूले उनलाई अझ बढी मानसिक चोट पुर्‍याएको उनले बताएकी छिन् । यी सामग्रीका कारण आफूले गहिरो मानसिक कष्ट, अपमान र सुरक्षाको डर महसुस गरिरहेको उनले उल्लेख गरेकी छिन् ।

सेन्ट क्लेयरका अनुसार उनले यी डिपफेक तस्बिरहरूबारे मस्कको सामाजिक सञ्जाल एक्समा रिपोर्ट गर्दा सुरुमा कम्पनीले ती तस्बिरहरूले नीति उल्लङ्घन नगरेको जवाफ दिएको थियो ।  घटना सार्वजनिक भएपछि कम्पनीले उल्टै उनको प्रिमियम सब्सक्रिप्सन र भेरिफिकेसन चिन्ह हटाएर उनीमाथि प्रतिशोध साँधेको आरोप समेत उनले लगाएकी छिन् । 

साथै, उनलाई आफ्नो १० लाख फलोअर भएको अकाउन्टबाट आम्दानी गर्न समेत रोक लगाइएको छ । यसको जवाफमा एक्सएआईले सेन्ट क्लेयर विरुद्ध टेक्ससको अदालतमा ७५ हजार अमेरिकी डलरको क्षतिपूर्ति दाबी गर्दै उल्टै मुद्दा दायर गरेको छ । 

सेन्ट क्लेयरले प्रयोगकर्ता सम्बन्धी सम्झौता उल्लङ्घन कम्पनीको तर्क छ । जसअनुसार कुनै पनि कानुनी विवाद टेक्ससकै अदालतमा मात्र ल्याउनुपर्ने हुन्छ । एक्सएआईले यी आरोपहरूलाई लिगेसी मिडियाका झुटहरूको संज्ञा दिएको छ । 

यो विवाद यस्तो समयमा आएको छ कि ग्रोकले वास्तविक मानिस, विशेष गरी महिला र बालबालिकाहरूको नग्न तथा यौनजन्य तस्बिरहरू बनाउन अनुमति दिएकोमा विश्वभर कडा आलोचना भइरहेको छ । बेलायती प्रधानमन्त्री किर स्टाररले यस्ता तस्बिरहरूलाई लज्जास्पद र घृणित भन्दै आलोचना गरेका छन् । बढ्दो दबाबपछि एक्सले ग्रोकलाई वास्तविक मानिसहरूको कपडा हटाउन वा आपत्तिजनक तस्बिरहरू बनाउन रोक लगाउने प्राविधिक उपायहरू लागु गरेको घोषणा गरेको छ ।

यद्यपि, द गार्जियनको एक अनुसन्धानले यस्ता प्रतिबन्धहरू पूर्ण रूपमा प्रभावकारी नरहेको देखाएको छ । ग्रोकको वेब संस्करण ग्रोक इमेजिन (Grok Imagine) मार्फत अझै पनि महिलाहरूको तस्बिरबाट लुगा हटाउने भिडिओहरू र यौनजन्य सामग्री बनाउन सम्भव रहेको पाइएको छ ।

हाल मलेसिया र फिलिपिन्स जस्ता देशहरूले ग्रोकलाई प्रतिबन्ध लगाउने तयारी गरेका छन् भने बेलायती नियामक निकाय अफकमले यस विषयमा गम्भीर अनुसन्धान सुरु गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८२ ७:२३