काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलका नेताविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी एवम् ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई मंगलबार आफन्तको जिम्मामा छाडिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रसाईँको बयान लिने काम सम्पन्न भएपछि हिरासत बाहिरै राखेर अनुसन्धान गर्न उपयुक्त देखिएकाले उनलाई छाडिएको हो ।
“उहाँको बयान लिने कार्य सकिएको छ, थप प्रक्रियाका लागि हिरासत बाहिरै राख्न सकिने देखिएपछि आफन्तको जिम्मामा छोडिएको हो,” एसपी भट्टराईले टेकपानालाई भने ।
शनिबार पोखरामा आयोजित नागरिक सभालाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रसाईँले शनिबार एक पत्रकार सम्मेलनमार्फत नेपाली कांग्रेस (गगन थापा नेतृत्वको समूह) लाई आधिकारिकता दिने सिलसिलामा निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लेनदेन गरेको गम्भीर तर अपुष्ट दाबी गरेका थिए । सोही दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि निर्वाचन आयोगले उनीविरुद्ध कानुनी कदम चालेको हो ।
आयोगले प्रसाईँद्वारा सार्वजनिक भिडिओको सत्यता पुष्टि नभएको र यसले निर्वाचन जस्तो संवेदनशील विषयमा आम जनतालाई भ्रमित पारेको ठहर गरेको छ । संवैधानिक निकायको गरिमामा आँच पुर्याउने गरी भ्रामक प्रचार गरेको भन्दै आयोगले कारबाहीका लागि पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १५:३४
