close

सोधपुछका लागि राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो, के होला कारण ?

टेकपाना टेकपाना

माघ ८, २०८२ १३:१८

सोधपुछका लागि राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो, के होला कारण ?

काठमाडौँ । झापा क्षेत्र नम्बर २ का राप्रपा उम्मेदवार तथा अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएको छ । बुधबार फोन मार्फत उनलाई साइबर ब्युरोमा हाजिर हुन भनिएको हो ।

ब्युरोका प्रवक्ता दीपक अवस्थीले नेपाललाई सोधपुछका लागि बोलाइएको पुष्टि गरे । तर कुन विषयमा सोधपुछ गर्न खोजिएको हो भन्ने कुरा भने उनले स्पष्टसँग खुलाउन चाहनेनन् ।

"धेरै विषयहरू छन् भन्ने छ । त्यो हाम्रो अनुसन्धान टिमले हेरिरहेको छ," उनले टेकपानासँग भने । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्ना उम्मेदवारलाई ब्युरोले बोलाएको प्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, "स्वागत नेपाल अब एक्लो छैनन् : राप्रपाका दिवंगत वरिष्ठ नेता दिपक बोहोराले अस्वस्थताका कारण एक शब्द नबोलेर पनि गत निर्वाचनमा बहालवाला गृहमन्त्रीलाई पराजित गरेको इतिहास राप्रपासँग छ । हाम्रो पार्टीका झापा-२ का उमेदवार प्रखर बक्ता, अधिवक्ता स्वागत नेपाललाई चुनाव प्रचारमा रहेको समयमा केही समयअघि बोलेकै आधारमा सरकारी संयन्त्रले निरुत्साहित तुल्याउने प्रपञ्च गर्दैछ जुन आपत्तिजनक छ ।"

स्वागत नेपाल नबोल्ने, बोल्न नसक्ने र कानुन नजान्ने मान्छे नभएको उल्लेख गर्दै श्रेष्ठले हेक्का राख्न चुनौती दिएका छन् । "सरकारले देशैभर राप्रपाका उम्मेदवार विरुद्ध अनावश्यक र पुराना विषय उठाएर आक्रमणमा उत्रिएको छ," उनले भनेका छन् ।

श्रेष्ठका अनुसार नेपालले राप्रपामा समाहित हुनुअघि नै 'यो सरकार दलको हो, नागरिक सरकार होइन' भनेको र 'नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ’ भनेको विषयमा बोलाएर म्याद थप नगरी सकिएको विषयमा फेरि बोलाएको हो ।

साथै नेपालले राप्रपाले राष्ट्रिय एकता दिवसको दिन भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा 'पृथ्वीनारायण शाहले अंशबन्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए, अहिले पनि देश टुक्र्याउन खोज्नेलाई टुक्राउनुपर्छ, म पृथ्वीनारायण शाहजस्तै आफ्नै परिवारको भएपनि देश टुक्राउन खोज्नेलाई टुक्राउँछु' भनेका थिए ।

सोही विषयमा उनलाई पक्राउ गर्न खोजिएको प्रवक्ता श्रेष्ठले बताएका छन् । "जतिबेला जुन अभिव्यक्ति दिनुभयो, त्यति बेलासम्म स्वागतजी राप्रपामा समाहित भइसक्नु भएको थिएन । उहाँको त्यति बेलाको आधा भनाइ मात्र केही मिडियामा आएको र केहीमा पुरै भनाई आएको स्वागतजीको भनाइ छ," उनले भनेका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १३:१८