close

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

टेकपाना टेकपाना

माघ ९, २०८२ १७:१६

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौँ । डिजिटल युगमा पत्रकारिताका चुनौती, मिथ्या सूचना र तथ्यजाँचको महत्त्वलाई समेटेर तयार पारिएका तीन ओटा पुस्तक शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपाल र जर्नलिजम एकेडेमीद्वारा आयोजित एक कार्यक्रममा ‘डिजिटल युगमा पत्रकारिता’, ‘मिथ्या सूचना र तथ्यजाँच’ तथा ‘डिजिटल परिदृश्य’ नामक पुस्तकहरूको विमोचन गरिएको हो ।

जर्मन पत्रकार स्टेफान मोल र तन्जिभ शुल्जद्वारा लिखित पुस्तक ‘डिजिटल युगमा पत्रकारिता’ लाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपालीमा अनुवाद एवं सम्पादन गरेका हुन् । मूल रूपमा जर्मन भाषामा रहेको यो पुस्तकले डिजिटलाइजेसनको समयमा मिडियाको अवस्था, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, जिम्मेवारी र पत्रकारिताको गुणस्तरबारे बहुआयामिक चर्चा गरेको छ ।
त्यस्तै, उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेखेको ‘मिथ्या सूचना र तथ्यजाँच’ पुस्तकमा मिथ्या सूचनाको प्रकृति, यसको प्रतिकार गर्ने विधि, तथ्यजाँचको प्रक्रिया र मिडिया साक्षरताका विषयहरू समावेश छन् ।

तेस्रो पुस्तक ‘डिजिटल परिदृश्य’ पत्रकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन् । यस पुस्तकमा बदलिँदो प्रतिमानमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, युट्युबमा सम्पादकको भूमिका र समाचारमा प्रतिलिपि अधिकार (कपीराइट) जस्ता विषयलाई विश्लेषण गरिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै पत्रकार निर्मला शर्माले पत्रकारिता र सामाजिक सञ्जालमा मिथ्या सूचनाको प्रभाव बढ्दै गएको बताइन् । विशेषगरी निर्वाचनको समयमा हुन सक्ने मिथ्या सूचनाको प्रवाहप्रति सचेत रहनुपर्नेमा उनले जोड दिए । वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि र नागरिक पत्रकारिताका कारण मुख्यधारको पत्रकारितामा चुनौती थपिएको चर्चा गर्दै पत्रकारिताले समाजमा विश्वास जगाउन सक्नुपर्ने धारणा व्यक्त गरे ।

पुस्तकका लेखक एवं जर्मन पत्रकार स्टेफान मोलले विज्ञापनको बजार इन्टरनेटतर्फ स्थानान्तरण भइरहेको अवस्थामा पत्रकारहरूले मिथ्या सूचनाविरुद्ध लड्नुपर्ने चुनौती रहेको बताए । सीएमआर नेपालका अध्यक्ष नविन खतिवडाले नेपालमा निर्वाचनका बेला फैलिन सक्ने मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्य तथ्य स्थापित गर्न यी पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १७:२०