close

आपत्कालीन रक्तदानका लागि 'साथी' एप सार्वजनिक, लोकेसनमा आधारित सेवा दिने

टेकपाना टेकपाना

माघ १३, २०८२ १२:४३

आपत्कालीन रक्तदानका लागि 'साथी' एप सार्वजनिक, लोकेसनमा आधारित सेवा दिने

काठमाडौं । आपतकालीन अवस्थामा रक्तदान प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यले ‘साथी- ह्युम्यानिटी स्टिल एक्जिस्ट’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा आएको छ । प्रविधिमार्फत रक्तदाता र बिरामीलाई सिधै जोड्ने गरी यो एप सार्वजनिक गरिएको हो ।

डिजिटल स्वास्थ्य प्रविधि विज्ञले विकास गरेको यो एपमा लोकेसनमा आधारित प्रविधि प्रयोग गरिएको छ । जसअनुसार रगतको आवश्यकता परेका व्यक्तिले आफ्नो आसपास रहेका सम्बन्धित रक्त समूहका दातालाई तत्काल सूचना अलर्ट पठाउन सक्नेछन् । यो एप कम गतिको इन्टरनेटमा पनि सहजै चल्ने गरी निर्माण गरिएको सञ्चालकको दाबी छ ।

एपमा दर्ता भएका रक्तदाताको विवरण र स्वास्थ्य सम्बन्धी जानकारी सुरक्षित रूपमा व्यवस्थापन गरिएको डेभलपरले जनाएका छन् । यसमा प्रमाणित रक्तदाता प्रणाली र रक्तदानको हिस्ट्री हेर्न मिल्ने सुविधा पनि समावेश छ । अस्पताल, बिरामी र रक्तदाताबिचको समन्वयलाई थप सुदृढ बनाउँदै रगत अभावका कारण हुनसक्ने जोखिम न्यूनीकरण गर्ने यसको मुख्य लक्ष्य रहेको जनाइएको छ ।

‘मानवता अझै बाँकी छ’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । देश तथा विदेशमा रहेका नेपालीहरूले प्रयोग गर्न सक्ने यो एप हाल डाउनलोडका लागि उपलब्ध छ । इच्छुक प्रयोगकर्ताले saathi.io मार्फत एप डाउनलोड गरी यस अभियानमा जोडिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १२:४५