close

फ्याक्टचेक: गगन थापाले प्रधानमन्त्री बनेमा मोबाइल, भत्ता, पेट्रोल बाँड्ने घोषणा गरेका हुन् ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ १५, २०८२ १९:३४

फ्याक्टचेक: गगन थापाले प्रधानमन्त्री बनेमा मोबाइल, भत्ता, पेट्रोल बाँड्ने घोषणा गरेका हुन् ?

काठमाडौँ । सामाजिक सञ्जालमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री भएमा ६० वर्षमाथिका मानिसहरूलाई भत्ता तथा १८ वर्षभन्दा माथिका मानिसहरूलाई एउटा मोबाइल सित्तैमा दिने घोषणा गरेको क्लिप भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त क्लिप करिब चार वर्ष पुरानो रहेको पत्ता लागेको छ ।

गगनले बोलेको क्लिप सही भए तापनि पूरा सन्दर्भ जानकारी नहुने गरी एक घण्टाभन्दा लामो क्लिपको सानो अंश मात्र काटेर गलत अर्थ लगाइएको पाइएको हो । पपुलिस्ट (लोकप्रियतामुखी) राजनीतिलाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्दै दिएको उदाहरणलाई गगनले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको चुनावी एजेन्डा भन्दै भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको छ ।

दाबी 

फेसबुक प्रयोगकर्ता ‘Dinesh Dhami’ ले गगनको चुनाबी एजेन्डाहरू रहेको दाबी गर्दै भाषणको भिडिओ राखेका छन् । भिडिओमा भनिएको छ, “ल सुन्नुस गगन थापाका चुनावी एजेन्डाहरू” । त्यसपछि गगन थापाको भाषण सुरु हुन्छ, जहाँ उनले भनिरहेका छन्, “मलाई प्रधानमन्त्री बनाइदिनुस्, म कस्तो निर्णय गर्छु भने ६० वर्ष माथिका सबै मानिस लाई घरमै बसी बसी महिनाको ३० हजार रुपैयाँ, १८ वर्ष पुगेको सबै मान्छेलाई मोबाइल- त्यो पनि आईफोन चलाउने हो कि सामसङ चलाउने खोजी खोजीकन, मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको १०० लिटर पेट्रोल फ्री ।” 

२५ जनवरी २०२६ दिउँसो ४:२३ मा सार्वजनिक उक्त भिडिओको स्टाटसमा लेखिएको छ, “मलाई प्रधानमन्त्री बनाइदिनुस् म सबैलाई आइफोन मोबाइल सबैलाई बसीबसी तलब दिन्छु गगन थापा🤔👍️🙏” हेर्नुहोस्, भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

 अनुसन्धान 

हामीले सामाजिक सञ्जालमा ‘गगन थापा प्रधानमन्त्री’ किवर्ड राखेर सर्च गर्‍यौँ । ‘Quality Khabar क्वालिटी खबर’ ले ५ डिसेम्बर २०२४ मा "गगन थापा भन्छन् मलाई प्रधानमन्त्री बनाइदिनुस्......" शीर्षकमा उक्त भिडिओ सार्वजनिक गरेको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

 

फेसबुक प्रयोगकर्ता  ‘Sophyan Reza’ ले २३ जनवरी २०२६ साझ ५:४१ मा एक स्टाटस लेख्दै सोही दाबी गरेका छन् । उनले स्टाटसमा लेखेका छन्, “मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गर्छु भने। ६० वर्ष नागेकालाई घर बसीबसी महिनाको ३० हजार तलब। ३० वर्ष मुनिकालाई मोबाइल फ्री त्यसमा नि कुन मोबाइल लिनु आइफोन कि एन्ड्रोइड  छानी छानी। मोटरसाइकल चढ्ने व्यक्तिलाई वर्षको १०० लिटर पेट्रोल फ्री काङ्ग्रेसका सभापति हाल भावी प्रधानमन्त्रीको उम्मेदवार गगन थापा (बाख्रा चोर) को भनाइ” पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

 

 

“गगन थापा प्रधानमन्त्री बनेपछि!🤣” शीर्षकमा फेसबुकमा  ‘Arjun Thapa Kazi’ नामको अकाउन्टबाट पनि सोही भिडिओ २५ जनवरी २०२६ साँझ ५:०८ मा पोस्ट भएको छ । 

‘NEB Result & News’ ले ५ मार्च २०२२ मा सोहि दाबीसहित राखेको पोस्ट फेला पर्‍यो । उक्त पोस्टमा भनिएको छ, “Gagan thapa recently said" : म प्रधानमन्त्री बने देखि ६० वर्ष माथिका लाई महिना को ३०,००० रुपैया , १८ वर्ष पुगेका सबै लाई एउटा मोबाइल फ्रि तथा बाइक वाला सबैलाई वर्षको १०० लिटर पेट्रोल फ्री अनि म जति लोकपि्रय प्रधानमन्त्री कोही हुन्छ।”

सो पोस्टमा ६ हजारभन्दा धेरै रियाक्सन र ९०७ कमेन्ट गरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

फेसबुक पेज ‘आफ्नो मान्छे’ ले २५ जनवरी दिउँसो १:४० मा सोही भिडिओ पोस्ट गरेको छ । भिडिओको स्टाटसमा भनिएको छ "@highlight बाख्रा 🐐🐐 चोर लाई प्रधानमन्त्री बनाई दिनु 🤪😜🤪😜😝😅😂🤣" हेर्नुहोस् पोस्ट

सामाजिक सञ्जालमा गगन थापाले आफूलाई प्रधानमन्त्री बनाएमा मोबाइल, भत्ता तथा पेट्रोल दिने आश्वासन दिने घोषणा गरेको दाबी सहितका पोस्टहरू विभिन्न समयमा फैलिएको देखिएपछि हामीले गगनले बोलेको वास्तविक भिडिओ खोज्ने कोसिस गर्‍यौँ । 

हामीले गुगलमा ‘गगन थापा प्रधानमन्त्री’, ‘गगन थापा भत्ता’ ‘गगन १८ वर्ष मोबाइल’ जस्ता किवर्ड सर्च गर्‍यौँ । यसरी खोज्ने क्रममा “Gagan Thapa । गगन थापा प्रधानमन्त्रि भए १८ माथिका सबैलाई फोन फ्रि , ६० बर्ष मै भत्ता ....| Exclusive” शीर्षकमा ५ मार्च २०२२ मा ‘Samaya Nepal Tv’ ले सार्वजनिक गरेको भिडिओ फेला पर्‍यो । २२:१५ मिनेट लामो उक्त भिडिओमा गगनले भाषण दिएका छन् । भिडिओको अन्तिम पाँच सेकेन्डमा गगनले भनेका छन्, “मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गर्छु भने” यो वाक्यपछिको क्लिप उक्त भिडि‌ओमा उपलब्ध छैन ।

५ मार्च २०२२ मा यो भिडिओमा गगनको भाइरल क्लिपको केही अंश छ । जसकारण हाल भाइरल भइरहेको क्लिप सन् २०२२ देखि नै इन्टरनेटमा रहेको बुझ्न सकिन्छ । त्यसपछि हामीले २०२२ मार्च ताका नै गगनले भाषण दिएको हुनसक्ने अनुमान लगाएर १ देखि ५ मार्च २०२२ सम्म गगनको सार्वजनिक भाषणहरू केलायौँ ।  ‘गगन’, ‘गगन मोबाइल भत्ता’ जस्ता किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्दा भाइरल क्लिपमा गगनले बोलेको जस्तो दाबी सहितका समाचार फेला परेनन् । तर गगनले भाषण दिएका केही क्लिप भने फेला परे । 

‘Samadhan news’ ले ४ मार्च २०२२ मा सार्वजनिक गरेको भिडिओमा गगनको भाइरल क्लिपको अंश समेत समावेश छ । ‘गठबन्धन अर्कै विषय हो, चुनाव अर्कै : गगन थापा’ शीर्षकमा सार्वजनिक गरेको १:०३:३९ लामो भिडिओमा गगन बोलेको क्लिप भेटिएको हो । उक्त भिडिओको पृष्ठभूमिमा देखिएको ब्यानरमा ‘नेपाली काँग्रेस मादी गाउँपालिका अगुवा कार्यकर्ता भेला’ देख्न सकिन्छ । ब्यानरमा कार्यक्रमकाे मिति २०७८ साल फागुन २० र २१ गते र स्थान शीतलादेवी पार्टी प्यालेस, पाेखरा उल्लेख छ । हेर्नुहोस्  भिडि‌ओ

भिडिओको ४५:४० मिनेटदेखि गगनको भाइरल क्लिप हेर्न सकिन्छ । यस्तो छ गगनले दिएको वास्तविक भाषण:

गिरिजा प्रसादले छोड्ने बेलामा मनमोहन अधिकारीले सरकार चलाउन पाएको बेलामा तीन वर्षमा सिंहदरबारको खुत्रुकेको पैसा तीन गुनाले बढाएर ३६ अर्ब भयो । जब खुत्रुकेमा पैसा भयो अलिकति चलमलाउने अवस्था भयो । त्यसपछि बाआमालाई सय रुपैयाँ दिने कुराको सुरुवात भयो । त्यो बढ्दै छ, बढ्दै गएको छ । कमाउने धन्दा बन्द भयो भने दिने धन्दा पनि बन्द हुन्छ । कमाउने धन्दा भयो भने दिने धन्दा चल्छ ।

दिने कुराको निर्णय गर्न सबैभन्दा सजिलो हुन्छ हेर्नुस् । मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गर्छु भने ६० वर्ष माथिका सबै मानिस लाई घरमै बसि बसि महिनाको ३० हजार रुपैयाँ, १८ वर्ष पुगेको सबै मान्छेलाई मोबाइल त्यो पनि आइफोन चलाउने हो की सामसङ चलाउने खोजी खोजीकन, मोटरसाइकल चढ्ने मान्छेलाई एक महिनामा १०० लिटर पेट्रोल फ्री । म जत्तिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ । सब्बैलाई दिन्छु सबै फ्री । सबैले वाह वाह गर्छ ताली बजाउँछ । मलाई कसैले यो प्रश्न सोध्दैन कि त्यो नि:शुल्क दिन चाहिँ ढुकुटीमा कहाँ पाइन्छ भन्ने कसैले सोध्दैन ।

म मञ्चमा जान्छु, अब ज्येष्ठ नागरिकको बाआमाको भत्ताको कुरा हुन्छ । यो वर्ष हाम्रो पार्टी सरकारमा आयो भने ज्येष्ठ नागरिकको भत्ता बढाएर १० हजार पुर्‍याइने छ भनेँ । सबै भन्दा ताली कसले बजाउँछ भने, त्यो तरुणले बजाउँछ । क्या खुसी हुन्छ, बाबा बाबा भन्छ। 

तर उसले अत्तो पत्तो नै पाउँदैन कि त्यो कतार जान छोड्यो भने मलेसिया जान छोड्यो भने ! उसलाई कतार र मलेसिया पठाउँछ । त्यो कतार र मलेसिया पठाएबाट उसले कमाएको पैसाको ढाड थापेर नेपालको सरकारले आम्दानी गर्ने हो । त्यसको आम्दानीबाट आएको पैसा सरकारको ढुकुटीमा राखेर चलाउने हो ।

त्यो तरुणले चाहिँ के प्रश्न गर्नुपर्ने हो भने तिम्रो सरकारले नेपालमा रोजगारी कति सिर्जना गर्छ ? यो वर्ष मेरो भाइ कतारबाट फर्केर नेपालमा काम गर्न पाउँछ कि पाउँदैन ? मेरो बहिनी इजरायलको हाउस किपिङबाट फर्केर आउँछे, केयर टेकरबाट फर्केर आउँछे । नेपालमा महिनाको ४० हजार, ५० हजारको नर्सिङको जागिर खान पाउँछ कि पाउँदैन सोध्नु पर्छ । सोध्दै सोध्दैन । ताली बजाएर बस्छ । किनभने अराजक राजनीति छ । 

फेसबुक पेज ‘Hamrakhabar’ ले ५ मार्च २०२२ मा पनि गगनको भाषणको क्लिप राखेको छ । उक्त क्लिपमा पनि गगनको भाइरल भाषण सुन्न सकिन्छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “गगन थापाको भाइरल भिडियोकाे पुरा भाग (आधा भाग मात्रै सम्पादन गरेर गगन थापाको उक्त भाषण उनका बिराेधीहरुले भाइरल बनाइएका छन् । तर उक्त भिडियोकाे पूरा भाग यहाँ छ ।” यो भिडिओ क्लिपमा माथी उल्लेख गरेको गगनको भाषण सुन्न सकिन्छ । 

उक्त भाषणमा गगनले पपुलिस्ट राजनीतिलाई व्यङ्ग्यात्मक ढङ्गले आलोचना गरेका छन् । नेताहरूले आम्दानी बढाउनुभन्दा ‘फ्री’ बाँड्ने भन्दै घोषणा गर्ने गरेको बताएका छन् । भत्ता, सुविधा, अनुदान जस्ता कुरा घोषणा गर्दा तुरुन्तै कार्यकर्ताहरूले ताली बजाएर समर्थन गर्ने गरेको तर, त्यो पैसा कहाँबाट आउँछ भन्ने गम्भीरलाई वेवास्ता गर्ने गरेको भाषणमा उल्लेख गरेका हुन् । 

दाबी 

नेपाली काँग्रेसका सभापति गगन थापाले आफूलाई प्रधानमन्त्री दिएमा बसी-बसी भत्ता दिने, मोबाइल र पेट्रोल वितरण गर्ने घोषणा गरे । 

दाबीकर्ता 

‘Dinesh Dhami’, ‘Quality Khabar क्वालिटी खबर’, ‘Sophyan Reza’, ‘NEB Result & News’ लगायतका फेसबुक प्रयोगकर्ता । 

तथ्य

हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको गगन थापाको क्लिप ४ मार्च २०२२ को हो । सामाजिक सञ्जालमा दाबी गरिए जस्तै गगन थापाले त्यस समयमा “मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गर्छु भने ६० वर्ष माथिका सबै मानिस लाई घरमै बसि बसि महिनाको ३० हजार रुपैयाँ, १८ वर्ष पुगेको सबै मान्छेलाई मोबाइल त्यो पनि आइफोन चलाउने हो की सामसङ चलाउने खोजी खोजीकन, मोटरसाइकल चढ्ने मान्छेलाई एक महिनामा १०० लिटर पेट्रोल फ्री,” भनेका हुन् । तर उनले वास्तवमा चुनावमा भोट माग्नका लागि नभई जनतालाई सेवा सुविधा दिने सपना देखाएर लोकप्रिय भाषण देखाउने राजनीतिको बारेमा उदाहरण दिँदै व्यङ्ग्य गरेका हुन् । तर सामाजिक सञ्जालमा गगनले प्रधानमन्त्री बनाएमा वास्तवमै भत्ता, मोबाइल र पेट्रोल दिने घोषणा गरेको भनेर भ्रम फैलाइएको हो । 

निष्कर्ष

सामाजिक सञ्जालमा भाइरल भइरहेको नेपाली काँग्रेसका सभापति गगन थापाको भिडिओ भ्रामक दाबीका साथ प्रस्तुत गरिएको हो । भाइरल क्लिप ४ मार्च २०२२ मा गगनले दिएको एक घण्टाभन्दा लामो भाषणबाट काटेर लिइएको अंश हो । जहाँ भाषणको पूरा सन्दर्भ हटाएर गगन थापाले प्रधानमन्त्री बनेपछि मोबाइल, भत्ता र पेट्रोल वितरण गर्ने घोषणा गरेको जस्तो देखिने गरि भ्रम फैलाइएको हो ।

वास्तविकतामा गगन थापाले उक्त भाषणमा पपुलिस्ट (लोकप्रियतावादी) राजनीतिप्रति व्यङ्ग्यात्मक आलोचना गरेका हुन् । उनले आम्दानी सिर्जना नगरी नि:शुल्क बाँड्ने घोषणाले सजिलै ताली पाउने तर त्यसको आर्थिक आधारबारे प्रश्न नगर्ने प्रवृत्तिलाई उदाहरणमार्फत देखाएका हुन् । उनले आफू प्रधानमन्त्री बनेमा गर्ने काम वा चुनावी एजेन्डाको रूपमा ती कुरा प्रस्तुत गरेका होइनन् । 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८२ १९:५३