ओटीटी एप ‘स्टाइक्स नेपाल’ मा ३९९ रुपैयाँमै टी-२० विश्वकपका सबै खेल हेर्न पाइने
माघ १६, २०८२ १६:१९
काठमाडौँ । खेलकुदलाई मात्र प्राथमिकता दिने उद्देश्यका साथ नयाँ ओटीटी प्लेटफर्म ‘स्टाइक्स नेपाल’ (STYX NEPAL) सञ्चालनमा आएको छ । खेलप्रेमीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको हो ।
आगामी ७ फेब्रुअरी (२४ माघ) देखि सुरु हुने आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको डिजिटल प्रसारण गर्ने अधिकार लिएको बताउँदै स्टाइक्स नेपालले ग्राहकहरूका लागि सहुलियतपूर्ण ‘अर्ली बर्ड’ अफर समेत सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत नेपालभित्रका क्रिकेट प्रेमीहरूले ७ फेब्रुअरीभित्र सब्सक्रिप्सन लिएमा ३९९ रुपैयाँमै विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् । ७ फेब्रुअरीपछि भने उक्त शुल्क वृद्धि भई ४९९ रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।
स्टाइक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले क्रिकेटसँगै अन्य खेलहरूलाई पनि प्राथमिकतामा राखिएको बताए । उनले टेकपानासँग भने, “हामीले क्रिकेटसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारण अधिकार पनि सुरक्षित गरिसकेका छौँ । टी-२० विश्वकपपछि यसको औपचारिक घोषणा गर्नेछौँ ।”
क्रिकेटबाहेक नेपालमा धेरै पदक जित्ने तेक्वान्दो, बक्सिङ, बास्केटबल र भलिबलजस्ता खेलहरूलाई समेत जोड्ने र खेलाडीहरूलाई ‘ब्रान्ड एम्बेसडर’ बनाउने दीर्घकालीन लक्ष्य रहेको पछाईले बताए ।
एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यो एपमा ग्राहकहरूले डिजिटल वालेट इसेवाबाट भुक्तानी गर्न सक्नेछन् । हाल एप्पल प्रयोगकर्ताका लागि भुक्तानीमा देखिएका केही प्राविधिक समस्याहरू समाधानको प्रक्रियामा रहेको र चाँडै सहज हुने उनले जानकारी दिए ।
नेपालको आफ्नै खेलकुद प्लेटफर्म नहुँदा विदेशी एपहरूमा भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै डिजिटल क्रान्ति ल्याउन यो प्लेटफर्मले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १०:४२
