अमेरिकी दूतावासको पहलमा काठमाडौँमा कन्टेन्ट क्रिएटरहरूको मेला, सिर्जनालाई उद्यममा रूपान्तरण गर्ने अवसर
माघ १७, २०८२ १५:८
काठमाडौँ । सिर्जनशील अर्थतन्त्र (क्रिएटिभ इकोनोमी) को विकास र डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउने उद्देश्यका साथ काठमाडौँमा दुई दिने ‘क्रिएटर मेला २०२६: भिजन टु भेन्चर’ सुरु भएको छ ।
अमेरिकी दूतावासको आयोजनामा शुक्रबारदेखि सञ्चालित यस मेलाको पहिलो दिन काठमाडौँमा करिब ११ हजार उदीयमान कन्टेन्ट क्रिएटरहरूको सहभागिता रहेको थियो । शनिबारसम्म चल्ने कार्यक्रममा डिजिटल क्रिएसनलाई दिगो व्यवसायमा रूपान्तरण गर्नका लागि प्यानल छलफल, कार्यशाला, प्रत्यक्ष साङ्गीतिक प्रस्तुति र नेटवर्किङ अवसरहरू प्रदान गरिएको छ ।
यस वर्षको कार्यक्रमको प्रमुख आकर्षणका रूपमा ‘पिच टु सक्सेस’ (Pitch to Success) प्लेटफर्म रहेको छ । यसअन्तर्गत छनोट भएका क्रिएटरहरूले आफ्ना व्यावसायिक अवधारणा र योजनाहरू नेपालका प्रतिष्ठित कर्पोरेट कार्यकारीहरू सामु प्रस्तुत गर्नेछन् । उनीहरूले विज्ञहरूबाट तत्कालै फिडब्याक, मेन्टरसिप र आफ्नो व्यवसायलाई विस्तार गर्ने रणनीतिक मार्गदर्शन समेत प्राप्त गर्ने बताइएको छ ।
सन् २०२६ को मुख्य नारा ‘भिजन टु भेन्चर’ ले कन्टेन्ट क्रिएसनबाट उद्यम निर्माणतर्फको रूपान्तरणलाई जोड दिएको छ । प्रविधि, प्लेटफर्म मोनिटाइजेसन र डिजिटल व्यवसाय विकासका क्षेत्रमा रहेको अमेरिकी विज्ञतालाई उपयोग गर्दै नेपाली क्रिएटरहरूलाई आफ्नो प्रभावलाई दीर्घकालीन करियर र व्यावसायिक रूपमा सफल व्यवसाय बनाउन व्यावहारिक मार्गचित्र प्रदान गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा क्याबिनेट श्रेष्ठ, आनन्द बगरिया, अश्विन न्यौपाने, मानसी अग्रवाल, कविता नेपाली, उजन शाक्य, नीतेशजङ्ग कुँवर लगायतको उपस्थिति रहेको छ । मनोरञ्जन, डिजिटल कन्टेन्ट, उद्यमशीलता र व्यावसायिक नेतृत्वका क्षेत्रका विज्ञहरूको सहभागिताले नेपाली डिजिटल समुदायलाई थप उर्जा प्रदान गरेको आयोजकले जनाएको छ ।
यसअघि यो कार्यक्रमको चितवन र नेपालगञ्ज संस्करण सम्पन्न भइसकेको छ ।
पछिल्लो अध्यावधिक: माघ १७, २०८२ १५:४०
