अधिकांश मोबाइल प्रयोगकर्तामा फोनको जीपीएस अफ गरेपछि वा एपलाई लोकेसनको अनुमति नदिएपछि आफ्नो फोन पूर्ण रूपमा अदृश्य वा ‘इन्भिजिबल’ हुन्छ भन्ने भ्रम छ । तर प्रविधिको संसारमा यो पूर्ण सत्य होइन ।
वास्तवमा तपाईँको फोनमा रहेको सिम कार्डले निरन्तर मोबाइल नेटवर्कसँग सञ्चार गरिरहेको हुन्छ र यो नेटवर्कलाई तपाईँ कुन भौगोलिक क्षेत्रमा हुनुहुन्छ भन्ने कुराको मोटामोटी जानकारी सधैँ भइरहन्छ । यो प्रक्रिया जीपीएस वा इन्टरनेट जस्ता बाह्य सेवामा निर्भर हुँदैन । बरु यो टेलिकम्युनिकेसन प्रणालीको एउटा अनिवार्य हिस्सा हो ।
यस प्रक्रियाको मुख्य आधार प्रत्येक सिम कार्डमा रहने ‘आईएमएसआई’ अर्थात् इन्टरनेसनल मोबाइल सब्स्क्राइबर आइडेन्टिटी भनिने एउटा पृथक् र स्थायी पहिचान कोड हो । जब तपाईँले आफ्नो फोन अन गर्नुहुन्छ, यसले तुरुन्तै नजिकैका सेल टावरसँग सम्पर्क स्थापित गर्छ । यद्यपि सुरक्षाका लागि फोनले नेटवर्कसँग सञ्चार गर्दा इन्क्रिप्टेड वा अस्थायी कोडको प्रयोग गर्छ ।
तर मोबाइल नेटवर्क अपरेटरले त्यसलाई सजिलै वास्तविक आईएमएसआईसँग जोडेर कुन सिम कार्ड कुन टावरको सम्पर्कमा छ भन्ने पहिचान गर्न सक्छ । यसरी सिम कार्ड सक्रिय रहने बित्तिकै नेटवर्कले तपाईँको उपस्थिति थाहा पाउँछ ।
मोबाइल नेटवर्कमा रहेका प्रत्येक सेल टावरको आफ्नै एउटा डिजिटल पहिचान हुन्छ, जसलाई प्राविधिक भाषामा ‘डिजिटल फिङ्गरप्रिन्ट’ पनि भनिन्छ । यसमा देशको कोड बुझाउने एमसीसी (MCC), सेवा प्रदायक चिनारी दिने एमएनसी (MNC) र नेटवर्कभित्रको विशिष्ट क्षेत्र जनाउने एलएसी वा टीएसी (LAC/TAC) जस्ता महत्त्वपूर्ण जानकारी हुन्छन् ।
यी सबै कोडको संयोजनले मोबाइल नेटवर्कको एउटा निश्चित भौगोलिक क्षेत्रलाई परिभाषित गरेको हुन्छ । एउटा टावरले आफ्नो वरपर निश्चित दूरीसम्म (जस्तै करिब १००० मिटरको दायरामा) सिग्नल फैलाएको हुन्छ र त्यसको आफ्नै अक्षांश (Latitude) र देशान्तर (Longitude) हुन्छ ।
तपाईँको फोन प्रायः एउटा मात्र टावरसँग नभई सिग्नलको शक्ति अनुसार एकसाथ नजिकका ३ देखि ४ वटा टावरसँग जोडिएको हुनसक्छ । प्रत्येक टावरले आफ्नो कभरेजको एउटा काल्पनिक घेरा बनाउँछ र ती विभिन्न टावरका घेराहरू जुन ठाउँमा एकआपसमा काटिन्छन्, त्यही विन्दुलाई तपाईँको वास्तविक स्थानको नजिक मानिन्छ । यस विशेष प्रविधिलाई ‘सेल टावर ट्र्याङ्गुलेसन/ त्रिलेटेरेशन’ (Cell Tower Triangulation/Trilateration) भनिन्छ । यसैको मद्दतले जीपीएस बिना नै तपाईँको लोकेसन केही सय मिटरको शुद्धतामा पत्ता लगाउन सकिन्छ ।
यही कारणले गर्दा जब कुनै आपत्कालीन सेवा वा सुरक्षा निकायले कुनै फोनको लोकेसन पत्ता लगाउनुपर्ने हुन्छ, उनीहरूलाई न त जीपीएसको आवश्यकता पर्छ, न कुनै मोबाइल एपको अनुमति वा इन्टरनेट कनेक्सनको । उनीहरूलाई केवल तपाईँको सिम कार्ड र त्यो सिम कुन-कुन सेल टावरसँग कनेक्टेड छ भन्ने जानकारी भए पुग्छ । तपाईँलाई आफ्नो फोन निजी र सुरक्षित लागे पनि मोबाइल नेटवर्कले सधैँ तपाईँको सिग्नल देखिरहेको हुन्छ । यो दूरसञ्चार प्रविधिको आधारभूत कार्यप्रणाली हो ।
(लेखक घिमिरे साइबर सुरक्षा अनुसन्धानकर्ता हुन् ।)
पछिल्लो अध्यावधिक: माघ १८, २०८२ १७:३५
