केपी ओलीको फेसबुक पेजमा 'हेट स्पिच' रोक्न स्वचालित बट, नकारात्मक कमेन्ट गर्ने ३२ हजार आईडी ब्लक
माघ १८, २०८२ १८:३५
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा 'हेट स्पिच' रोक्न स्वचालित बट प्रयोग गरिएको पाइएको छ । ओलीको सूचना प्रविधि हेर्ने सचिवालयका एक सदस्यका अनुसार नियोजित रूपमा गरिने नकारात्मक कमेन्ट रोक्न एआईमा आधारित बट प्रयोग गरिएको हो ।
उनका अनुसार हालसम्म पेजमा नकारात्मक कमेन्ट गर्ने कूल ३२ हजार फेसबुक अकाउन्ट ब्लकमा परेका छन् । "यो बटले एक पटक गाली सहित नकारात्मक कमेन्ट गर्दैमा ब्लक गरिहाल्दैन," उनले प्रस्ट पार्दै भने, "हामीले तीन पटकसम्म लगातार नकारात्मक कमेन्ट गरेको पाइएपछि मात्रै ब्लक गर्ने गरी यसलाई सेटअप गरेका छौँ ।"
गालीगलौजपूर्ण कमेन्ट गर्न पैसा तिरेरै नक्कली अकाउन्टहरू प्रयोग गरिएको ओलीको सचिवालयको बुझाई छ । "नकारात्मक कमेन्ट गर्न ८०/९० हजार जति फेक अकाउन्ट परिचालित गरिएको हाम्रो विश्लेषण छ," ओलीको सचिवालयका ती सदस्यले भने, "यसमा मूलतः क्लिक फार्मिङ (पैसा तिरेर एङ्ग्री रिएक्ट तथा नकारात्मक कमेन्ट गर्न लगाउने) प्रयोग गरिएको छ ।"
हेट स्पिच गर्ने अकाउन्ट पहिचान गरेर ब्लक गर्ने यो बट नेपालमै विकसित गरिएको बताइएको छ । 'ब्लक किन गरेको ?' भन्दै गुनासो गर्नेहरूलाई भने म्यानुअल्ली अनब्लक समेत गर्ने गरिएको ओलीको सचिवालयले जनाएको छ । "अहिलेसम्म हामीले त्यस्ता करिब ३ हजार जति अकाउन्टलाई अनब्लक गरिसकेका छौँ," सचिवालयका एक सदस्यले भने, "तर बाँकी २३/२४ हजार भने अनब्लक हुने छैनन् ।"
पछिल्लो अध्यावधिक: माघ १९, २०८२ १३:२१
