close

फ्याक्टचेकः प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा बालेनलाई समर्थन गरेको जस्तो देखाउने भाइरल भिडिओ १५ महिना पुरानो

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ २१, २०८२ १२:५९

फ्याक्टचेकः प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा बालेनलाई समर्थन गरेको जस्तो देखाउने भाइरल भिडिओ १५ महिना पुरानो

काठमाडौँ । सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीले बालेन शाहलाई राजनीतिक दलहरूलाई आक्रमण गरेको बताउँदै भाषण दिएको दाबी सहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । टेकपानाको तथ्यजाँचबाट प्रधानमन्त्री कार्कीले दिएको भाषण वास्तविक भएपनि हालको नभइ १५ महिना पुरानो रहेको पाइएको छ । 

१५ असोज २०८१ मा पूर्व प्रधान न्यायाधीशको हैसियतले राष्ट्रिय युवा संसद् घोषणा कार्यक्रममा प्रमुख अथितीका रूपमा उनी सहभागी भएकी थिइन् । राजनीतिमा सक्रीय नभएको समयमा कार्कीले दिएको भाषणलाई हाल चुनावको माहोलमा जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको टेकपानाको तथ्यजाँचबाट पुष्टि भएको हो । 

दाबी

टिकटकमा ‘indra.bhandari66’ युजर आईडीबाट १ फेब्रुअरीमा प्रधानमन्त्री कार्कीको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा प्रधानमन्त्री कार्कीले बालेनलाई काम गर्न नदिएको आरोप लगाएको सुन्न सकिन्छ । 

जहाँ कार्कीले भनेकी छिन्, “बालेन माथि जहिले जसरी अट्याक भएको छ नि सर्वत्र बालेनलाई नास्त नामुद गर्न जसरी पोलिटिकल पार्टी लाग्नु भाछ नि त्यसैगरि लाग्छन् तपाईँको संस्थालाई बिगार्न लागि पर्ने छन् कत्तिको टोलरेट गर्न सक्नुहुन्छ त्यो चाहिँ बुझ्नुस् न । म त १००% युवाहरू आउनु पर्छ भन्ने पक्षमा छु । १०० पर्सेन्ट पढेलेखेका राजनीति पढेका, वकिलहरू, डाक्टरहरू, इन्जिनियरहरू आउनुपर्छ । किनभने सिस्टमले पनि त के देखाउँछ भने आज आउनेले आर्यघाटमा जाउन्जेसम्म, प्राण नजाउन्जेलसम्म, त्याँ नजलुन्जेलसम्म कुर्सीमा नै बसिरहने ? अरूले चान्स नपाउने ? त्यस्तो पनि सिस्टम हुन्छ कहीँ ? कसरी चल्छ ?” उक्त भिडिओलाई २८ लाखभन्दा धेरै पटक हेरिएको छ । भिडिओमा २ लाख ४८ हजारभन्दा धेरै पटक लाइक गरिएको छ । हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

 

अनुसन्धान

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीको उक्त भिडिओ भाइरल भएपछि हामीले भिडिओको स्क्रिनशट लिएर गुगल रिभर्स इभेज सर्च गर्‍यौँ । खोज्ने क्रममा ‘अपन मिथिला’ नामको फेसबुक पेजले २८ जनवरी बिहान १२:०२ मा  प्रधानमन्त्री कार्कीको सोही भिडिओ सार्वजनिक गरेको भेटियो । भिडिओको क्याप्सनमा लेखिएको छ, “दिदी–बहिनी, आमा, दाजु–भाइ, बृद्ध–बुजुर्ग सबै एकजुट भएर घण्टीको समर्थनमा उठौँ ! जय बालेन ! जय परिवर्तन ! हाम्रो तिर रथ सवार भाइसके छ” 

भिडिओमा  भनिएको छ, “प्रधानमन्त्री सुशीला कार्कीले निकै नै गम्भीर कुरा गर्नु भएछ । भिडिओको अन्तिमसम्म हेर्नुहोला । मन परेमा शेयर गर्नु होला ।” ओरिजिनल पोस्ट र स्क्रिनशट । 

 

 

टिकटकमा pardeshi049sesson प्रयोगकर्ताले २९ अक्टोबर २०२५ मा प्रधानमन्त्री कार्कीको सोही भिडिओ राखेको फेला पर्‍यो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “बालेन माथी एट्याक गर्ने बिरोधीलाई प्रधानमन्त्रीले दिन कडा दनक👍” भिडिओ र स्क्रिनशट । 

 

 

युट्युब च्यानल ‘@sandeshkhadka1597’ ले १ फेब्रुअरी २०२६ मा प्रधानमन्त्री कार्कीले नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएको दाबी सहित सोही क्लिप पोस्ट गरेको छ । भिडिओको क्याप्सनमा भनिएको छ, “Prime Minister आमाको कुराले मन छोयो नयाँ युवा पुस्तालाई हस्तान्तरण गरौँ भनेपछि।”  भिडिओ र स्क्रिनशट । 

 

  

 

गुगल रिभर्स इमेज सर्चबाटै हामी २९ अक्टोबर २०२५ राति १०:०८ मा एमाले नेता  ‘Mahesh Basnet’ ले पनि सोही भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । एमाले नेता बस्नेतले प्रधानमन्त्री कार्की बोलिरहेको १ मिनेट १ सेकेन्ड लामो भिडिओ राखेका छन् । यस सामाग्री तयार पार्दासम्म एक लाख ६ हजार बढि भ्युज छ । भिडिओको क्याप्सनमा उनले लेखेका छन्, “भैंसीको ढाडमा झिङ्गा बस्यो भने पुच्छरले हान्छ । झिङ्गाको रिस भैंसीलाई भन्दा पुच्छरलाई हुन्छ। ठ्याक यही हालत अहिलेको सुशीला, आमैको भएको छ । बालेन शाहको ढाडमा झिङ्गा बसेको छ, सुशीला आमै पुच्छर बनेर हान्दै छिन्। रहस्य के होला ?” हेर्नुहोस् ओरिजिनल भिडि‌ओ र स्क्रिनशट । 

 

१३ सेप्टेम्बर २०२५ मा ‘Savindra Sah’ ले पनि प्रधानमन्त्री कार्कीको भिडिओ  राखेको फेला पर्‍यो । भिडिओको क्याप्सनमा लेखिएको छ, “Balen लाई साक्षि राखेर प्रधानमन्त्रि Sushila Karki को सम्बोधन: छौं महिना पछि बालेन आउनु पर्छ,देश बचाउनु पर्छ ।” भिडिओमा रफ्तार सञ्चारको वाटरमार्क देखिएको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 


 

 

 

सामाजिक सञ्जालमा भाइरल भिडिओ क्लिपहरूमा रफ्तार सञ्चारको वाटरमार्क देखिएको छ । त्यसपछि हामीले ‘Raftar Sanchar सुशीला कार्की बालेन’ किवर्ड राखेर गुगल एड्भान्स भिडिओ सर्च गर्‍यौँ । 

‘Raftar Sanchar Tv’ नामको युट्युब च्यानलले २ अक्टोबर २०२४ मा सुशीला कार्कीको हाल भाइरल भइरहेको भिडिओ राखेको फेला पर्‍यो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “Balen को खास समर्थन गर्दै पूर्व न्याधिश Sushil Karki को गर्जन : भ्रष्ट तस्करलाई लखेट्नु पर्छ” । भिडिओको ९:१८ मिनेटमा कार्की आफू शत प्रतिशत युवाहरूको पक्षमा रहेको बताएकी छिन् । भिडिओको ११:०३ मिनेटमा उनले ‘बालेनमाथि सर्वत्र अट्याक भएको’ विषयमा बोलेको उक्त भिडिओमा हेर्न सकिन्छ । 

 

 

यस्तै ‘News In Nepal’ युट्युब च्यानलबाट पनि २ अक्टोबर २०२४ मा नै “ओली देउवामाथि खनिइन् Sushila Karki । आर्यघाट नजाउन्जेल कुर्सी नछोड्ने ? Prachanda | KP Oli | Deuba” शीर्षकमा कार्कीको सोही भिडिओ सार्वजनिक भएको फेला पर्‍यो । 

१ अक्टोबर २०२४ मा ‘Ktm Khabar’ युट्युब च्यानलबाट पनि कार्कीको भिडिओ राखिएको छ । “राजेश हमाललाई अगाडी राखेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको खास भाषण, नेताहरू माथि ख’ निइन्” शीर्षकमा उक्त भिडिओ उपलब्ध छ । 

आक्टोबर २०२४ को सुरुवातमा कार्कीको भाषण भाइरल भएको पाइएपछि हामीले उनले कुन कार्यक्रममा बोलेकी हुन् बुझ्ने प्रयास गर्‍यौँ । हामीले २६ सेप्टेम्बर २०२४ देखि ०३ अक्टोबर २०२४ सम्म सुशीला कार्कीसँग सम्बन्धित समाचारहरू केलायौँ । ‘सुशीला कार्की’ ‘पूर्व प्रधान न्यायाधिश’, ‘सुशीला कार्की बालेन’, ‘सुशीला बालेन’, ‘भ्रष्ट नेता पूर्व न्यायाधिश कार्की’, ‘Sushila Karki’, ‘Susila Karki’ लगायतका किवर्डहरू गुगलसहित विभिन्न सामाजिक सञ्जालमा सर्च गर्‍यौँ । खोज्ने क्रममा ईकान्तिपुरले “राष्ट्रिय युवा संसद घोषणा” शीर्षकमा १५ असोज २०८१ अर्थात् (१ अक्टोबर २०२४) मा पोस्ट गरेको समाचार फेला पर्‍यो । उक्त समाचारमा प्रयोग भएको सुशीला कार्कीको तस्बिर र हाल सामाजिक सञ्जालमा भाइरल भिडिओमा कार्कीले लगाएको लुगा समान देखिन्छ । यस्तै रफ्तार सञ्चार लगायतका युट्युब च्यानलमा भिडि‌‌ओ सार्वजनिक भएको मिति र र इकान्तिपुरमा समाचार सार्वजनिक भएको मिति पनि समान देखिन्छ ।

समाचारमा लेखिएको छ, “देशभित्र र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणमा संलग्न गराउने उद्देश्यले ‘राष्ट्रिय युवा संसद’ अभियान घोषणा गरिएको छ । काठमाडाैंकाे जमलस्थित राष्ट्रिय नाचघरमा मं‍गलबार एक समारोहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा 'ग्लोबल युथ पार्लियामेन्ट' ले अभियान घोषणा गरेको हाे ।”

अभियान घोषणा कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा 'मनपरीतन्त्र' हाबी भएको र खुलेआम चरम भष्ट्राचार मौलाएको बताएको समाचारमा उल्लेख छ । कार्कीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “नमर्दासम्म पद नछाड्ने, पदसहित नै आर्यघाट पुग्ने प्रवृत्ति लोकतन्त्र हो ? अब युवाले नेतृत्व लिनुपर्दछ । तर सबै युवालाई प्रलोभन बाँड्न आउछन्, होशियार रहनुहोला ।” पढ्नुहोस्, राष्ट्रिय युवा संसदको घोषणा सम्बन्धी ईकान्तिपुरमा प्रकाशित समाचार र स्क्रिनशट । 

 

 

दाबी

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्दै बालेनमाथि राजनीतिक दलहरूले आक्रमण गरिरहेको र युवाहरूले नेतृत्व लिनुपर्ने बताइन् । 

दाबीकर्ता

टिकटक प्रयोगकर्ता ‘indra.bhandari66’, ‘अपन मिथिला’, टिकटक प्रयोगकर्ता 'pardeshi049sesson', युट्युब च्यानल ‘@sandeshkhadka1597’, फेसबुक प्रयोगकर्ता 'Savindra Sah' लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

टेकपानाको तथ्यजाँचमा भिडिओमा देखिएको भाषण वास्तविक भए पनि हालको नभएको पुष्टि भएको छ । तथ्यजाँचबाट युट्युब च्यानलहरूमा यो भिडिओ १ अक्टोबर २०२४ मै अपलोड गरिएको फेला परेको हो । 

वास्तवमा कार्कीले उक्त भाषण १५ असोज २०८१ (१ अक्टोबर २०२४) मा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘राष्ट्रिय युवा संसद’ अभियान घोषणा कार्यक्रममा दिएकी थिइन् । सो कार्यक्रममा कार्की पूर्व प्रधान न्यायाधीशको हैसियतमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । त्यस बेलामा उनी राजनीतिमा सक्रीय थिइनन्, अर्थात् प्रधानमन्त्री बनिसकेकी थिइनन् । 

तर हाल भने २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरू प्रचारप्रसारमा छन् । यस्तो समयमा प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाहलाई समर्थन गरेजस्तो देखिने गरि सामाजिक सञ्जालमा पुरानो भिडिओ क्लिप भाइरल गराएर भ्रम फैलाएको पाइएको हो ।  

निष्कर्ष

सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्री सुशीला कार्कीको बालेन शाहलाई समर्थन गरेको भिडिओ क्लिप भ्रामक हो । कार्की राजनीतिमा नजोडिएको अवस्थामा दिएको भाषण अर्थात् करिब १५ महिना पुरानो भिडिओलाई  हालको राजनीतिक सन्दर्भसँग जोडेर भ्रम फैलाइएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ १२:५९