युट्युबर धुव राठीको एआई फियस्टा खल्तीमा, मासिक १६०० मै च्याटजीपीटी, जेमनाईसहितका ६ प्रिमियम एआई
माघ २२, २०८२ ११:१८
काठमाडौँ । युट्युबर ध्रुव राठीको एआई फियस्टाको सब्सक्रिप्सन अब नेपाली प्रयोगकर्ताहरूले खल्ती वालेटबाटै सिधै खरिद गर्न सक्ने भएका छन् । खल्तीले नेपाली प्रयोगकर्ताको सहजताका लागि भुक्तानीको सहज व्यवस्था मिलाएको हो ।
खल्ती प्रयोगकर्ताले वालेटको Featured Services अन्तर्गत AI Fiesta लाई फेला पार्न सक्नेछन् । त्यहाँ गएर आफ्नो ईमेल आईडी राखेर आफूले लिन चाहेको प्याकेज छनोट गरी सहजै खरिद प्रक्रिया पूरा गर्न सकिनेछ ।
यो सेवाको मूल्य नेपालका लागि मासिक १,६०० रुपैयाँ र वार्षिक प्याकेजका लागि १६,००० रुपैयाँ राखिएको छ । यदि यी सबै प्रिमियम सेवाहरू छुट्टाछुट्टै किन्ने हो भने महिनाकै १० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ ।
एआई फियस्टाले विश्वका शीर्ष ६ भन्दा बढी प्रिमियम एआई मोडेलहरूलाई एकीकृत गरेको छ । यस प्लेटफर्ममार्फत प्रयोगकर्ताले ChatGPT-5 Plus, Gemini 2.5 Pro, Claude 4 Sonnet, Grok 4, Perplexity Sonar Pro र DeepSeek को प्रो एक्सेस पाउन सक्छन् ।
यसको सबैभन्दा ठुलो विशेषता 'साइड-बाइ-साइड' तुलना हो, जसले प्रयोगकर्तालाई एउटै प्रम्प्टबाट सबै एआई मोडेलहरूको उत्तर एकैसाथ हेर्न र तुलना गर्न सघाउँछ । साथै, यसमा रहेको 'सुपर फियस्टा मोड'ले प्रयोगकर्ताको प्रश्नको प्रकृति हेरेर कुन एआई मोडेल उत्तम हुन्छ भन्ने कुरा स्वचालित रूपमा चयन गर्दछ ।
ध्रुव राठीले यो प्लेटफर्म ट्यागम्याङ्गोका संस्थापकहरूसँगको सहकार्यमा निर्माण गरेका हुन् । यसमा रहेको प्रम्प्ट बुस्ट फिचरले प्रयोगकर्ताका सामान्य वा त्रुटिपूर्ण प्रश्नहरूलाई सुधारेर अझ सटीक बनाइदिन्छ । यो स्टार्टअप सार्वजनिक भएको ३६ घण्टाभित्रै ३० लाख अमेरिकी डलरको वार्षिक आम्दानी सङ्कलन गर्न सफल भएको छ र हालसम्म २० हजारभन्दा बढी सशुल्क प्रयोगकर्ताहरू यसमा जोडिएका छन् ।
धेरै प्रयोगकर्ताहरूले विभिन्न एआईहरूको उत्तर तुलना गर्न पाउने यसको सुविधालाई रुचाएका छन् । यद्यपि, केही प्रयोगकर्ताहरूले टोकन प्रणाली र ग्राहक सहायता सेवामा केही ढिलाइ भएको गुनासो पनि गरेका छन् ।
एआई फियस्टाले आगामी दिनहरूमा विभिन्न क्षेत्रीय भाषाहरूमा सेवा विस्तार गर्ने र आईओएस एप पनि चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । वार्षिक ग्राहकहरूका लागि राठीले ३,००० भन्दा बढी प्रम्प्ट भएको अल्टिमेट प्रम्प्ट बुक र विशेष वेबिनारको सुविधा समेत थपेका छन् ।
पछिल्लो अध्यावधिक: माघ २२, २०८२ ११:१८
