close

स्न्यापच्याटलाई टक्कर दिन नयाँ एप इन्स्ट्यान्ट्स ल्याउँदै मेटा, गोप्य कन्टेन्ट शेयरिङमा जोड

टेकपाना टेकपाना

माघ २७, २०८२ १४:२५

स्न्यापच्याटलाई टक्कर दिन नयाँ एप इन्स्ट्यान्ट्स ल्याउँदै मेटा, गोप्य कन्टेन्ट शेयरिङमा जोड

काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले स्न्यापच्याटसँग प्रतिस्पर्धा गर्न इन्स्ट्यान्ट्स नामक नयाँ एपमा काम गरिरहेको पाइएको छ । विशेष गरी साथीहरूबिच तुरुन्तै गायब हुने फोटोहरू पठाउनका लागि कम्पनीले यस्तो एप डिजाइन गरिरहेको पाइएको हो ।

मोबाइल डेभलपर एलेससान्ड्रो पालुज्जीले इन्स्टाग्रामको आन्तरिक प्रोटोटाइप रिभर्स इन्जिनियरिङ गरेर यसको खुलासा गरेका हुन् । पालुज्जीले सार्वजनिक गरेको एउटा स्क्रिशटमा 'साथीहरूसँग गायब हुने फोटोहरू शेयर गर्नुहोस्' भन्ने सन्देश देख्न सकिन्छ । मेटाका प्रवक्ताले यो एउटा आन्तरिक प्रोटोटाइप भएको र हाल बाह्य रूपमा परीक्षण नगरिएको पुष्टि गरेको बिजनेस इन्साइडरले जनाएको छ ।

 

#Instagram is working on a standalone app for Instants/Quicksnap 👀 pic.twitter.com/d56vOeoGap

— Alessandro Paluzzi (@alex193a) February 8, 2026

यद्यपि, मेटाले इन्स्टाग्रामको मुख्य एपभित्रै पनि इन्स्ट्यान्ट्स नामक सुविधालाई केही सीमित देशहरूमा परीक्षण गरिरहेको छ । पहिले शट्स नाम दिइएको यो सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो डाइरेक्ट मेसेज (डीएम) इनबक्सबाट छिटो फोटो पठाउन अनुमति दिन्छ ।

इन्स्टाग्रामको हेल्प सेन्टरका अनुसार यी इन्स्ट्यान्ट्स फोटोहरू पठाएको २४ घण्टापछि स्वतः मेटिनेछन् । यी फोटोहरू केवल त्यस्ता प्रयोगकर्ताहरूलाई मात्र पठाउन सकिनेछ, जसलाई तपाईँले फलो गर्नुभएको छ र उनीहरूले पनि तपाईँलाई 'फलो ब्याक' गरेका छन् ।

पठाउन लागिएको फोटोलाई एडिट गर्न पाइने छैन । मेटाले यसअघि सन् २०१६ मा गायब हुने टेक्स्ट र फोटोको सुविधा ल्याएको थियो भने सन् २०२० मा भ्यानिस मोड (Vanish Mode) सुरु गरेको थियो । तर इन्स्ट्यान्ट्सले हराएर जाने सामग्री पठाउने एउटा नयाँ र छुट्टै माध्यम प्रदान गर्ने लक्ष्य राखेको छ ।

इन्स्टाग्रामका प्रमुख एडम मसेरीले बिजनेस इन्साइडरसँगको कुराकानीमा सामाजिक सञ्जालमा एउटा प्याराडाइम शिफ्ट अर्थात् ठुलो परिवर्तन आएको बताएका छन् । मानिसहरू अब मुख्य फिड वा स्टोरिजमा सार्वजनिक पोस्ट गर्नुभन्दा गोप्य डाइरेक्ट मेसेजमार्फत आफ्ना नजिकका साथी र परिवारसँग कन्टेन्ट शेयर गर्न बढी रुचाउँछन् । यही कारणले गर्दा मेटाले साथीहरूबिचको कुराकानीलाई केन्द्रमा राखेर स्न्यापच्याट जस्तै शैली अपनाइरहेको देखिन्छ ।

मेटाले स्न्यापच्याटबाट प्रेरणा लिएको यो पहिलो पटक भने होइन । इन्स्टाग्रामको निकै सफल स्टोरिज फिचर स्न्यापच्याटकै नक्कल थियो । गत वर्ष मात्र इन्स्टाग्रामले स्न्याप म्याप जस्तै देखिने सोसल म्याप फिचर पनि सुरु गरेको थियो । स्न्यापका सीईओ इभान स्पिगेलले आफ्नो लिङ्क्डइन प्रोफाइलमा ठट्‍टा गर्दै आफूलाई मेटाको प्रोडक्ट भीपी समेत लेख्ने गरेका छन् ।

मेटाले पछिल्लो समय थ्रेड्स, एडिट्स र मेटा एआई जस्ता धेरै छुट्टै एपहरू ल्याइरहेको सन्दर्भमा इन्स्ट्यान्ट्सलाई पनि त्यसैको निरन्तरताको रूपमा हेरिएको छ । यो नयाँ एपले २०१६ को सोसल मिडियाको स्वर्णिम युगलाई ब्युँताउने प्रयास गरिरहेको टिप्पणी समेत सुरु भएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १४:२५