close

देशभरका उम्मेदवार नजिकबाट चिन्न सघाउने प्लेटफर्म हाम्रो नेता नयाँ भर्सनमा, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

माघ २७, २०८२ १५:२७

देशभरका उम्मेदवार नजिकबाट चिन्न सघाउने प्लेटफर्म हाम्रो नेता नयाँ भर्सनमा, यसरी गर्नुहोस् प्रयोग

 

काठमाडौँ । निर्वाचनको समयमा उम्मेदवार, नेतृत्व र नीतिगत विषयमा आम नागरिकलाई तथ्यपरक जानकारी दिने उद्देश्यले डिजिटल प्लेटफर्म ‘हाम्रो नेता’को नयाँ भर्सन सार्वजनिक भएको छ । राजधानीमा हालै सम्पन्न ‘मल्टी कन्स्टिच्युएन्सी काठमाडौँ डिबेट’ का अवसरमा भुगोल पार्क प्रालिले उक्त प्लेटफर्म सार्वजनिक गरेको हो । 

“बहसको मैदान: नेतृत्वको पहिचान” शीर्षकमा आयोजित कार्यक्रममा आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरी यो पहल सुरु गरिएको आयोजकले जनाएको छ । नेपालमा ‘आफ्नो उम्मेदवार चिन्नुहोस्’ भन्ने अवधारणालाई प्रवर्धन गर्न यो प्लेटफर्म तयार पारिएको हो । 

२०७९ को स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनदेखि नै निष्पक्ष र वस्तुनिष्ठ विवरण प्रदान गर्दै आएको यो प्लेटफर्मलाई हाल पूर्ण रूपमा परिमार्जन गरी नयाँ स्वरूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

हाल यस प्लेटफर्ममा तीन हजार ४ सय ६ जना सङ्घीय उम्मेदवार, ७७ वटै जिल्ला र ६६ राजनीतिक दल तथा समूहका विस्तृत विवरण फोटोसहित उपलब्ध छन् । मतदाताले उम्मेदवारको उमेर, लिङ्ग, दल वा स्वतन्त्र स्थिति, निर्वाचन क्षेत्र र शैक्षिक पृष्ठभूमि जस्ता महत्त्वपूर्ण विवरण एकै ठाउँमा तुलनात्मक रूपमा हेर्न सक्नेछन् ।

भुगोल पार्ककी ‘बिजनेस एण्ड अपरेसन’ निर्देशक उपेक्शा तुलाधरका अनुसार आगामी दिनमा उम्मेदवारले आफ्ना विवरण र तस्बिर आफैँ अद्यावधिक गर्न सक्ने सुविधा समेत थपिनेछ ।

प्लेटफर्मको उद्देश्यबारे प्रस्ट पार्दै निर्देशक तुलाधरले भनिन्, “हामी डिजिटल निर्वाचन, सर्वेक्षण, एआई र व्यवस्थापन समाधानको क्षेत्रमा सक्रिय छौँ । ‘उम्मेदवार मेला’ देखि बहस कार्यक्रमसम्मका हाम्रा प्रयास नागरिकलाई तथ्यमा आधारित जानकारी दिने दिशामा केन्द्रित छन् ।”

यस डिजिटल पहलले निर्वाचनको समयमा मतदातालाई सही निर्णय लिन र उम्मेदवारको पारदर्शिता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले सार्वजनिक हितका लागि समान उद्देश्य बोकेका अन्य सङ्घ-संस्थासँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको समेत बताएको छ ।

 

कसरी प्रयोग गर्ने हाम्रो नेता अनि के के छन् सुविधा ?

हाम्रो नेता नामक प्लेटफर्म प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् अथवा hamroneta.online भिजिट गर्नुहोस् । यसको मेनुबारमा ‘चुनाव चिन्ह’, ‘सङ्घीय संसद्’, ‘सांसदहरू’, ‘संसद्‌मा दल’, ‘इन्फोग्राफिक्स’ लगायतका सेक्सन छन् । 

चुनाव २०८२ को सेक्सनमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारको नाम, चुनाव चिन्ह, पार्टीको नाम, उमेर, शिक्षा, निर्वाचन क्षेत्र, फोटो, पार्टीको नाम लगायतका विवरण छन् । नेताहरूको प्रोफाइल छानेर तुलना गर्न सकिने फिचर पनि यसमा समावेश गरिएको छ । 

तुलना गर्दा उम्मेदवारको अनुभव, राजनीतिक र निर्वाचन इतिहासको बारेमा तुलना गरिएको जानकारी पाउन सकिन्छ । फरक फरक क्षेत्रका उम्मेदवारदेखि एउटै क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारको तुलना यो एउटै प्लेटफर्मबाट गर्न सकिन्छ । 

त्यस्तै सङ्घीय संसदमा नेपाल सरकारको प्रशासनिक र राजनीतिक संरचनाबारे जानकारी दिइएको छ । प्रत्यक्ष र समानुपातिक सांसददेखि राष्ट्रिय सभाका सदस्यको सूची पनि यही पेजमा हेर्न सकिन्छ । 

सांसदको अप्सनमा सङ्घीय सांसद र प्रदेशका सांसदको सूची देखिन्छ । इन्फोग्रापिक्सको अप्सनमा भने विभिन्न उम्मेदवारको जानकारी पोस्टरमा देखिन्छ । उक्त पोस्टर डाउनलोड गर्न सकिने सुविधा पनि राखिएको छ । 

यस प्लेटफर्मले फरक फरक ठाउँमा भएका उम्मेदवारका डेटा र विवरण एउटै माध्यमबाट व्यवस्थित ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ । यद्यपि सबै सेक्सन (जस्तै ब्लग, समाचार, विधेयक) भने खुलेका छैनन् । पोस्टर डाउनलोड गर्दा इरर देखिरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १५:२७