close

फ्याक्टचेक: घरेलु कामदार बालिका बक्स बेडभित्र फेला परेको भाइरल भिडि‌ओ नेपालको नभइ भारतको

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ २७, २०८२ १७:५१

फ्याक्टचेक: घरेलु कामदार बालिका बक्स बेडभित्र फेला परेको भाइरल भिडि‌ओ नेपालको नभइ भारतको

काठमाडौँ । टिकटक, फेसबुक लगायतका  सामाजिक सञ्जालमा एक १३ वर्षीय बालिकालाई घरेलु कामदार बनाएर राखेको र दुर्व्यवहार समेत गरिएको अवस्थामा फेला पारिएको भन्दै एउटा भिडिओ भाइरल छ । समाचारमा उक्त घटना कुन स्थानको हो भनेर स्पष्ट नखुलाएर नेपालकै घटनाका रूपमा प्रस्तुत गरिएको छ । 

तर टेकपानाको तथ्यजाँचबाट उक्त घटना भारतको पन्जाबको रहेकोमा नेपालको जस्तो गरि भ्रामक रूपमा प्रस्तुत गरेको पाइएको हो ।  

दाबी

टिकटकमा ‘nayeem.bhai.15’ नामक प्रयोगकर्ताले ७ फेब्रुअरीमा १३ वर्षीय घरेलु कामदार बालिकाको उद्दार गरिएको भिडि‌ओ समाचार सार्वजनिक गरेको छ । समाचारको क्याप्सनमा लेखिएको छ, “१३ वर्षीय बालिकालाई घरेलु का म दार बनाएर दु र्व्यव हार गर्दै राखिएको थियो, स्थानीयलाई शङ् का लागेपछि खोजी गर्दा बक्सपलङभित्र फेला परिन् ।”

उक्त भिडिओमा ‘झिल्को’ नामक लोगो देख्न सकिन्छ । जहाँ समाचार वाचीकाले भनेकी छिन्,“१३ वर्षीय नाबालिगलाई घरेलु कामदार बनाएर दुर्व्यवहार गर्दै राखिएको थियो स्थानीय बासिन्दालाई शङ्का लागेपछि खोज्दा बक्स पलङ भित्र फेला परिन् १३ वर्षीय एक बालिका । पछिल्लो ६ वर्षदेखि एउटै घरमा घरेलु कामदारका रूपमा राखिएकी थिइन् । अधिकारीहरूका अनुसार ति बालिका माथि लामो समयदेखि शारीरिक दुर्व्यवहार समेत हुँदै आएको थियो । स्थानीय बासिन्दाले शङ्का गरि उजुरी गरेपछि आइतबार साँझ पुलिस मजिस्ट्रेटको उपस्थितिमा छापा मार्न पुगेको थियो ।

छापा मार्न लागेको जानकारी पाएपछि आरोपित महिलाले बालिकालाई बक्स पलङ भित्र लुकाएर राखेकी थिइन् । करिब २५ मिनेटसम्म बालिकालाई अँध्यारो र साँघुरो बक्स भित्र बन्द गरिएको थियो । छापाको क्रममा उक्त बक्स खोल्दा बालिकालाई भित्रैबाट उद्धार गरिएको हो । उद्धारको दृश्य भिडियोमा कैद भएको छ जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।  घटनापछि बालिकालाई सुरक्षित स्थानमा राखिएको छ भने आरोपित विरुद्ध थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ।” 

उक्त भिडिओलाई यो सामग्री तयार पार्दा सम्म १७ हजार बढिले लाइक र २ लाख ७२ हजार बढि भ्युज छ । हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

 


अनुसन्धान 

‘Jhilko-झिल्को’ नामको फेसबुक पेजबाट ६ फेब्रुअरी साँझ ६:३० मा सोही भिडिओ सार्वजनिक भएको पाइयो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “१३ वर्षीय बालिकालाई घरेलु का म दार बनाएर दु र्व्यव हार गर्दै राखिएको थियो, स्थानीयलाई शङ् का लागेपछि खोजी गर्दा बक्सपलङभित्र फेला परिन् ।”

उक्त भिडिओमा यो सामग्री तयार पार्दा सम्म १७ हजार बढी रियाक्सन, ६ लाख ४० हजार बढी भ्युज छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।  

‘रोचक’ नामक फेसबुक पेजले पनि ‘Jhilko-झिल्को’ कै अडिओ प्रयोग गरेर भिडिओ सार्वजनिक गरेको छ । ८ फेब्रुअरी दिउँसो १:११ मा सार्वजनिक भएको भिडिओको क्याप्सनमा लेखिएको छ, “१३ वर्षीय बालिकालाई घरेलु का म दार बनाएर दु र्व्यव हार गर्दै राखिएको थियो, स्थानीयलाई शङ् का लागेपछि खोजी गर्दा बक्स पल ङभित्र फेला परिन्।”

 

हामीले उक्त समाचारलाई ध्यान दिएर सुन्यौँ । उक्त समाचारमा घटनाको पूर्ण जानकारी नभएको पाइयो । समाचारमा हुनुपर्ने फाइभ डब्लू वन एच (छ वटा ‘क’) को सिद्धान्त (के, को, कहिले, किन, कसरी र कहाँ) लाई पूर्ण रुपमा समेटिएको छैन । घटना कुन ठाउँमा घटेको हो र ठ्याक्कै कुन मितिमा भएको हो भन्ने कुरा समाचारमा उल्लेख नभएको पाइयो । जसकारण दर्शक/स्रोताले उक्त समाचार नेपालमा घटेको जसरी बुझेका छन् । 

हामीले ‘१३ वर्षी घरेलु कामदार खाट मुनि’, ‘घरेलु कामदार बालिका उद्दार’, ‘घरेलु हिंसा बालिका उद्दार’ लगायतका किवर्ड राखेर सर्च गर्दा नेपाली सञ्चार माध्यममा उक्त समाचार फेला परेन । त्यसपछि हामीले अङ्ग्रेजीमा उक्त समाचार खोज्ने प्रयास गर्‍यौँ । ‘child domestic worker found under bed’ सर्च गर्दा ‘द टाइम्स अफ इन्डिया’ नामक भारतीय सञ्चार माध्यमले उक्त समाचार सार्वजनिक गरेको फेला पर्‍यो । 

४ फेब्रुअरी, २०२६ मा पोस्ट भएको उक्त समाचार अनुसार १२ वर्षीय बाल श्रमिकलाई पञ्जाबको गुवाहटी क्षेत्रबाट उद्दार गरिएको हो । समाचार अनुसार गत आइतबार (१ फेब्रुअरी) राति गैरकानुनी रूपमा एक घरमा बालिका श्रमिक राखेको सूचनाको आधारमा उद्दारको लागि अपरेसन अघि बढाइएको थियो । 

बालिका फेला पर्दा बालिका मानसिक रूपमा विचलित अवस्थामा रहेको पाइएको समाचारमा उल्लेख छ । बालिका उक्त घरमा विगत छ वर्षदेखि घरेलु कामदारका रूपमा कार्यरत थिइन् । 

बालिकाको उद्दारमा घटिएका अधिकारीहरूलाई घरधनीले आफूले कुनै बालबालिकालाई श्रमिकको रूपमा नराखेको भन्दै खोजी कार्यमा असहयोग गरेका थिए । घरधनीले अस्वीकार गरेको अवस्थामा पनि घरको खानतलासी गर्दा बालिकालाई बक्स बेडमुनि लुकाएर राखेको अवस्थामा फेला पारिएको समाचारमा उल्लेख छ । टाइम्स अफ इन्डियाले बालिकालाई बक्स बेडमा लुकाइ राखेको अवस्थाको भिडिओ समेत सार्वजनिक गरेको छ । 

यस्तै ४ फेब्रुअरीमा एनडीटीभीले पनि सोही घटनाको समाचार सार्वजनिक गरेको फेला पर्‍यो । तर, समाचारमा भने बालिका १३ वर्षीय भएको उल्लेख छ ।

दाबी

१३ वर्षीय घरेलु कामदार बालिका बक्स पलङभित्र फेला परिन् । 

दाबीकर्ता 

टिकटक प्रयोगकर्ता ‘nayeem.bhai.15’, फेसबुक पेज ‘Jhilko-झिल्को’, ‘रोचक’ लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

भाइरल भिडिओ घटना कुन समयमा घटेको हो र कहाँको हो भन्ने बारेमा खुलाइएको छैन । जसले गर्दा दर्शकहरूले यो घटनालाई नेपालकै भएको ठानेका छन् । तर, वास्तवमा यो घटना भारतको पन्जाबमा १ फेब्रुअरी राति घरेलु श्रमिकको रूपमा कार्यरत बालिकाको उद्दार गरिरहेको समयको हो । 

निष्कर्ष

समाचारमा बताइएको घटना वास्तविक भए पनि सामाजिक सञ्जालमा घटना घटेको स्थान र सन्दर्भ लुकाएर नेपालमा घटेको जस्तो गरि भ्रमपूर्ण तरिकाले प्रस्तुत गरिएको छ । त्यसैले उक्त भिडिओ भ्रामक हो । 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।




 


 

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १७:५१