एनसेल र सुपर कृषकबिच साझेदारी, किसानलाई मोबाइलबाटै तालिमदेखि ‘कृषि डाक्टर’ सम्मका सेवा
फागुन १, २०८२ १६:३६
काठमाडौँ । किसानहरूलाई डिजिटल र अत्याधुनिक कृषि सेवाहरू उपलब्ध गराउने उद्देश्यले एनसेल र डिजिटल कृषि प्लेटफर्म ‘सुपर कृषक’ बीच व्यावसायिक सहकार्य भएको छ । मोबाइल फोनको माध्यमबाट आधुनिक प्रविधि र कृषि विज्ञहरूको परामर्श सहज रूपमा किसानको पहुँचमा पुर्याउन यो साझेदारी गरिएको हो ।
यस सहकार्यमार्फत किसानहरूले आफ्नै मोबाइल फोनबाट अनलाइन कृषि तालिम, भू-उपग्रहमा आधारित ‘कृषि चीना’ (बाली अनुगमन) र एआई प्रविधि जडित ‘कृषि डाक्टर’ जस्ता सेवा प्राप्त गर्न सक्नेछन् ।
कृषि डाक्टर सुविधाले ८०० भन्दा बढी बालीका रोग र किराहरू पहिचान गरी तत्काल समाधानका उपायहरू सुझाउनेछ । साथै, किसानहरूले वास्तविक समयमै स्थानीय भाषामै तथ्यमा आधारित व्यक्तिगत परामर्श समेत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस सेवाको अर्को नवीन पक्ष भनेको भुक्तानी प्रक्रिया हो, जहाँ नेपालमै पहिलो पटक किसानहरूले कुनै अतिरिक्त बैंकिङ झन्झटबिना आफ्नो मोबाइलको मेन ब्यालेन्सबाटै कृषि सेवाको शुल्क तिर्न सक्नेछन् ।
सुपर कृषक एपमा उपलब्ध विभिन्न सदस्यता प्याकेजअन्तर्गत किसानले किस्ताबन्दी वा एकमुष्ट दुवै तरिकाले भुक्तानी गर्न सक्नेछन् । किस्ताबन्दीमा वार्षिक प्याक लिनेले हरेक तीन दिनमा १३ रुपैयाँ र छ महिनाको प्याकका लागि १४ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, एकमुष्ट भुक्तानी गर्न चाहनेले वार्षिक १,२४८ रुपैयाँ र छ महिनाका लागि ७५६ रुपैयाँमा यो प्रिमियम सेवा लिन सक्नेछन्, जुन शुल्क मोबाइल ब्यालेन्सबाट स्वतः कटौती हुनेछ ।
हालसम्म ३० हजारभन्दा बढी किसान जोडिसकेको यो प्लेटफर्मलाई एनसेलसँगको सहकार्यमार्फत अबको एक वर्षभित्र १ लाख २० हजारभन्दा बढी किसानसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १६:३७
