close

नेपाली क्यालकुलेटर एप सार्वजनिक, साँवा-ब्याज, क्षेत्रफल, उमेर, जन्ममिति आदि हिसाब गर्न सहज हुने

टेकपाना टेकपाना

फागुन ४, २०८२ ११:५८

नेपाली क्यालकुलेटर एप सार्वजनिक, साँवा-ब्याज, क्षेत्रफल, उमेर, जन्ममिति आदि हिसाब गर्न सहज हुने

काठमाडौँ । नेपाली क्यालकुलेटर नामक एक उपयोगी मोबाइल एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । प्रयोगकर्ताको दैनिक हिसाब–किताबलाई सजिलो बनाउने विभिन्न फिचरसहितको यो एप सार्वजनिक गरिएको हो ।

इन्टरनेट बिना नै सञ्चालन गर्न सकिने यो एप पूर्ण रूपमा नेपाली भाषामा प्रयोग गर्न सकिने गरी बनाइएको छ । एप खोल्ने बित्तिकै स्क्रिनको देब्रेपट्टि नेपालको हालको मिति र समय देखिन्छ भने दाहिनेपट्टि नेपाली घडी देखिन्छ ।

यो एपको मुख्य विशेषता भनेको नेपाली भाषामै क्यालकुलेटरको काम गर्नु हो । सामान्य अङ्ग्रेजी क्यालकुलेटरमा जोड, घटाउ, गुणा वा भाग गर्दा आउने नतिजा अङ्ग्रेजी अङ्कमै देखिन्छ । यदि रकम ठुलो भएमा त्यसलाई नेपाली भाषामा रूपान्तरण गर्न कठिनाइ पर्न सक्छ ।

तर नेपाली क्यालकुलेटरमा गरिएको हिसाबको उत्तर नेपाली अङ्क तथा शब्दमै देखाइन्छ, जसले प्रयोगकर्तालाई नेपाली गणना प्रणालीअनुसार हिसाब गर्न सहज बनाउँछ ।

अङ्ग्रेजी क्यालकुलेटरमा हरेक तीन अङ्कको नोटेसन (जस्तै १,०००,०००) प्रयोग हुन्छ, जुन नेपाली गणना प्रणालीभन्दा फरक छ । नेपाली नोटेसनमा सुरुमा तीन अङ्क र त्यसपछि दुई–दुई अङ्कको आधारमा सङ्ख्या लेखिन्छ (जस्तै १०,००,०००) । नेपाली क्यालकुलेटरले यही नेपाली प्रणालीअनुसार सटीक नतिजा उपलब्ध गराउने डेभलपरको दाबी छ ।

यो एपको अर्को महत्त्वपूर्ण सुविधा गाउँघरमा प्रचलित सावाँ–ब्याजको हिसाब हो । उदाहरणका लागि कसैलाई सयकडा दरले दिएको सापटी फिर्ता लिँदा कति रकम हुन आउँछ भन्ने हिसाब एपले सजिलै गरिदिन्छ । प्रयोगकर्ताले सापटी दिएको मिति र फिर्ता लिएको मिति नेपाली क्यालेन्डरबाटै छनोट गर्न सक्छन् ।

सापटीको रकम, सयकडा दर, दिएको मिति र फिर्ता भएको मिति प्रविष्ट गरेपछि पाउनुपर्ने कुल रकमको हिसाब तुरुन्तै देखिन्छ । यसले गाउँघरमा प्रचलित सरसापटीको गणनालाई निकै सहज बनाएको छ ।

क्षेत्रफल रूपान्तरण पनि यो एपको अर्को उपयोगी फिचर हो । एक एकाइको जग्गा अर्को एकाइमा रूपान्तरण गर्दा हुने अन्योललाई यसले अन्त्य गरिदिएको छ । उदाहरणका लागि बिघामा रहेको जग्गालाई सहजै रोपनीमा रूपान्तरण गर्न सकिन्छ । जस्तै ७ बिघा जमिन कति रोपनी हुन्छ भन्ने हिसाब अब झन्झटबिनै गर्न सकिन्छ । यो फिचरमार्फत बिघा, कट्‍ठा, पैसा, रोपनी, आना, धुर, वर्ग मिटर र वर्ग फिटबिच पारस्परिक रूपान्तरण गर्न सकिन्छ ।

एपमा उमेर गणना गर्ने सुविधा पनि समावेश गरिएको छ । जन्म मिति नेपाली क्यालेन्डरमा प्रविष्ट गरेपछि आजको मितिसम्मको उमेर वर्ष, महिना र दिनमा कति भयो भन्ने विवरण तुरुन्तै प्राप्त हुन्छ ।

नेपाली मितिलाई अङ्ग्रजीमा र अङ्ग्रजी मितिलाई नेपालीमा रूपान्तरण गर्न अब अनलाइन टुलको आवश्यकता पर्दैन । यो सुविधा एपमै अफलाइन रूपमा उपलब्ध छ ।

विदेशमा रहेका आफन्तसँग समय मिलाउनुपर्ने आवश्यकता पनि धेरैलाई परिरहेको हुन् । नेपालमै बसेका आमा–बुबा वा आफन्तलाई विदेशमा कति बज्यो भन्ने जिज्ञासा रही रहन्छ । एपको विश्व समय सम्बन्धी फिचरले प्रयोगकर्तालाई आफूले छनोट गरेको देश र सहरको हालको समय देखाउँछ ।

मनपर्ने वा आफ्ना आफन्त रहेका सहरलाई पिन आइकनमार्फत सुरक्षित राख्न सकिन्छ । यसो गर्दा अर्को पटक समय हेर्दा ती सहर सूचीको शीर्ष स्थानमा देखिन्छन् ।

यसका अतिरिक्त एपमा तौल, तापक्रम र लम्बाइ रूपान्तरण जस्ता उपयोगी सुविधाहरू पनि समावेश छन् । नेपाली क्यालकुलेटर नेपाली भाषामा आधारित, इन्टरनेट बिना सञ्चालन हुने र दैनिक जीवनका विविध गणनालाई सरल बनाउने बहुउपयोगी मोबाइल एप हो । हाललाई यो एप गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ । आगामी दिनमा एप्पल एप स्टोरमा पनि यो एप उपलब्ध हुने डेभलपरले जनाएको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ ११:५८