८ वर्ष पेट्रोल कार चलाएपछि दुई महिना पर्खिएर लिएको बीवाईडी एटो वनमा घुइँकिदा...
फागुन ८, २०८२ १३:३४
काठमाडौँ । नेपाली सडकमा शान्तसँग गुड्न थालेको र बिस्तारै आफ्नो दबदबा बनाउँदै गरेको विद्युतीय एसयूभी हो, बीवाईडी एटो वन । पेप्सिकोला, काँडाघारीका एक व्यवसायी दिनेश अधिकारीले आठ वर्षसम्म म्यानुअल पेट्रोल गाडी चलाएपछि अन्ततः यही ईभी रोजेका छन् ।
दिनेश पेसाले एक कपडा व्यवसायी हुन् । उनले विगत आठ वर्षदेखि हुण्डाईको 'इयोन' चलाउँदै आएका थिए । एउटा सानो र भरपर्दो म्यानुअल गाडीबाट सिधै अत्याधुनिक विद्युतीय गाडीमा सिफ्ट हुनु उनका लागि ठुलो निर्णय थियो । टेकपानासँगको कुराकानीमा दिनेश भन्छन्, "अहिलेको ट्रेन्ड अनुसार ईभी नै राम्रो विकल्प जस्तो लाग्यो । तर कुन गाडी रोज्ने भन्नेमा निकै अलमल थियो ।"
अधिकारीले नयाँ गाडी रोज्दा केवल विलासिता मात्र हेरेनन्, उनले काठमाडौँको बाटोघाटो र आफ्नो आवश्यकतालाई केन्द्रमा राखे । उनले बजारमा उपलब्ध धेरै गाडीहरू हेरे, नाडा अटो शो धाए र अन्ततः बीवाईडी एटो वनमा आफ्नो मन अड्याए ।
धेरैले उनलाई ठुलो साइजको गाडी लिन सुझाव दिएका थिए । तर उनले जानाजानी 'कम्प्याक्ट' साइज रोजे । काठमाडौँका साना गल्लीहरूमा ठुला गाडी छिराउन निकै सास्ती हुने उनको तर्क छ । "साना सडकमा ठुला गाडी चलाउँदा कतै ठोकिने डर हुन्छ र ईभीका पार्टपुर्जाहरू महँगो हुने भएकाले पनि म अलि सचेत भएँ," उनले भने ।
बीवाईडी नै किन ?
गाडी किन्नुअघि दिनेशले टाटाको पन्च ईभीको पनि टेस्ट ड्राइभ गरेका थिए । टाटाको गाडी मजबुत भए तापनि ड्राइभिङ अनुभवमा उनले बीवाईडीलाई नै उत्कृष्ट पाए । "पन्च चलाउँदा कता-कता असजिलो र गह्रौँ महसुस भयो । तर जब मैले एटो वनको स्टेयरिङ समातेँ, यो निकै हल्का र कम्फर्टेबल लाग्यो," उनी सम्झिन्छन् । पिकअप र ड्राइभिङ सहजताका कारण उनले बीवाईडी रोजेका हुन् ।
त्यसो त बीवाईडीको ब्रान्ड भ्यालु र बजारमा यसको चर्चाले पनि उनलाई आकर्षित गरेको थियो । बीवाईडीले 'वर्ल्ड अर्बन कार' जस्ता प्रतिष्ठित अवार्डहरू पाएको कुराले पनि उनको विश्वास जितेको छ । दिनेशका लागि यी अवार्डहरू केवल नाम मात्र थिएनन्, बरु गाडीको गुणस्तर र सुरक्षाको एउटा प्रमाण थिए ।
कालो रङको मोह र मेन्टिनेन्सको सास्ती
दिनेशको बीवाईडी एटो वन कालो रङको छ । कालो रङका गाडीहरू हेर्दा निकै आकर्षक र प्रिमियम देखिन्छन् । तर यसलाई सफा राख्नु र मेन्टेन गर्नु चुनौतीपूर्ण हुन्छ । काठमाडौँको धुलोमा कालो गाडीलाई चम्किलो राख्न दिनेशले निकै मेहेनत गर्नुपरेको छ ।
उनले आफ्नो गाडीको सुरक्षाका लागि झन्डै ३५ हजार रुपैयाँ खर्च गरेर 'सेरामिक कोटिङ' समेत गराएका छन् । कोटिङ गरेपछि धुलो कम बस्ने र हावाले पनि धुलो उडाउने हुनाले गाडी सफा राख्न केही सजिलो भएको उनको अनुभव छ ।
एउटा नयाँ अनुभव
एटो वनमा धेरै यस्ता सुविधाहरू छन्, जसले दिनेशलाई अचम्मित पारेको छ । यसमा फग लाइट छैन । तर अटोमेटिक हेडलाइटले कुहिरो वा अँध्यारोमा आफैँ लाइट एडजस्ट गर्छ । पानी पर्दा साइड मिररहरू बाफिने (Fogging) समस्याबाट बच्न यसमा 'हिटिङ मिरर' को सुविधा छ । जुन दिनेशले वर्षाको समयमा परीक्षण गरिसकेका छन् ।
तर सबैभन्दा रोचक पक्ष भनेको बीवाईडी एप हो । दिनेशले आफ्नो मोबाइलबाटै गाडीको सबै जानकारी लिने गरेका छन् । "म कोठामा बसेरै गाडी कति चार्ज भयो, टायरको हावाको प्रेसर कति छ र गाडी लक छ कि छैन भनेर हेर्न सक्छु," उनी उत्साहित हुँदै सुनाउँछन् । मोबाइलबाटै गाडी लक र अनलक गर्न मिल्ने सुविधाले उनको दैनिकीलाई निकै सरल बनाइदिएको छ ।
बजारको माग
बीवाईडीको लोकप्रियता कति छ भन्ने कुरा दिनेशले गाडी किन्दा गर्नुपरेको प्रतीक्षाले पनि देखाउँछ । उनले आफ्नो मनपर्ने कालो रङको गाडी पाउन झन्डै दुई महिना पर्खिनुपरेको थियो । "डिमान्ड यति धेरै थियो कि शोरुममा गाडी आउने बित्तिकै बिक्री भइहाल्थ्यो," उनले सम्झिए ।
ग्राउन्ड क्लियरेन्स र स्पेयर टायरमा गुनासो
हरेक कुरा पूर्ण हुँदैनन् र दिनेशका लागि एटो वनमा पनि केही सुधार गर्नुपर्ने पक्षहरू छन् । उनको सबैभन्दा ठुलो गुनासो ग्राउन्ड क्लियरेन्सलाई लिएर छ । एटो वनको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ, जुन दिनेशका अनुसार नेपालका कच्ची सडकका लागि केही कम हो । "कम्तीमा १९० एमएम भइदिएको भए ढुक्क हुन्थ्यो । खाल्डोमा गाडी पर्दा कतै तल ठोकिने हो कि भन्ने डर सधैँ रहन्छ," उनले भने ।
अर्को समस्या स्पेयर टायरको हो । धेरैजसो आधुनिक ईभीहरू जस्तै एटो वनमा पनि अतिरिक्त टायर छैन । त्यसको सट्टा पन्चर रिपेयर किट दिइएको छ । आठ वर्षसम्म आफैँ टायर फेरेर हिँडेका दिनेशलाई सुरुमा यो कुराले अलि चिन्तित तुल्याएको थियो । तर कम्पनीले अहिले यसको खासै आवश्यकता नपर्ने बताएपछि उनी केही आश्वस्त भएका छन् ।
दिनेश आफ्नो नयाँ गाडीलाई १० मा ९ अङ्क दिन्छन् । उनले एक अङ्क केवल कम ग्राउन्ड क्लियरेन्सका कारण काटेका हुन् । उनी भन्छन्, "यदि तपाईं सानो परिवारका लागि काठमाडौँको सडकमा चलाउन सहज र अत्याधुनिक गाडी खोज्दै हुनुहुन्छ भने एटो वन उत्कृष्ट छ ।"
तनाव रहित यात्रा
धेरै मानिसहरू ईभी किन्नुअघि रेन्ज र चार्जिङको चिन्ता गर्छन् । दिनेशले घरमै ७.५ किलोवाटको चार्जर जडान गरेका छन् । उनको अनुभवमा यसबाट १ प्रतिशतबाट १०० प्रतिशत चार्ज हुन करिब ५ घण्टा लाग्छ । उनले गाडीलाई प्रायः रातभर चार्जमा छोडिदिन्छन् र बिहान गाडी पूर्ण रूपमा तयार हुन्छ ।
रेन्जको हकमा कम्पनीले ३०० किलोमिटरभन्दा बढी दिने दाबी गरेको छ, जसमा दिनेश सन्तुष्ट नै देखिन्छन् । उनले अहिलेसम्म १,३०० किलोमिटरभन्दा बढी गाडी गुडाइसकेका छन् र काठमाडौँभित्रको यात्राका लागि यो गाडी उत्कृष्ट रहेको उनको अनुभव छ ।
दिनेश आफ्नो एटो वन लिएर नेपालका कुना-कुना पुग्ने योजनामा छन् । "समय मिलाएर म यो गाडी लिएर घुम्न निस्कनेछु, किनकि यो गाडी चलाउनुको आनन्द नै बेग्लै छ," उनको मुस्कानले यही सन्देश दिइरहेको थियो ।
पछिल्लो अध्यावधिक: फागुन ८, २०८२ १३:३४
