close

ब्राउजिङका लागि इन्कग्निटो वा प्राइभेट मोड कत्तिको सुरक्षित हुन्छ ? यस्तो छ भ्रम र वास्तविकता

टेकपाना टेकपाना

फागुन १०, २०८२ ७:३५

ब्राउजिङका लागि इन्कग्निटो वा प्राइभेट मोड कत्तिको सुरक्षित हुन्छ ? यस्तो छ भ्रम र वास्तविकता

काठमाडौँ । धेरैजसो इन्टरनेट प्रयोगकर्ताहरूले आफ्नो गोपनीयता सुरक्षित राख्न ब्राउजरको 'इन्कग्निटो' वा 'प्राइभेट' मोडमा ठुलो भरोसा गर्छन् । तर इन्कग्निटो मोडले प्रयोगकर्तालाई 'ब्राउजर फिङ्गरप्रिन्टिङ' (browser fingerprinting) भनिने इन्टरनेटको सबैभन्दा खतरनाक ट्र्याकिङ प्रणालीबाट जोगाउन सक्दैन ।

ब्राउजर फिङ्गरप्रिन्टिङ एउटा यस्तो प्रविधि हो, जसले तपाईंको ब्राउजर र डिभाइसका विभिन्न प्राविधिक विशेषताहरूलाई जोडेर तपाईँको एउटा युनिक पहिचान बनाउँछ । तपाईँको ब्राउजरमा चल्ने जाभास्क्रिप्टले तपाईँको स्क्रिनको रिजोलुसन, ग्राफिक्स कार्ड (जीपीयू) को जानकारी, टाइमजोन, भाषाको सेटिङ र अपरेटिङ सिस्टम जस्ता विवरणहरू सङ्कलन गर्छ ।

यसरी सङ्कलन गरिएका जानकारीहरूलाई 'ह्यासिङ एल्गोरिदम' मार्फत एउटा डिजिटल फिङ्गरप्रिन्टमा परिणत गरिन्छ । यसले तपाईँको वास्तविक नाम वा ठेगाना नदेखाए पनि इन्टरनेटमा तपाईँको हरेक गतिविधि र बानीलाई उच्च सटीकताका साथ पछ्याउन सक्छ । यो जानकारी विज्ञापनदाताहरूलाई बेच्न सकिन्छ, ताकि उनीहरूले तपाईँलाई अझ प्रभावकारी रूपमा लक्षित गर्न सकून् ।

इन्कग्निटो मोड किन असफल हुन्छ ?

धेरैलाई लाग्छ कि इन्कग्निटो मोडले सबै ट्र्याकिङ रोक्छ । तर वास्तविकता फरक छ । इन्कग्निटो मोडले केवल तपाईँको डिभाइसमा लोकल किसिमले ब्राउजिङ हिस्ट्री, कुकिज र क्याश (cache) फाइलहरू सेभ हुनबाट मात्र रोक्छ । जब तपाईँ इन्कग्निटो विन्डो बन्द गर्नुहुन्छ, यी लोकल डेटा मात्र मेटिन्छन् ।

तर फिङ्गरप्रिन्टिङले वेबसाइट लोड हुने बित्तिकै 'रियल-टाइम'मा डेटा सङ्कलन गर्छ । यसले ब्राउजरले बाहिर पठाउने प्राविधिक जानकारीमा कुनै नियन्त्रण गर्दैन । त्यसैले इन्कग्निटो मोड र फिङ्गरप्रिन्टिङले पूर्ण रूपमा फरक खालका डेटाहरूसँग काम गर्ने भएकाले यो मोड सुरक्षाका लागि अपर्याप्त देखिएको हो ।

सुरक्षित रहन के गर्ने ?

इन्कग्निटो मोडको विकल्प खोज्नेहरूका लागि ब्रेभ (Brave) ब्राउजर तपाईँका लागि उपयुक्त हुन सक्छ । गुगल क्रोम वा माइक्रोसफ्ट एज जस्ता ब्राउजरहरूमा बलियो एन्टी-ट्र्याकिङ प्रणाली छैन ।

तर ब्रेभ ब्राउजरको 'ब्रेभ सिल्ड्स' ले आफैँ फिङ्गरप्रिन्टिङलाई रोक्ने काम गर्छ । त्यस्तै, फायरफक्स (Firefox) ले पनि एड्भान्स ट्र्याकिङ सुरक्षा प्रदान गर्दछ । यद्यपि यसका लागि प्रयोगकर्ताले सेटिङमा गएर केही परिवर्तनहरू गर्नुपर्ने हुन्छ ।

पूर्ण सुरक्षा असम्भव

यति हुँदाहुँदै पनि ब्राउजर फिङ्गरप्रिन्टिङबाट पूर्ण रूपमा उम्किन लगभग असम्भव नै हुन्छ । यदि प्रयोगकर्ताले ट्र्याकिङ रोक्न जाभास्क्रिप्ट वा वेबजीएल (WebGL) जस्ता फिचरहरू बन्द गरेमा धेरैजसो वेबसाइटहरूले कामै गर्दैनन् ।

अर्को रोचक तथ्य के छ भने जति धेरै सुरक्षाका लागि एक्स्टेन्सन वा सेटिङहरू परिवर्तन गरिन्छ, प्रयोगकर्ताको ब्राउजर त्यति नै युनिक वा फरक देखिन्छ । तपाईँ जति धेरै युनिक देखिनुहुन्छ, ट्र्याकिङ कम्पनीहरूलाई तपाईँलाई चिन्न त्यति नै सजिलो हुन्छ ।

त्यसैले ब्राउजिङलाई धेरै जटिल बनाउनु भन्दा फिङ्गरप्रिन्टिङ रोक्ने क्षमता भएका आधुनिक ब्राउजरहरूको प्रयोग गर्नु नै तत्कालका लागि उत्तम उपाय हो । 

 

पछिल्लो अध्यावधिक: फागुन १०, २०८२ ८:४८