सिलिकन भ्यालीमा १० लाख डलरका लागि प्रतिस्पर्धा गर्दै नेपाली युवाले बनाएको खाना पकाउने स्वचालित रोबोट
फागुन १०, २०८२ १०:१८
काठमाडौँ । नेपाली युवा सङ्गम चापागाईले बनाएको एआईमा आधारित खाना पकाउने रोबोट प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा पुगेको छ । आफ्नो स्टार्टअप पिच गर्न चापागाई सिलिकन भ्यालीको चर्चित टिभी शो मिट द ड्रेपर्स (Meet the Drapers) को भोटिङ राउन्डमा पुगेका हुन् ।
उनी सहभागी मिट द ड्रेपर्सको एपिसोड सोमबार, २३ फेब्रुअरीमा रिलिज हुनेछ । यो कार्यक्रममा विश्वभरका स्टार्टअपहरूले विश्व स्तरीय लगानीकर्ता सामु आफ्ना कम्पनी र आविष्कारहरू प्रस्तुत गर्ने गर्छन् । सङ्गमले सोही प्रतिष्ठित मञ्चमा आफ्नो रोबोटिक्स स्टार्टअप सेफर्ज (Cheforge) लाई लिएर गएका हुन् ।
नेपालबाट उक्त मञ्चमा आइडिया प्रस्तुत गर्ने उनी सम्भवतः पहिलो व्यक्ति हुन् । उनको स्टार्टअप सेफर्जले घर र रेस्टुरेन्टहरूका लागि खाना पकाउन सक्ने पूर्ण रूपमा स्वचालित कुकिङ रोबोट विकास गरिरहेको छ ।

एआईमा आधारित यो रोबोट सेफले भ्वाइस तथा भिजन प्रविधि प्रयोग गरी परिकारको योजना बनाउने, ग्रोसरी डेलिभरी तथा ताजा खाने कुरा पकाउँछ । यसले भान्छाको कामलाई आधुनिक र सहज बनाउने लक्ष्य राखेको छ ।
सङ्गम अहिले यस प्रतियोगिताको 'पब्लिक भोटिङ' राउन्डमा पुगेका छन् । जसबाट सबैभन्दा धेरै भोट पाउने स्टार्टअप सिधै फाइनलमा पुग्नेछ । फाइनलमा पुगेपछि १० लाख अमेरिकी डलर (करिब १४ करोड नेपाली रुपैयाँ भन्दा बढी) को ठुलो लगानीका लागि प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुनेछ ।
८ वर्षअघि अमेरिका पुगेका चापागाई मेकानिकल इन्जिनयरिङ तथा रोबोटिक्सका पीएचडी ड्रपआउट हुन् । पढाई छोडेर एक वर्ष अघि सुरु गरेको उनको स्टार्टअप अहिले अनुसन्धान तथा विकासकै चरणमा छ । चापागाईका अनुसार हाल दुई वटा रोबोटको प्रोटोटाइप तयार भइसकेको छ । जसले भ्वाइस कमान्ड दिएकै भरमा पास्ता, चिकेन करी, फ्राइड राइस, चिकन बर्गर लगायत ५०० भन्दा बढी रेसिपी बनाउन सक्ने उनले बताए ।
पर्वतको कुस्मा घर भएका उनले मेकानिकल इन्जिनियरिङमै स्नातक उत्तीर्ण गरेका छन् । सेफर्ज सुरु गर्नु अघि उनले टेस्लामा ५ महिना इन्टर्नशिप गरेका थिए ।
भविष्यमा एड्भान्स रोबोटिक्स प्रविधि र ज्ञान नेपालमा पनि विस्तार गर्ने चाहना रहेको चापागाईले सुनाए । यसबाट नेपालमै उच्च सीप आवश्यक पर्ने रोजगारीका अवसरहरू सिर्जना गर्ने उनको सपना छ ।
भोट कसरी गर्ने ?
विश्वस्तरको रोबोटिक्स मञ्चमा नेपाललाई चिनाउने यो यात्रामा साथ दिन सङ्गमले सबैलाई भोटका लागि अपिल गरेका छन् । भोट गर्ने अन्तिम मिति २५ फेब्रुअरीसम्म रहेको छ ।
भोट गर्नका लागि मिट द ड्रेपर्सको आधिकारिक वेबसाइटमा गएर अथवा यहाँ क्लिक गरेर Cheforge खोजेर आफ्नो इमेलमार्फत कन्फर्मेसन गर्नुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: फागुन १०, २०८२ १०:३०
