close

सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

टेकपाना टेकपाना

फागुन १२, २०८२ २०:१४

सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंकमा रहेको मौज्दात र खाताको विस्तृत विवरण झिकाउन आदेश दिएको छ । गैरकानुनी सम्पत्ति आर्जन र भ्रष्टाचार मुद्दामा थुनामा रहेका पौडेलको वैदेशिक बैंक खाता खोतल्न अदालतले आदेश जारी गरेको हो ।

मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेलको नाममा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेका तीन ओटा फरक-फरक खाताहरूको विवरण माग गरेको छ ।

अदालतको आदेश अनुसार पौडेलको नाममा रहेका बचत खाता नम्बर ३०८-९४८३१०-८, ४२६३९१-०२२ र मुद्दती खाता नम्बर ३८०-०२६-१७५-५ को मौज्दात विवरण अब सरकारी प्रक्रियामार्फत झिकाइनेछ ।

विशेष अदालतले नेपाल राष्ट्र बैंकमार्फत बैंकिङ प्रक्रिया अपनाई सिंगापुरको केन्द्रीय बैंकसँगको समन्वयमा ती खाताहरूको विवरण यथाशक्य छिटो उपलब्ध गराउन निर्देशन दिएको छ ।

आदेशमा भनिएको छ, “प्रतिवादी सुनिल पौडेलका नाममा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको भनिएको बचत तथा मुद्दती खाता सम्बन्धी विवरण र सोमा भएको बचत रकमको विवरण नेपाल राष्ट्र बैंकबाट बैंकिङ प्रक्रिया मार्फत सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट यथाशक्य छिटो झिकाउन लगाई पेस गर्नू ।”

अदालतले नेपाल र सिंगापुरबिच हालसम्म पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता नभएको यथार्थलाई ध्यानमा राख्दै यस्तो अवस्थामा विवरण प्राप्त गर्न सकिने वा नसकिने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्पष्ट जवाफ समेत माग गरेको छ ।

यसका साथै, अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष २०७५/७६ मा खरिद गरिएका 'RISC and HCL Servers' को जडान भए-नभएको, जडान भए के कुन स्थानमा जडान भएका छन्, साथै उपकरणहरू हाल के कुन कुन अवस्थामा रहेकोबारे स्पष्ट विवरण झिकाउन आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सरकारी पदमा रहँदा भ्रष्टाचार गरी आर्जन गरेको रकम सिंगापुरको बैंकमा अवैध रूपमा राखेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ २०:२८