काङ्ग्रेस-एमालेको चुनाव चिन्ह फेरिएर घण्टी बनेको भन्दै बनाइएको भ्रामक भिडिओ भाइरल
फागुन १३, २०८२ ७:४८
काठमाडौँ । नेपाली काङ्ग्रेस र नेकपा (एमाले) लगायतका पुराना राजनीतिक दलहरूको चुनाव चिह्न फेरिएर ‘घण्टी’ बनेको भन्दै सामाजिक सञ्जालमा एउटा भ्रामक भिडिओ भाइरल बनेको छ । फेसबुक प्रयोगकर्ता प्रियाशा ज्ञवालीले सोमबार आफ्नी आमासँग गरेको भिडिओ कलको स्क्रिनरेकर्ड सार्वजनिक गरेपछि उक्त भ्रामक सामग्री भाइरल बनेको हो ।
समाचार तयार पार्दासम्म उक्त भिडिओलाई १३ लाखभन्दा बढी पटक हेरिएको छ भने भिडिओमा १ लाख ८ हजारभन्दा बढी रियाक्सन, २ हजार १०० भन्दा बढी कमेन्ट आएका छन् र १ हजार ६०० भन्दा बढी पटक शेयर गरिएको छ ।
५९ सेकेन्ड लामो उक्त भिडिओमा युवतीले आफ्नी आमालाई ‘यस पटक भोट केमा दिने ?’ भन्दै प्रश्न गरेकी छिन् । जवाफमा आमाले आफूले विगतदेखि नै काँग्रेसमा भोट हाल्दै आएकाले यस पटक पनि त्यसै गर्ने बताउँछिन् । त्यसपछि ती युवतीले सरकारले यस पटक काङ्ग्रेसको ‘रुख’ र एमालेको ‘सूर्य’ दुवै चुनाव चिह्न परिवर्तन गरेर ‘घण्टी’ बनाएको भन्दै आमालाई झुक्याउँछिन् ।
छोरीको भ्रामक कुरा सुनेपछि चुनाव चिह्न फेरिएको विषय आफूलाई थाहा नभएको बताउँदै ती वृद्ध आमा छोरीको कुरामा पूर्ण रूपमा विश्वस्त सुनिन्छिन् । ‘रुख’ले जित्ने आशामा उनले यस पटक ‘घण्टी’मा भोट हाल्ने र अरूलाई पनि त्यही सुझाव दिने बताउँछिन् ।
साथै, घण्टीले जितेको खण्डमा आफूहरू भारतबाट नेपाल फर्किने कुरा समेत भिडिओमा छोरीले बताएकी छिन् । भिडिओको अन्त्यसम्ममा आमा उक्त भ्रममा पूर्ण विश्वस्त भएको देखाइएको छ ।
यो भिडिओ सामाजिक सञ्जालमा फैलिएसँगै प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् । केहीले युवतीको कदमलाई समर्थन गरेका छन् भने अधिकांशले यसको आलोचना गरेका छन् । मतदान गर्नु नागरिकको व्यक्तिगत अधिकार भएको उल्लेख गर्दै आलोचकले एउटा पार्टीमा आस्था राख्ने व्यक्तिलाई चुनाव चिह्न नै फेरियो भनेर भ्रममा पारेर भोट हाल्न लगाउनु गलत भएको औँल्याएका छन् ।
त्यस्तै केही प्रयोगकर्ताले भने आमालाई झुट बोलेर भ्रममा पार्नुको सट्टा नयाँ पार्टीका राम्रा एजेन्डा र विषयबारे बुझाएर आस्था परिवर्तन गराउन वा नयाँ पार्टीमा आबद्ध गराउन सकिने भन्दै सुझावसमेत दिएका छन् ।
पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ ८:१
