सामाजिक सञ्जालमा गलत सूचना लाइक, शेयर वा फरवार्ड गर्नु समेत अपराध हो, कारबाही हुनसक्छः प्रहरी
फागुन १३, २०८२ ११:४९
काठमाडौँ । सामाजिक सञ्जालमा आउने सूचना शेयर गर्नु अघि सोचविचार गर्न प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालबाट गलत सूचना पोस्ट गर्ने मात्र नभई त्यसमा लाइक, शेयर, वा फरवार्ड गर्ने व्यक्ति समेत कानुनको दायरामा आउने स्पष्ट पारेको हो ।
प्रहरीका अनुसार पुराना भ्रामक भिडिओलाई नयाँ भन्दै पोस्ट गरुनु सामान्य कुरा हो भन्ने सोच रहेको छ । यसरी पुरानो भ्रामक भिडिओलाई नयाँ भन्दै फेलाउनु गलत सूचना फैलाउने कार्य हो, जुन कानुन अनुसार अपराध मानिन्छ । प्रहरीले शेयर गर्ने व्यक्ति कानुनी रूपमा जिम्मेवार नहुने भन्ने गलत बुझाई समेत रहेको बताएको छ ।
"कुनै सामग्री शेयर, लाइक वा फरवार्ड गर्ने व्यक्ति पनि कानुनी रूपमा जिम्मेवार हुन्छ," प्रहरीले सूचना मार्फत स्पष्ट पारेको छ । त्यस्तै फेक अकाउन्ट प्रयोग गर्दा पहिचान लुक्ने विश्वास समेत कतिपयले राख्ने गरेका हुन्छन् । तर फेक अकाउन्ट प्रयोग गर्दा पनि डिजिटल पहिचान लुक्दैन र सम्बन्धित व्यक्ति पत्ता लगाउन सकिन्छ ।
यसैगरी डिजिटल रेकर्डलाई प्रमाण मानिँदैन भन्ने भ्रम समेत कतिपयमा रहेको देखिन्छ । स्क्रिनशट, आईपी लग, डिजिटल रेकर्ड आदि अदालतमा अकाट्य प्रमाणको रूपमा मान्य हुने प्रहरीले जनाएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट गैरकानुनी, अनैतिक वा घृणा फैलाउने सामग्री प्रकाशन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
यस्तो कसुर दोहोर्याएमा त्यसको डेढी सजाय हुने व्यवस्था रहेको छ । कानुन विपरीत सामाजिक सञ्जालमा गलत सूचना फैलाएको पाइएमा नेपाल प्रहरीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा पेज र १०० मा कल गरेर जानकारी दिन सकिन्छ ।
पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ ११:४९
