काठमाडौँ । विश्वभरका ८०० भन्दा बढी ह्याकर र क्लाउड सेक्युरिटी इन्जिनियर सहभागी ‘विज क्लाउड सेक्युरिटी च्याम्पियनशिप’मा दुई नेपाली युवाले उत्कृष्ट प्रदर्शन गरेका छन् । जारी यो विश्वव्यापी प्रतिस्पर्धामा नेपालका अनुभव रत्न ढकाल र रञ्जन मरासिनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका हुन् ।
इजरायल र अमेरिकामा मुख्यालय रहेको ‘विज’ कम्पनीले आयोजना गरेको एक वर्षसम्म चल्ने यो प्रतियोगितामा एडब्लूएस, जीसीपी र कुबेरनेटिक्स जस्ता क्लाउड प्लेटफर्ममा देखिने वास्तविक सुरक्षा कमजोरीहरूलाई समाधान गर्नुपर्ने हुन्छ । यसमा हरेक महिना नयाँ चुनौती (क्याप्चर द फ्ल्याग- सीटीएफ) प्रदान गरिन्छ ।

प्रतियोगिता अहिले नवौँ महिनामा चलिरहेको छ भने २० पोइन्टको ‘ट्रस्ट इस्यु च्यालेन्ज’ सम्पन्न भएको छ । नवौँ महिनाको चुनौतीअन्तर्गत कम्पनीको डेटा कसरी बाहिरियो (Investigate a breach and uncover how company data was exfiltrated) भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने थियो । विगत नौ महिनादेखिको प्रतिस्पर्धा पार गर्दै नेपाली अनुसन्धानकर्ता शीर्ष ३ भित्र पर्न सफल भएका हुन् ।
यस प्रतिस्पर्धामा सहभागी २३ वर्षीय अनुभव रत्न ढकालले काठमाडौँको इस्लिङ्टन कलेजबाट साइबर सेक्युरिटीमा स्नातक गरेका छन् । त्यस्तै २४ वर्षीय रञ्जन मरासिनी चितवनको फोर्ब्स कलेजमा साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत छन् । हाल प्रतिस्पर्धाको शीर्ष २२ मा रहेका सबै प्रतिस्पर्धीको समान १७० अङ्क छ, जसमा ढकाल र मरासिनी पनि समावेश छन् ।
च्याम्पियनशिपमा अन्य नेपाली अनुसन्धानकर्ताले पनि राम्रो स्थान बनाएका छन् । जसमा ‘bot_Bhograte’ ४७ औँ स्थानमा, ‘3vei7@r’ ५२ औँ स्थानमा, ‘xO’ ६३ औँ स्थानमा र विदिशा सुवेदी (bidisha) ७६ औँ स्थानमा रहेका छन् ।
क्लाउड सेक्युरिटी र सम्बन्धित डोमेनको गहिरो प्राविधिक ज्ञान आवश्यक पर्ने भएकाले यो प्रतियोगिता निकै चुनौतीपूर्ण मानिन्छ । यस प्रतियोगिताको विजेताले ‘डब्लूडब्लूई’को जस्तै च्याम्पियनशिप बेल्ट र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई कम्पनीमा रोजगारीको अवसर समेत मिल्नेछ । यही प्रतियोगितामा देखाएको उत्कृष्ट सीपकै कारण अनुभव रत्न ढकालले विज कम्पनीसँग अनुबन्धित भएर नेपालबाटै ‘रिमोट’ काम गर्ने अवसर पाइसकेका छन् ।
जुन २०२५ देखि सुरु भएको यो प्रतिस्पर्धा मे २०२६ सम्म चल्नेछ । साइबर सुरक्षामा रुचि राख्ने व्यक्तिहरूले यसमा सहभागी हुनका लागि यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ १२:२७
