मोरङ रतुवामाईमा काङ्ग्रेस कार्यकर्ताले पैसा बाँडेको दाबीसहितको भिडिओ भाइरल, के हो घटना ?
फागुन १७, २०८२ १३:२६
काठमाडौँ । निर्वाचनको समयमा मतदातालाई प्रभावित पार्न रातिको समयमा पैसा बाँड्न हिँडेको भन्दै मोरङको रतुवामाईमा स्थानीयले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता चढेको गाडी नियन्त्रणमा लिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त गाडीबाट प्रहरीले झन्डै साढे ४ लाख रुपैयाँ र काङ्ग्रेसका प्रचार सामग्री बरामद गरेको छ ।
भाइरल भिडिओमा स्थानीय बासिन्दाले रातिको समयमा (करिब १० बजे) को १ च ७३३८ नम्बरको कारलाई बाटोमा रोकेर केरकार गरेको देखिन्छ । निर्वाचन आचारसंहिता विपरीत राति ७ बजेपछि भोट माग्न र पैसा बाँड्न हिँडेको आरोप लगाउँदै आक्रोशित स्थानीयले गाडी घेराउ गरेका थिए ।
भिडिओमा गाडीभित्र र सडकमा कांग्रेसको चुनाव चिह्न ‘रूख’ अंकित ‘प्रतिज्ञा’ नामक पुस्तक, पम्प्लेट र नमुना मतपत्रहरू छरिएको अवस्थामा देख्न सकिन्छ । स्थानीयले गाडीमा वडाध्यक्ष लगायतका जनप्रतिनिधि र निर्वाचन क्षेत्रका आर्थिक संयोजक रहेको दाबी गर्दै उनीहरूमाथि मत खरिद गर्न खोजेको आरोप लगाएका छन् । स्थानीयले गाडीको डिक्की खोलेर खानतलासी गर्न र प्रहरीलाई मुचुल्का उठाउन दबाब दिएको भिडिओमा सुन्न सकिन्छ ।
स्थानीयले गाडी घेराउ गरेपछि घटनास्थल पुगेको प्रहरीले रतुवामाई-७ जामवाढीबाट गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरू सवार कार चेकजाँच गर्दा ४ लाख ४९ हजार रुपैयाँ नगद र प्रचार सामग्री फेला पारेको थियो । यद्यपि, प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई हिजो राति नै सोधपुछ गरेर छाडेको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कविद कटवालले गाडी र पैसा प्रहरी नियन्त्रणमै रहेको तर पक्राउ परेका व्यक्तिलाई आचारसंहिताको विषय भएकाले छाडिएको जानकारी दिए ।
“गाडीमा पैसा छ भन्ने सूचना आएपछि हामीले लिएर आएका हौँ । ४ लाख ४९ हजार रुपैयाँ भेटिएको छ,” एसपी कटवालले भने, “उक्त पैसा गाडीमा रहेका एक व्यवसायीले आफ्नो भएको र बाटोबाट एक ठाउँबाट अर्को ठाउँमा लैजाँदै गर्दाको अवस्था रहेको दाबी गर्नुभएको छ । हामी त्यसको पहिचान गर्दैछौँ ।”
मानिसहरूलाई राति नै किन छाडियो भन्ने प्रश्नमा एसपी कटवालले भने, “यो फौजदारी कसुर नभई निर्वाचन आचारसंहितासँग सम्बन्धित विषय हो । यो निर्वाचनको मतदान अधिकृतको क्षेत्राधिकारभित्र पर्ने भएकाले मानिसहरूलाई छाडिएको हो ।”
एसपी कटवालका अनुसार बरामद गरिएको गाडी, पैसा र प्रचार सामग्रीहरू प्रहरीकै नियन्त्रणमा राखिएको छ र यस विषयमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि निर्वाचन कार्यालयमा लेखेर पठाइएको छ ।
प्रचार सामग्री र रकम सहित गाडी नियन्त्रणमा लिइएको ठाउँ मोरङ क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । जहाँबाट काँग्रेस नेता मिनेन्द्र रिजाल प्रतिनिधसभा सदस्यको उम्मेदवार रहेका छन् ।
पछिल्लो अध्यावधिक: फागुन १७, २०८२ १३:२६
