फ्याक्टचेकः आचारसंहिताका कारण झापा क्षेत्र नम्बर ५ मा मन्दिरको घण्टी छोपिएको भन्ने दाबी भ्रामक
फागुन १९, २०८२ १६:३२
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ स्थित एक मन्दिरको घण्टी बोराले छोपिएको दाबीसहितको तस्बिर मङ्गलबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिहीबार (पर्सि) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा दलको चुनाव चिह्न ‘घण्टी’ भएकाले आचारसंहिता पालना गर्न घण्टी छोपिएको दाबी पोस्टमा गरिएको छ ।
तर, टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँच गर्दा उक्त दाबी भ्रामक रहेको पाइएको छ । दमक नगरपालिका वडा नम्बर २ मा अवस्थित ‘समाज सुधार प्रतिष्ठान मन्दिर’ मतदान केन्द्र हो । उक्त मन्दिरको घण्टीलाई बोराले छोपिएको कुरा साँचो भए पनि यसको निर्वाचन आचारसंहितासँग कुनै सम्बन्ध छैन । मतदानका क्रममा मन्दिरमा कुनै सम्भावित विवाद वा झगडा नहोस् भन्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिले नै घण्टी छोपेको पाइएको छ ।
दाबी
फेसबुकमा ‘NAJ Entertainment’ नामको फेसबुक पेजले मङ्गलबार, ३ मार्च २०२६ बिहान ११ः०९ बजे एउटा फोटो सहितको पोस्ट राख्यो । फोटोमा केही वस्तु बोराले ढाकिएको जस्तो देखिन्छ । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “दमक–२ डाकिनीस्थित समाज सुधार प्रतिष्ठान मन्दिरको मतदान केन्द्रमा आचारसंहिताअनुसार घण्टी छोपिएको छ।
धार्मिक प्रतीकले मतदातालाई प्रभाव नपारोस् र केन्द्र तटस्थ रहोस् भन्ने उद्देश्यले यो कदम चालिएको हो भन्ने खबर आएको छ । 😮”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १२०० बढी रियाक्सन र १७४ कमेन्ट आएका छन् भने पोस्ट ४७ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने भनिए मन्दिरको घण्टी निर्वाचन आचारसंहिताका कारण कट्टाले छोपिएको भन्ने दाबी फेला पार्न टेकपाना फ्याक्टचेक डेस्कले गुगलको रिभर्स इमेज सर्च गर्यो । त्यस क्रममा ‘NEB Result’ ले मङ्गलबार सोही फोटो राखेको फेला पर्यो । यस पेजले पहिले ‘झापाको मन्दिरमा एउटा पार्टीको चुनाब चिन्ह छोपिएको छ । निर्वाचन आचारसंहिता पालना गर्न यसरी छोपिएको बताइएको छ’ लेखेको छ । पछि क्याप्सन परिवर्तन गर्दै लेखिएको छ, “झापाको एउटा मतदान केन्द्रमा रहेको मन्दिरमा पार्टीको चुनाब चिन्ह छोपिएको छ । मतदान केन्द्रमै यो चिन्ह भएकाले मतदातालाई प्रभाव नपरोस् भनेर यसरी छोपिएको बताइएको छ ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ५७०० बढी रियाक्सन, ६४० बढी कमेन्ट आएका छन् भने १३५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Right sanchar News’ नामक फेसबुक पेजले फोटोमा लेखेको छ, “दमकको मतदान केन्द्रमै घण्टी भएपछि निर्वाचन आचारसंहिता पालना गर्दै छोपियो ।” पोस्टको क्याप्सनमा लेखिएकोछ , “झापा दमक–२ को डाकिनीस्थित समाज सुधार प्रतिष्ठान मन्दिरमा रहेको मतदान केन्द्रमा राखिएको घण्टीलाई बोराले छोपिएको छ। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै मतदान केन्द्रभित्र कुनै पनि राजनीतिक दलको चुनाव चिह्नसँग मेल खाने वस्तु खुला नराख्ने र निर्वाचनलाई निष्पक्ष बनाउने उद्देश्यले घण्टी ढाकिएको हो।”
यो सामग्री तयार पार्दासम्म ८१ पटक शेयर भएको सो पोस्टमा २३०० बढी रियाक्सन र ३६७ बढी कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘ROE Network’ नामक फेसबुक पेजले ‘Hait: दमक-२, डाकिनीस्थित समाज सुधार प्रतिष्ठान मन्दिरको मतदान केन्द्रमा रहेको घण्टीलाई निर्वाचन आचारसंहिता पालना गर्दै छोपिएको छ। 🙏😮
P.S. निर्वाचनमा कुनै पनि धार्मिक वा साम्प्रदायिक चिन्हले मतदातालाई प्रभाव नपरोस् र मतदान केन्द्र पूर्ण रूपमा तटस्थ रहोस् भन्ने हेतुले यो कदम चालिएको हो।’ क्याप्सन राख्दै सोही पोस्ट शेयर गरेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

एक्समा ‘Nepal Rastra Khabar’ नामक एक्स ह्यान्डलले पनि उक्त पोस्ट शेयर गरेको पाइयो । हेर्नुहोस् आर्काइभ पोस्ट ।
टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा तथ्यजाँच सुरु गर्यो । त्यस क्रममा सबैभन्दा पहिले झापा दमक ५ का स्थानीय पत्रकार छविलाल खतिवडालाई सम्पर्क गरी मन्दिरको वास्तविक भिडिओ उपलब्ध गराउन आग्रह गर्यौँ । उनले दमक नगरपालिका वडा नम्बर २, डाकिनीस्थित ‘समाज सुधार प्रतिष्ठान मन्दिर’को भिडिओ उपलब्ध गराए । भिडिओमा मन्दिरको घण्टी प्लास्टिकको बोराले छोपिएको पाइयो । हेर्नुहोस् भिडिओ ।
त्यसपछि हामीले उक्त क्षेत्रका मतदान अधिकृत हेमराज प्रसाईंलाई सम्पर्क गर्यौँ । उनले ‘समाज सुधार प्रतिष्ठान मन्दिर’ मतदान केन्द्र भएको र त्यहाँ रहेको घण्टीमा बोराले बेर्ने काम मन्दिर व्यवस्थापन समितिले आफैँले गरेको बताए । उनले टेकपाना फ्याक्टचेक डेस्कसँग कुरा गर्दै भने, “पहिले मन्दिर व्यवस्थापन समितिले नै घण्टी छोपेको थियो । पछि केही साथीहरू आउनुभयो । त्यसपछि हामी मतदान अधिकृत, मन्दिर व्यवस्थान समितिका अध्यक्ष, प्रहरीका डीएसपी मिलेर त्यसलाई घेरबार लगाएका छौँ । यो निर्वाचन आचारसंहिताका कारण छोपिएको होइन । मन्दिर क्षेत्र भयो, त्यो अनि त्यो पवित्र क्षेत्रमा कोही पनि प्रवेश गर्न नपाउन् भनेर छोपिएको हो ।”
हामीले ‘समाज सुधार प्रतिष्ठान मन्दिर’का अध्यक्ष विजयप्रसाद बराललाई सम्पर्क गर्यौँ । उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ संवेदनशील क्षेत्र भएकाले अनावश्यक विवाद र झगडा नहोस् भन्ने उद्देश्यले मन्दिरको घण्टी छोपिएको बताए । “मतदान केन्द्र भयो मन्दिर । पछि मतदानको दिन कोही आएर घण्टी बजाउन थाल्यो भने बेक्काममा वादविवाद हुन्छ भनेर त्यसलाई सुरक्षित बनाउन घण्टी ढाकिएको हो । अहिले सबै मण्डप नै कपडाले बेरिएको छ । यसमा आचारसंहिताको विषय जोडिएको छैन । हामीले मन्दिरको सुरक्षा र वादविवाद नहोस् भनेर ढाकेका हौँ ।”
उनको राजनीतिक पृष्ठभूमिबारे बुझ्दा बरालले आफू पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध भए पनि अहिले स्वतन्त्र भएको दाबी गरे ।
हामीले निर्वाचन आचारसंहिता २०८२ मा कुनै विशेष चुनाव चिन्हलाई लिएर कुनै व्यवस्था गरिएको छैन । यद्यपि यसअघि निर्वाचन आयोगले १० फागुन २०८२ मा एक सूचना जारी गर्दै निर्वाचन प्रचार प्रसार गर्दा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न’ सचेत बनाएको थियो ।

तर, चुनाव चिन्हको प्राकृतिक वा व्यवहारिक अवस्थालाई लिएर आचारसंहिता लागु गर्ने भन्ने कुनै व्यवस्था नरहेको पाइयो ।
यी विभिन्न तथ्य विश्लेषण गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमक-२ स्थित ‘समाज सुधार प्रतिष्ठान मन्दिर’ मा रहेको घण्टी छोपिएको दृश्य वास्तविक हो । तर निर्वाचन आचारसंहिताका कारण नै घण्टी छोपिएको भन्ने दाबी भने भ्रामक हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजयप्रसाद बरालले अनावश्यक विवाद नहोस् भन्नका लागि मन्दिरको घण्टी छोपिएको र मण्डप ढाकिएको बताएका छन् । मतदान अधिकृतले पनि यसमा आचारसंहिताको विषय नजोडिएको, तर शान्ति-सुरक्षा कायम गर्न व्यवस्थापन समितिले नै घण्टी छोपेको स्पष्ट पारे ।
निर्वाचन आयोगले प्रचार-प्रसारमा चुनाव चिन्हको भौतिक रूपमा बोकेर हिँड्न रोक लगाए पनि मन्दिरमा नियमित रहने घण्टीजस्तो व्यावहारिक वा प्राकृतिक अवस्थालाई कुनै रोकटोक गरेको छैन । तसर्थ मन्दिरको घण्टी छोप्नुका पछाडि निर्वाचन आचारसंहिता कारण रहेको भन्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको दाबी भ्रामक पुष्टि हुन्छ ।
दाबी
झापा निर्वाचन क्षेत्र नम्बर ५ स्थित मन्दिरको घण्टी निर्वाचन आचारसंहिता पालना गर्नका लागि (एउटा दलको चुनाव चिह्न ‘घण्टी’ भएकाले मतदातालाई प्रभाव नपरोस् भनेर) बोराले छोपिएको ।
दाबीकर्ता
‘NAJ Entertainment’, ‘NEB Result’, ‘Right sanchar News’, ‘ROE Network’ जस्ता फेसबुक पेज, ‘Nepal Rastra Khabar’ नामको एक्स ह्यान्डल लगायत ।
तथ्य
दमक-२ स्थित ‘समाज सुधार प्रतिष्ठान मन्दिर’ मा मतदान केन्द्र रहेकोले मतदानका क्रममा कोही आएर घण्टी बजाएमा अनावश्यक विवाद, होहल्ला वा अशान्ति नहोस् भन्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिले नै घण्टी छोपेको हो । मतदान अधिकृत हेमराज प्रसाईं र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजयप्रसाद बरालका अनुसार यसमा निर्वाचन आचारसंहिताको कुनै सम्बन्ध छैन र यो कदम केवल मन्दिरको सुरक्षा र मतदान केन्द्रको शान्ति कायम राख्न चालिएको हो । निर्वाचन आचारसंहिताले मन्दिरमा नियमित रहने घण्टीजस्तो व्यावहारिक वा प्राकृतिक अवस्थालाई छोप्नुपर्ने व्यवस्था गरेको छैन ।
निष्कर्ष
दाबी भ्रामक छ । मन्दिरको घण्टी छोपिएको तस्बिर वास्तविक भए पनि यसलाई निर्वाचन आचारसंहितासँग जोडेर गरिएको प्रचार भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
टेकपानाको ह्वाट्सएप च्यानलमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ ६:४२
