close

फ्याक्टचेक: सोबिता गौतमले जनजातिको अपमान गरेको भन्दै तोडमोड गरिएको भ्रामक भिडिओ भाइरल

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन १९, २०८२ १७:४६

फ्याक्टचेक: सोबिता गौतमले जनजातिको अपमान गरेको भन्दै तोडमोड गरिएको भ्रामक भिडिओ भाइरल

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले थारू र गुरुङ समुदायलाई निर्वाचनको समयमा ‘बिक्ने’ समूदाय भएको बताएको दाबी सहितको एक भिडिओ क्लिप भाइरल भइरहेको छ । थारू र गुरुङ समुदाय सोझो भएको र पैसामा बिक्ने समुदाय रहेको भन्दै उनले टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो । 

तर टेकपाना फ्याक्ट चेक डेक्सको अनुसन्धानका क्रममा उक्त दाबी भ्रामक रहेको पाइएको छ । एउटै कुरामा अडिग रहने इमान्दार समाज भएकाले राजनीतिमा यो समूदाय (गुरुङ, थारू) को फाइदा उठाइरहेको बताउँदै आफ्नो निर्वाचन क्षेत्रका स्थानीयहरूलाई सोबिताले एक महिना पहिले भाषण दिएकी थिइन् । तर यस्तो समुदायलाई पैसाले किन्न सकिने वर्गको रूपमा दलहरूले सोच बनाइराखेको भन्दै दिएको भाषणलाई तोडमोड गरेर सोबिताले थारू, गुरुङ समुदायलाई पैसामा बिक्ने समुदाय बताएको दाबी सहित भ्रम फैलाएको तथ्यजाँचबाट पुष्टि भएको हो । ​

दाबी 

अनलाइन न्युज पोर्टल जनआस्था (Jana Aastha) ले सोबिता गौतमको भाषणको क्लिप शेयर गरेको छ । "गुरुङ र थारु समुदाय सोवितासङ्ग दु:खी समाचार कमेन्टमा” शीर्षकमा २ मार्च (सोमबार)  राति १०:४८ मा सोबिताले बोलेको देखिने भिडिओ क्लिप शेयर गरिएको छ । 

भिडिओमा गौतमले यस्तो भनेको सुन्न सकिन्छ-

"गुरुङ समुदाय, थारू समुदाय, यो समुदाय चाहिँ वास्तवमा भन्ने हो भने निकै सोझो समुदाय हो । (भिडिओ कट गरेर क्लिप थपिएको छ) हेर्नुस् तपाईँहरू जस्तो इमान्दार वर्ग र समुदायलाई आज पैसाले किन्न सक्ने वर्ग हो भनेर त्यसरी सोच बनाइ राखेका छन् । त्यसकारणले तपाईहरूको समुदायप्रति धोका पनि धेरै हुन्छ । तपाईँहरूको समुदायलाई धोका पनि धेरै दिइन्छ के । (भिडिओ कट गरेर क्लिप थपिएको छ) तपाईँहरूलाई चाहिँ एउटालाई भनेपछि हुन्छ यो समुदायलाई भन्ने किसिमको सोच राखिन्छ । र जब जब निर्वाचनको अन्तिम अन्तिम समय आउँछ, त्यो अन्तिम अन्तिम समयमा (भिडिओ कट गरेर क्लिप थपिएको छ) तपाईँहरूलाई प्रभावित पार्न आउँछन् भने नलिनुस् भन्दिनँ म, लिनुस् । तपाईँहरूलाई कसैले दिन्छ भने तपाईँहरूकै पैसा हो, चुनावको मुखमै भएपनि दिन्छन् लिनुस्, त्यो राख्नुपर्छ । तर भोट यो पालि इमान्दार नेतृत्वलाई दिनुपर्छ । तर भोट यो पालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्छ ।"

हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

 

कमेन्टमा पनि  “गुरुङ र थारु समुदाय सोबितासङ्ग दु:खी” शीर्षकमा नै समाचार लेखेको छ । समाचारमा सोबिता गौतमले आदिवासी जनजाति समुदायको अपमान गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ चितवनले गम्भीर आपत्ति जनाएको उल्लेख छ । 

समाचारमा लेखिएको छ, “रास्वपा नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले आदिवासी जनजाति समुदायको अपमान गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ चितवनले गम्भीर आपत्ति जनाएको छ । चुनावी सभामा गौतमले गुरुङ र थारु समुदायलाई 'पैसाले किन्न सकिने' र 'बिक्न सक्ने वर्ग' भनेकी थिइन् । यसबाट वर्षौंदेखि आफ्नो पहिचान र अधिकारका लागि लडिरहेका समुदायको मानमर्दन भएको महासंघको ठहर छ । आदिवासी जनजाति कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज भएको भन्दै महासंघले गौतमको भनाइको खण्डन गरेको छ । मतदातालाई पैसा दिए लिनुस् भनी आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु निर्वाचन आचारसंहिताको उल्लंघन र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको विज्ञप्तिमा उल्लेख छ । महासंघले सोविता गौतमलाई आफ्नो अभिव्यक्तिप्रति २४ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्न र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। अध्यक्ष सागर कुमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वाभिमान र पहिचानमा खेलबाड गर्ने छुट कसैलाई नभएको र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार उम्मेदवार स्वयं हुनुपर्ने चेतावनी दिइएको छ ।

पढ्नुहोस् समाचार, आर्काइभ लिङ्क र  स्क्रिनशट 

अनुसन्धान

३ मार्च बिहान ६:४० मा ‘पवन गुरुङ’ नामक फेसबुक प्रयोगकर्ताले सोही भिडिओ शेयर गरेका छन् । भिडिओको क्याप्सनमा लेखिएको छ, “सम्पुर्ण गुरुङ मुलवासी आदिवासी हरुले घन्टीमा भोट हाल्नु भनेको आफ्नो कुल समुदाय बिपरीत जानु हो। बाख्रा गोठाला बन्ने हैसियत नभएका हरुले राजनिती गर्ने रे।? हाम्रो समुदाय प्रति तिम्रो धारणा के  रहेछ सोबिता गौतम जी। सबैले जानिसके, आम माफि माग्नुस।नत्र परिणाम जे पनि हुन सक्छ।✊” 

हेर्नुहोस् पवन गुरुङ भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

३ मार्च बिहान १:५५ मा ‘Juneli media’ नामक फेसबुक पेजले पनि सोही भिडिओ शेयर गरेको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “रास्वपाकी उम्मेदवार सोबिता गौतमले गुरुङ र थारु समुदाय पैसामा किन्न सकिने भनेर अपमान गरेको भन्दै निकालेको विज्ञप्ती कमेन्टमा..” हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

फेसबुक प्रयोगकर्ता ‘Bishow Raj Gurung’ ले ३ मार्च २०२६ बिहान ५:१४ मा सोही भिडिओ शेयर गरेका छन् । उनले लेखेका छन्, “लामो इतिहास र पहिचान बोकेको गुरुङ र थारु समुदाय माथी होच्याएर बोलेको अभिव्यक्तको यो समुदाय घोर निन्दा र भत्सर्ना व्यक्त गर्दछ ।  भारत संग सिमा संरक्षक थारु समुदाय र  नेपाल एकीकरणको मुख्य भुमिका खेलेका गुरुङ समुदाय पैसामा बिक्ने भन्ने अभिव्यक्ति आफैमा खेदजनक र यो समुदायको संस्कार संकृती बिपरित छ र गहिरो चोट पुगेको छ । यदि नसच्चिए कडा भन्दा कडा प्रतिकारमा उत्रिन बाध्य हुनेछौं र प्रतिकारबाट हुने क्षतीको जिम्मेवारी स्वयम् सोबिता गौतम हुने व्यहोरा जानकारी गराउदछौं ।” 

हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 

 

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला परिषद सचिवालय, चितवनले मङ्गलबार निकालेको भन्दै विभिन्न सञ्चार माध्यमले प्रेस विज्ञप्ति सार्वजनिक गरिरहेको पाइयो । विज्ञप्तिमा गौतमले चितवनका आदिवासी जनजाति (विशेषगरी गुरुङ र थारु समुदाय) प्रति लक्षित गर्दै 'पैसाले किन्न सकिने' र 'बिक्न सक्ने वर्ग' भन्दै भ्रामक र अपमानजनक अभिव्यक्ति दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गुरुङ र थारू लगायतका समुदायलाई ‘सोझो’ र ‘पैसामा बिक्ने’ भनी वर्गीकृत गरेको भन्दै २४ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्दै लिखित स्पष्टीकरण पेस गर्नुपर्नेसम्मको चेतावनी महासङ्घले दिएको छ । गल्ती स्वीकार नगरेमा चितवन क्षेत्र नम्बर ३ मा गौतमलाई चुनाबी बहिष्कार गराउने र सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने समेत विज्ञप्तिमा भनिएको छ । 

यही विज्ञप्तिलाई आधार बनाएर अनलाइन न्युज पोर्टल ‘शिलापत्र’ ले मङ्गलबार (३ मार्च) बिहान ९:५५ मा समाचार बनाएको छ । “आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि विवादमा तानिइन् सोविता, महासंघद्वारा कारबाहीको चेतावनी” शीर्षकमा मंगलबार समाचार सार्वजनिक गरेको हो । 

हेर्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

 

यस्तै ‘Capital TV HD’ ले पनि सोही विज्ञप्तिको आधारमा भिडिओ सामग्री सार्वजनिक गरेको छ । जसको शीर्षकमा “चितवन–३ मा विवाद ! सोविता गौतमको अभिव्यक्तिप्रति आदिवासी महासंघको कडा आपत्ति.mp4” लेखिएको छ । 

हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

३ मार्च मै अनलाइन न्युज पोर्टल खबर हबले आफ्नो फेसबुक पेजमा पनि सोबिताले जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि विवादमा परेको दाबी सहित भिडिओ सार्वजनिक गरेको छ ।  दिउँसो १:४५ मा “आदिवासी जनजातिलाई ‘पैसामा बिक्ने’ भनेपछि विवादमा सोविता, महासंघद्वारा कारबाहीको चेतावनी” शीर्षकमा उक्त भिडिओ राखिएको छ ।  

हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 


जनआस्था, पवन गुरुङ, ‘Bishow Raj Gurung’ ले शेयर गरेको सोबिता गौतमको भिडिओमा ‘Info Tejendra’ को लोगो देख्न सकिन्छ । त्यसपछि हामीले फेसबुकमा ‘Info Tejendra’ सर्च गर्‍यौँ । “राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नम्बर ३ चुनावी अपडेटको लागि तल दिएको लिङ्कमा जानुहोला” शीर्षकमा ‘Tejendra Poudel’ नामक फेसबुक अकाउन्टले सार्वजनिक गरेको पोस्ट फेला पर्‍यो । 

युट्युबमा  ‘Info Tejendra’ कै लोगो देख्न सकिन्छ । हामीले Tejendra Poudel को फेसबुक प्रोफाइल पनि भिजिट गर्‍यौँ । उक्त प्रोफाइलमा पनि  ‘Info Tejendra’ कै लोगोसहितको भिडिओ छ । जहाँ अधिकांश भिडिओहरू चितवन क्षेत्र नम्बर ३ को रास्वपाका चुनाबि प्रचारप्रसारका छन् । 

त्यसपछि हामीले उक्त अकाउन्टका पुराना भिडिओहरू खोज्ने प्रयास गर्‍यौँ । प्रोफाइल स्क्रोल गर्दै जाने क्रममा  २७ जनवरी (१३ माघ) मा साँझ ६:०० बजे सोही अकाउन्टबाट सार्वजनिक भएको सोबिता गौतमले भाषण दिइरहेको १ मिनेट ४० सेकेन्ड लामो भिडिओ फेला पर्‍यो । यो भिडिओ हाल भाइरल भिडिओसँग मेल खाएको छ । 

भिडिओको क्याप्सनमा लेखिएको छ, “शान्ति हाम्रो लक्ष्य, सेवा हाम्रो धर्म। हरेक कदममा जनता सँग। 💛🕊️” ।  उक्त भिडिओमा सोबिताले थारू र गुरुङ समुदायलाई सम्बोधन गर्दै यो समुदाय सोझो भएको बताएकी छिन् । यसलाई राजनीतिक दलहरूले गलत अर्थमा हेरेको दाबी उनले गरेकी छिन् । 

 

भिडिओमा सोबिताले यस्तो भनिरहेकी छिन्- 

तपाईँहरूको समुदाय एकदमै सोझो समुदाय मानिन्छ । तपाईँहरूको समुदायलाई एकचोटि एउटा कुरा भनिसकेपछि त्यसमा अडिग रहन्छ । एकदम इमान्दार समुदाय हो । त्यसकारणले तपाईँहरूको समुदायप्रति धोका पनि धेरै हुन्छ । तपाईँहरूको समुदायलाई धोका पनि धेरै दिइन्छ के । तपाईँहरूलाई चाहिँ एउटालाई भनेपछि हुन्छ यो समुदायलाई भन्ने किसिमको सोच राखिन्छ । र जब जब निर्वाचनको अन्तिम अन्तिम समय आउँछ, इमान्दार वर्ग र समुदाय आज पैसाले किन्न सक्ने वर्ग हो भनेर यसरी सोच बनाइराखेका छन् । यो आफैमा तपाईँहरूमाथि गरेको अन्याय हो । त्यस कारणले तपाईंहरू अब यो अन्तिम समयमा आएर तपाईँहरूलाई प्रभावित पार्ने, तपाईँहरूलाई केही कुरा दिएजस्तै गर्ने, केही मनसायले कोही मानिसहरू आउँछन् भने त्यसमा स्पष्ट हुनुस् । नलिइदिनुस् भन्दिनँ म, लिनुस् । तपाईंहरूलाई कसैले दिन्छ भने लिनुस्। किनभने तपाईँहरूलाई आज अन्तिम समयमा चुनावको मुखमा आएर कसैले केही कुरा दिन्छ भने, त्यो उसको खल्तीबाट हालेर दिन्छ भने, के कुरा बुझ्नुस् भने- तपाईँहरूले हिँड्ने बाटो, तपाईँहरूले जाने स्वास्थ्य चौकी, तपाईँहरू जाने अस्पताल, तपाईँका छोराछोरी पढ्ने विद्यालय, तिनैबाट भ्रष्टाचार गरेर कमाएका पैसाहरू तपाईँहरूलाई चुनावको मुखमा दिन आउने हुन् । त्यसकारणले तपाईँहरू यी कुरामा स्पष्ट हुनुस् । अन्तिम समयमा तपाईँहरूलाई प्रभावित पार्न आउँछन् भने नलिनुस् भन्दिनँ म, लिनुस् । तपाईँहरूलाई कसैले दिन्छ भने तपाईँहरूकै पैसा हो, चुनावको मुखमै भएपनि दिन्छन् लिनुस्, त्यो राख्नुपर्छ । तर भोट यो पालि इमान्दार नेतृत्वलाई दिनुपर्छ। तर भोट यो पालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्छ !

हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

“सोबिता गौतम जिताउ अभियान” नामको फेसबुक अकाउन्टबाट पनि २७ जनवरी राति ९:११ मा सोही भिडिओ सार्वजनिक भएको फेला परेको छ ।  

हामीले भाइरल भिडिओको क्लिपमा सोबिताको भाषण र वास्तविक भाषणलाई तुलना गर्‍यौँ । यसबाट के थाहा भयो भने नेतृ सोबिता गौतमले गुरुङ र थारू समुदायलाई ‘पैसामा बिक्ने’ भनेर अपमान गरेको नभई उल्टै उनीहरूको इमान्दारिताको प्रशंसा गर्दै अन्य दलले राख्ने त्यस्तो गलत सोचको विरोध गरेकी थिइन् । 

भाइरल बनाइएको भिडिओमा उनले “तपाईँहरूलाई अन्य दलले पैसाले किन्न सकिने वर्ग ठानेका छन्, जुन अन्याय हो” भनेर बोल्दा बिचका मुख्य वाक्यहरू काटेर (एडिट गरेर) हटाइएको छ । जसले गर्दा सुन्दा स्वयम् सोबिताले नै अपमान गरेको जस्तो अर्थ लाग्ने बनाइएको छ । वास्तविकतामा उनले यो समुदायलाई एक वचनमा अडिग रहने इमान्दार समुदाय बताउँदै, भ्रष्ट नेताले चुनावमा पैसा बाँड्न आए त्यो जनताकै करको पैसा भएकाले लिनु तर भोट चाहिँ नबेच्नु भनेर सचेत मात्र गराएकी हुन् ।

दाबी 

सोबिता गौतमले थारू र गुरुङ समुदाय पैसामा बिक्ने र सोझो भएको भन्दै अपमानजनक टिप्पणी गरिन् ।  

दाबीकर्ता 

न्युजपोर्टल जनआस्थाको फेसबुक पेज ‘Jana Aastha’, फेसबुक प्रयोगकर्ताहरू ‘पवन गुरुङ’, ‘Juneli Media’, ‘Bishow Raj Gurung’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू .

तथ्य

वास्तविक भिडिओ २७ जनवरी २०२६ (१३ माघ) मा 'Tejendra Paudel' र 'सोबिता गौतम जिताउ अभियान' नामक फेसबुक अकाउन्टबाट सार्वजनिक भएको थियो । सोही भिडिओलाई काटकुट गरेर सोबिताको भाषणका मुख्य सन्दर्भहरू हटाइएको छ । मूल भिडिओमा उनले यो समुदायलाई "एक वचनमा अडिग रहने इमान्दार समुदाय" भन्दै प्रशंसा गरेकी छन् । 

उनले अन्य राजनीतिक दलहरूले यस समुदायलाई "पैसाले किन्न सकिने वर्ग" को रूपमा सोच्ने गरेको र त्यो सोच्नु नै यस समुदायमाथिको अन्याय भएको बताएकी थिइन् । उनले चुनावको मुखमा नेताहरूले बाँड्ने पैसा जनताकै छोराछोरी पढ्ने विद्यालय र अस्पतालबाट भ्रष्टाचार गरेर निकालिएको पैसा भएकाले पैसा लिएपनि भोट चाहिँ इमान्दार नेतृत्वलाई दिनु भन्दै मतदातालाई सचेत गराएकी थिइन् ।

निष्कर्ष

वास्तविक भिडिओलाई एडिट गरेर सोबिता गौतमले थारू र गुरुङ समुदाय पैसामा बिक्ने र सोझो भएको भन्दै अपमानजनक टिप्पणी गरेको भन्दै फैलाइएको भिडिओ तथा सूचना भ्रामक हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

 

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १७:५४