close

मौन अवधिमा सामाजिक सञ्जाल दुरुपयोग गरे तत्काल कारबाही हुन्छ : आईजीपी कार्की

टेकपाना टेकपाना

फागुन २०, २०८२ १४:५०

मौन अवधिमा सामाजिक सञ्जाल दुरुपयोग गरे तत्काल कारबाही हुन्छ : आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने लगायत निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारेका हुन् । ​

 

 

मौन अवधिको पूर्ण पालना गर्न राजनीतिक दल र सम्बन्धित सबैलाई आग्रह गर्दै उनले यस अवधिमा सुरक्षा निगरानी अत्यन्तै कडा पारिएको जानकारी दिए । “मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई हामीले कानुनी दायरामा ल्याएका छौं,” महानिरीक्षक कार्कीले भने, “यस अवधिमा कानुन र निर्वाचन आचारसंहिता विपरीत हुने क्रियाकलापलाई सबै सुरक्षा निकायहरूले एकीकृत ढंगले परिचालित भएर कानुनी दायरामा ल्याउने र व्यवस्थापन गर्ने काम गरेका छौं ।”

महानिरीक्षक कार्कीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग समन्वयात्मक रूपमा परिचालित छन् । गृह मन्त्रालयको प्रत्यक्ष नेतृत्वमा यी निकायले सूचना सङ्कलन, तत्काल सम्बोधन र संयुक्त गस्तीका कामहरू गरिरहेको उनले बताए । मन्त्रालयको प्रत्यक्ष कमाण्डका कारण सुरक्षा व्यवस्थापन थप सुदृढ र सहज भएको उनको भनाइ छ ।

कुनै पनि मतदान केन्द्र (बुथ) कब्जा गर्न खोज्ने, मतदातालाई धम्काउने वा निर्वाचन प्रक्रियालाई प्रभावित पार्न खोज्ने उच्छृङ्खल गतिविधि सह्य नहुने चेतावनी महानिरीक्षक कार्कीले दिएका छन् । शान्तिपूर्ण मतदानको वातावरण बिथोल्ने प्रयास भएमा त्यस्ता कार्यमा संलग्नहरूका लागि परिणाम प्रत्युत्पादक हुने उनले उल्लेख गरे ।

केन्द्रीय तथा एकीकृत सुरक्षा योजनाअनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आवश्यकता अनुसार बल प्रयोग गर्ने अधिकारसहित सुरक्षाकर्मीलाई प्रशिक्षित गरिएको छ । “कुन अवस्थामा कुन सुरक्षा निकाय परिचालित हुने भन्ने स्पष्ट रूपमा परिभाषित छ । पहिलो घेरामा नेपाल प्रहरी हुन्छ, तर त्यसमा अप्ठ्यारो परिस्थिति सिर्जना हुनासाथ मद्दतका लागि अन्य सुरक्षा निकाय (सशस्त्र प्रहरी र नेपाली सेना) गइहाल्ने गरी ब्याकअपको व्यवस्था गरिएको छ,” कार्कीले भने ।

सुरक्षा संयन्त्रले शान्तिपूर्ण र निर्बाध मतदानको वातावरण तयार पारिसकेको भन्दै महानिरीक्षक कार्कीले आम मतदातालाई ढुक्क भएर मतदान केन्द्रसम्म जान अपिल गरेका छन् । “आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यो निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मत विवेकपूर्ण किसिमले प्रयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने, “मतदातालाई निर्बाध रूपमा निर्वाचन स्थलसम्म जाने र मतदान गर्ने वातावरणका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेकाले यहाँहरुमा निर्धक्क भएर निर्वाचनमा सहभागी भइदिनुहुन अनुरोध छ ।”

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १४:५०