close

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि ‘कताहो’ एपको नि:शुल्क एसओएस (प्रयोगको तरिका सहित)

टेकपाना टेकपाना

फागुन २०, २०८२ १७:५४

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि ‘कताहो’ एपको नि:शुल्क एसओएस (प्रयोगको तरिका सहित)

काठमाडौँ । नेपालमा डिजिटल ठेगाना प्रणालीको विकास र सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रालिले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो 'कताहो' (Kataho) एपमा विशेष सुरक्षा सुविधा सार्वजनिक गरेको छ । कम्पनीले निर्वाचनको समयमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सुरक्षालाई मध्यनजर गर्दै यो नि:शुल्क सेवा सुरु गरेको हो ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित जोखिम वा आप्तकालीन अवस्थामा आफ्ना परिवार र आफन्तलाई छिटो र सुरक्षित रूपमा जानकारी दिन सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीका निर्देशक लक्ष्मणप्रसाद रिमालले जानकारी दिए ।

कसरी काम गर्छ ?

कुनै पनि अप्रत्याशित घटना वा असहज परिस्थितिमा प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको 'कताहो' एपमार्फत एसओएस मेेसेज पठाउन सक्नेछन् । यो मेसेजसँगै साइरनको आवाज र प्रयोगकर्ताको यकिन डिजिटल लोकेसन सम्बन्धित व्यक्तिको मोबाइलमा पुग्नेछ । भिडभाड वा होहल्ला भएको ठाउँमा, जहाँ फोन गरेर सिधै कुरा गर्न सम्भव हुँदैन, त्यस्तो अवस्थामा यो फिचर अत्यन्तै प्रभावकारी हुने अपेक्षा कम्पनीको छ । हाल प्रत्येक प्रयोगकर्ताले दुईवटा मोबाइल नम्बरलाई आपत्कालीन सम्पर्कका रूपमा राख्न सक्ने व्यवस्था मिलाइएको छ ।

'कताहो' एप आफ्नो नवीन प्रविधिका लागि विश्वस्तरको वर्ल्ड समिट अवार्ड (WSA), एसियाली स्तरको एपिक्टा अवार्ड र नेपालको आईसीटी अवार्डबाट सम्मानित भइसकेको छ ।

१. एपमा आपतकालीन नम्बर थप्ने र प्रयोग गर्ने तरिका

यो सेवा प्रयोग गर्नका लागि पठाउने र प्राप्त गर्ने दुवै पक्ष 'कताहो' एपमा दर्ता भएको हुनुपर्छ । सेवा सुरु गर्ने र प्रयोग गर्ने प्रक्रिया तल दिइएको छ:

  • सबैभन्दा पहिले एन्ड्रोइड वा एप्पल स्टोरबाट 'कताहो' (Kataho) एप डाउनलोड गर्नुहोस् ।

  • आफ्नो जिमेल र मोबाइल नम्बर प्रयोग गरी ओटीपी प्रमाणीकरण गरेर खाता खोल्नुहोस्।

  • एपको मुख्य स्क्रिनमा रहेको Profile बटनमा जानुहोस् ।

  • प्रोफाइल पेजको सबैभन्दा तल रहेको Emergency Contacts सेक्सनमा जानुहोस् ।

  • त्यहाँ रहेको SOS Number 1 वा SOS Number 2 को छेउमा रहेको Edit आइकनमा क्लिक गर्नुहोस् ।

  • आफ्नो आफन्त वा टिम लिडरको मोबाइल नम्बर राख्नुहोस् । (ध्यान दिनुहोस्: उक्त नम्बर पनि कताहो एपमा दर्ता भएको हुनुपर्छ)

  • Update बटनमा क्लिक गरेर जानकारी सेभ गर्नुहोस् ।

२. आपत्कालीन मेसेज (SOS) पठाउने प्रक्रिया

  • कुनै समस्या परेमा एपको नेभिगेसन बारमा रहेको Menu बटनमा क्लिक गर्नुहोस् ।

  • त्यहाँ उपलब्ध Emergency SOS बटनमा थिच्नुहोस् ।

  • आफूलाई आवश्यक परेको सेवाको प्रकार (Medical Aid - स्वास्थ्य सहायता, Security - सुरक्षा वा Fire - आगलागी) छनौट गर्नुहोस् ।

  • आफ्ना सम्पर्क व्यक्तिहरूलाई अलर्ट पठाउनका लागि स्क्रिनमा देखिएको SOS बटनलाई केही सेकेन्डसम्म थिचि राख्नुहोस् ।

  • यदि स्थानीय निकाय वा नगरपालिकालाई पनि जानकारी गराउनु पर्ने हो भने सोही बटनलाई थप केही सेकेन्ड थिचेर मेसेज पठाउन सकिन्छ।

यसरी मेसेज पठाएपछि सम्बन्धित व्यक्तिकोमा साइरनसहितको सूचना र तपाईंको लोकेसनको 'कताहो' कोड पुग्नेछ । जसले गर्दा उनीहरूलाई तपाईंको अवस्था बुझ्न र उद्धार गर्न सजिलो हुनेछ ।

नेपालमै विकसित यो डिजिटल सोलुसनलाई अधिकतम प्रयोग गरी निर्वाचनको समयमा सुरक्षित रहन एड्रेसग्राफ नेपालले सबैमा अनुरोध गरेको छ । थप जानकारीका लागि कम्पनीको सम्पर्क नम्बर ९८५१०२२७११ मा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १७:५४