close

निर्वाचनमा भ्रामक भिडिओ बिगबिगी, मतदान बिथोलिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न प्रहरीको आग्रह

टेकपाना टेकपाना

फागुन २१, २०८२ १४:२०

निर्वाचनमा भ्रामक भिडिओ बिगबिगी, मतदान बिथोलिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न प्रहरीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज देशभर मतदान भइरहेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्नेछ । देशका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइ रहँदा सामाजिक सञ्जालमा भने निर्वाचन बिथोलिएको भन्ने भ्रामक समाचार (फेक न्युज) फैलाइएको भन्दै नेपाल प्रहरीले ध्यानाकर्षण जनाएको छ ।

नेपाल प्रहरीले एक विशेष सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा पुराना भिडिओ सामग्री तथा सुरक्षा अभ्यासका भिडिओलाई तोडमोड गरी अफवाह फैलाउने काम भइरहेको जनाएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा ओखलढुङ्गा, सोलुखुम्बु लगायतका स्थानको नाम जोडेर ‘मतदान बिथोल्ने प्रयास, गोली लागेर एक घाइते’ जस्ता भ्रामक शीर्षक राखेर पोस्ट गरेका भिडिओ भ्रामक हुन् । 

प्रहरीले यस्ता गलत सूचनाको खण्डन गर्दै हालसम्म देशभरको मतदान कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण वातावरणमा भइरहेको स्पष्ट पारेको छ । साथै प्रहरीले निर्वाचनको संवेदनशील समयमा यस्ता भ्रामक अफवाह फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास तीव्र पारिएको जनाएको छ । 

त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ । नेपाल प्रहरीले सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गर्दै सामाजिक सञ्जालमा देखिने कुनै पनि फोटो वा भिडिओ शेयर, लाइक र कमेन्ट गर्नुभन्दा पहिला बुझेर मात्र गर्न अनुरोध गरेको छ । निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न सहयोग गर्न पनि प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १४:२०