close

फ्याक्टचेक: अमेरिकी सेनालाई इरानी सेनाले बन्धक बनाएको भन्दै नेपालसहित अन्तर्राष्ट्रिय स्तरमा भाइरल तस्बिर एआई निर्मित

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन २५, २०८२ १८:४१

फ्याक्टचेक: अमेरिकी सेनालाई इरानी सेनाले बन्धक बनाएको भन्दै नेपालसहित अन्तर्राष्ट्रिय स्तरमा भाइरल तस्बिर एआई निर्मित

काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा इरानी सेनाहरूले अमेरिकी सेनालाई बन्धक बनाएको दाबी सहितका पोस्टहरू भाइरल भएका छन् । इरानी सेनाहरू उभिएको र अमेरिकी सेनाहरूलाई हतकडी लगाएर घुँडा टेक्न लगाएर राखेको देखिने तस्बिरहरू फैलिएका छन् । टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँचबाट उक्त तस्बिरहरू एआई निर्मित भएको पाइएको छ । 

वास्तवमा इरानले युद्धका क्रममा केही अमेरिकी सेनाहरू आफ्नो कब्जामा रहेको बताएको छ । तर, सोही क्रममा अमेरिकाले भने आफ्ना केही सेनाहरू युद्धका क्रममा मारिएको र घाइते भएको भएपनि सेना इरानको कब्जामा भने नरहेको दाबी गर्दै आएको छ । यसरी अमेरिकी सेनाहरू इरानको कब्जामा रहे/नरहेको पुष्टि भइनसकेको समयमा एआई तस्बिरमार्फत भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको हो । 

दाबी 

'Rajib Bhattarai' नामको फेसबुक पेजले ७ फेब्रुअरी राति ९:४१ मा एक पोस्ट सार्वजनिक गरेको छ । उक्त पोस्टमा अमेरिकी सेनालाई इरानी सेनाले बन्धक बनाएको दाबी गरिएको छ । नेपालमा पनि सोही हालत हुने त होइन भन्दै उक्त पोस्टमार्फत आशंका व्यक्त गरिएको छ ।

पोस्टमा लेखिएको छ, “इरानी सेनाले अमेरिकी सेनालाई बन्दी बनाएका छन्। र यो पोस्ट हाम्रो नेपाली सेना प्रमुख भए ठाउँमा पुगोस्। तपाईँहरूले यो चित्र हेरेर के बुझ्नुहुन्छ? तपाईँहरूको पनि हालत यही हुन बेर छैन सचेत रहनुहोला स्वर्णिम वाग्लेले सेनाको सङ्ख्या घटाउनुपर्छ भनेर नेपाली सेनामाथि प्रहार गरेर बोलेको शब्द पनि याद होला सायद।” उक्त पोस्टमा यो सामग्री तयार गर्दासम्म ६ हजारभन्दा धेरैले रियाक्ट गरेका छन् । ३२० भन्दा बढी पटक कमेन्ट गरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

 

अनुसन्धान 

‘News Biratnagar’ नामको फेसबुक पेजले डेढ सयभन्दा धेरै सेनालाई इरानी सेनाले नियन्त्रणमा लिएको दाबी सहित पोस्ट सार्वजनिक गरेको फेला पर्‍यो । ७ मार्च दिउँसो ४:२० मा सार्वजनिक भएको उक्त पोस्टमा लेखिएको छ, “**ठूलो अन्तर्राष्ट्रिय समाचार** इरानी सेनाले अमेरिकी विशेष बल **डेल्टा फोर्स**का विभिन्न अफिसरसहित करिब **डेढ सय सैनिकलाई नियन्त्रणमा लिएको** दाबी गरेको छ। इरानी सरकारी स्रोतका अनुसार ती सैनिकहरू **इरानको मिसाइल सम्बन्धी मिशनलाई लक्षित गर्दै गोप्य अपरेशनमा संलग्न** रहेको आरोप लगाइएको छ। घटनापछि इरानले कडा चेतावनी दिँदै भनेको छ — **“यो भेनेजुयला होइन, यो इरान हो।”** विश्लेषकहरूका अनुसार यस घटनाले **अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण** बन्न सक्ने सम्भावना देखिएको छ। 👉 यो विषयमा तपाईंको धारणा के छ? Comment गरेर आफ्नो विचार राख्नुहोस्।” 

हेर्नुहोस् ‌‌ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

हामीले उक्त तस्बिरहरूलाई गुगल रिभर्ज इमेज सर्च गरेर हेर्‍यौँ । खोज्ने क्रममा ‘Government of East Africa’ नामको ‘एक्स’ अकाउन्टले सोही तस्बिरहरू सार्वजनिक गरेको फेला पर्‍यो । ६ मार्च बिहान ११:१० मा सार्वजनिक गरेको तस्बिरको स्टाटसमा लेखिएको छ, “#BreakingNews 🚨: The U.S. Delta Force paratroopers have been Captured by the Iranian 🇮🇷 Revolutionary Guard. The Iran 🇮🇷 Government says, @realDonaldTrump and @IsraeliPM 🇮🇱 H.E. @netanyahu pressed a wrong button, it's time to be showed a real Iran 🇮🇷. Delta Forces are in Custody” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

एक्स अकाउन्ट ‘Umar Indian’ ले पनि ६ मार्च साँझ ८:२५ मा सोही तस्बिर सार्वजनिक गरेको फेला पर्‍यो । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

‘Iran Times’ नामको एक्स अकाउन्टले पनि सोही दाबी सहित तस्बिर सार्वजनिक गरेको फेला पर्‍यो । ६ मार्च बिहान ७:५५ मा सार्वजनिक गरिएको तस्बिरमा लेखिएको छ, “#Iran captures 180 #US landing Force personnel” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

इन्स्टाग्राम प्रयोगकर्ता ‘mr.trt_4831’ ले पनि समान किसिमको दाबी गरेका छन् । ६ मार्चमा एक पोस्ट शेयर गर्दै उनले हिन्दीमा लेखेका छन्, “Ye hai अमेरिका के डेल्टा फोर्स ईरान को palestine समझ कर ग्राउंड जंग करना चाहते थे उतरते ही गिरफ्तारी hogyi bhayiya ये ईरान है हल्के में मत leyiyo😅..”  हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

‘Sammy Colucci’ नामका फेसबुक प्रयोगकर्ताले पनि ८ मार्च दिउँसो १:०२ मा सोही दाबी सहितको तस्बिर सार्वजनिक गरेको फेला पर्‍यो । उक्त पोस्टमा पनि अमेरिकाको डेल्टा फोर्सको सेनालाई इरानी सेनाले पक्राउ गरेको दाबी गरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

हामीले नेपालसहित विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इरानी सेनाले अमेरिकाको डेल्टा सेनालाई पक्राउ गरेको दाबी सहितका सामग्रीहरू भाइरल भएपछि यसबारे आधिकारिक समाचारहरू खोज्ने प्रयास गर्‍यौँ । यसका लागि हामीले ‘Irani army captures delta army’, ‘Iran captures US Soldiers’, ‘Iran US war soldiers captures’, ‘US hostage Iran’ लगायतका किवर्डहरू राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । यसरी खोज्ने क्रममा इरान र अमेरिकाको युद्धसँग सम्बन्धित विभिन्न समाचारहरू फेला परे । 

७ मार्चमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जजिराले ‘Trump administration denies reports that Iran captured US soldiers’ शीर्षकमा समाचार लेखेको छ । यसको नेपालीमा अर्थ हुन्छ, “ट्रम्प प्रशासनद्वारा इरानले अमेरिकी सैनिकलाई पक्राउ गरेको भन्ने समाचार अस्वीकार ।”

उक्त समाचारमा लेखिएको छ, “इरानी राष्ट्रिय सुरक्षा परिषदका प्रमुख अली लारीजानीले गत हप्ता युद्ध सुरु भएयता आफ्नो देशले अमेरिकी सैनिकहरूलाई नियन्त्रणमा लिएको दाबी गरेका छन् ।” शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै लारीजानीले अमेरिकाले ती सैनिकहरू पक्राउ परेको कुरा लुकाइरहेको संकेत गरे । "मलाई रिपोर्ट गरिए अनुसार धेरै अमेरिकी सैनिकहरू युद्धका क्रममा बन्दी बनाइएका छन्," लारीजानीले लेखेका छन्, "तर अमेरिकीहरूले भने उनीहरू युद्धको मैदानमा मारिएको दाबी गरिरहेका छन् । उनीहरूको व्यर्थ प्रयासका बाबजुद  सत्यलाई धेरै समयसम्म लुकाउन सकिँदैन ।" 

यद्यपि, अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त दाबीको खण्डन गरेको छ । 

लारीजानीको पोस्टको जवाफमा अमेरिकी नौसेनाका क्याप्टेन टिम हकिन्सले भनेका छन्, "इरानले झुट फैलाउन र भ्रमित पार्न सक्दो प्रयास गरिरहेको छ । यो त्यसैको अर्को स्पष्ट उदाहरण हो ।"

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का एक प्रवक्ताले पनि 'अल जजीरा अरबी' लाई दिएको बयानमा हकिन्सको खण्डनलाई समर्थन गरेका छन् । "अमेरिकी सैनिकहरूलाई समातेको दाबी इरानको झुट र छलको अर्को उदाहरण हो," प्रवक्ताले भने । 

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण सुरु गरेपछि युद्ध सुरु भएयता अमेरिकी सशस्त्र बलका कम्तीमा छ जना सदस्य मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले यस सैन्य अभियानलाई 'अपरेसन एपिक फ्युरी' नाम दिएको छ ।” (यो अल जजीरामा प्रकाशित समाचारलाई नेपालीमा भावानुवाद गरिएको हो ।) पढ्नुहोस् पूरा समाचार । 

 

हामीले इरानी सेनाको कब्जामा अमेरिकी सेना रहेको दाबीमा सत्यता नरहेको भनेर ट्रम्प सरकारको प्रशासनले खण्डन गरेको समाचार फेला परेपछि हाल भाइरल भइरहेको तस्बिर एआई निर्मित हुनसक्ने आशंका गर्‍यौँ । 

त्यसपछि हामीले अमेरिकी सेना पक्राउ परेको दाबी सहितका विभिन्न तस्बिरहरूलाई एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मा राखेर जाँच गर्‍यौँ ।  जाँच गर्ने क्रममा उक्त तस्बिरहरू ८० देखि ९९.९ प्रतिशतसम्म एआई निर्मित रहेको निष्कर्ष निस्कियो । 
 

 

 

हामीले गुगल सिन्थ आईडी डिटेक्सन टुलमा पनि यी तस्बिरहरू राखेर हेर्‍यौँ । भाइरल तीन ओटा तस्बिरमध्ये दुई ओटा तस्बिर गुगल एआईबाट प्रयोग भएको निष्कर्ष निस्कियो । 

 

 

दाबी

रानी सेनाले अमेरिकी 'डेल्टा फोर्स' का १५० भन्दा बढी सैनिकहरूलाई नियन्त्रणमा लिएको दाबीसहित तस्बिरहरू भाइरल । 

दाबीकर्ता 

फेसबुक पेजहरू 'Rajib Bhattarai', ‘News Biratnagar’, एक्स प्रयोगकर्ताहरू 'Government of East Africa’,  ‘Umar Indian’, ‘Iran Times’,  इन्स्टाग्राम अकाउन्ट  ‘mr.trt_4831’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

अमेरिकी प्रशासन र सैन्य अधिकारीहरूले इरानी सेनाद्वारा अमेरिकी सेनाहरू कब्जामा परेको दाबीलाई अस्वीकार गरेका छन् । ‘अपरेसन एपिक फ्युरी’ सुरु भएयता ६ जना अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि भए पनि कोही पनि बन्दी बनेको आधिकारिक जानकारी छैन । एआई डिटेक्सन टुल हाइभ मोडेरेसन र गुगल सिन्थ आईडीबाट भाइरल तस्बिरहरू एआई निर्मित रहेको देखिएको छ । 

निष्कर्ष

इरानी सेनाले अमेरिकी सैनिकहरूलाई बन्धक बनाएको देखाउने तस्बिरहरू एआई निर्मित हुन् । इरानले युद्धका क्रममा केही अमेरिकी सेनाहरू आफ्नो कब्जामा रहेको बताएको छ । तर, अमेरिकाले भने आफ्ना केही सेनाहरू युद्धका क्रममा मारिएको र घाइते भएको भएपनि सेना इरानको कब्जामा नरहेको दाबी गरेको छ । अमेरिकी सेनाहरू इरानको कब्जामा रहेको विषयमा पुष्टि भइ नसकेको समयमा एआई तस्बिरको प्रयोग गरेर भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ १४:२४