close

चुनाव हारेपछि सुनिल शर्माले अस्पतालको निःशुल्क सेवा बन्द गरे भन्ने दाबी झुटो

टेकपाना टेकपाना

फागुन २६, २०८२ ९:४०

चुनाव हारेपछि सुनिल शर्माले अस्पतालको निःशुल्क सेवा बन्द गरे भन्ने दाबी झुटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता सुनिल शर्माले चुनाव हारेपछि आफ्ना अस्पतालमार्फत दिँदै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द गरेको दाबीसहितको सूचना सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर उक्त दाबी झुटो रहेको उनको पछिल्लो फेसबुक पोस्टबाट स्पष्ट भएको छ ।

शर्माले मङ्गलबार आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको सूचनामा बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले आफूले सञ्चालन गर्दै आएका नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत विगतदेखि नै नागरिकहरूलाई छुटदेखि निःशुल्क उपचारसम्मका स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको बताएका छन् ।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राखेर यस्ता सेवा प्रदान हुँदै आएको छ र सम्बन्धित वडाहरू तथा जिल्लाहरूमा आधिकारिक प्रक्रिया मार्फत सेवाहरू उपलब्ध गराइँदै आएको छ ।

फेसबुक पोस्टमा उनले चुनाबी परिणाम र सामाजिक सेवाबिच कुनै सम्बन्ध नभएको समेत स्पष्ट पारेका छन् । “चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबिच कुनै सम्बन्ध हुँदैन,” उनले लेखेका छन् ।

शर्माले नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा प्रदान गर्ने कार्य आगामी दिनहरूमा पनि देशभर निरन्तर जारी रहने जानकारी दिएका छन् । साथै सामाजिक सञ्जालमा फैलाइएका हल्ला वा भ्रममा नपर्न र आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका संस्थाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

यससँगै चुनाव हारेपछि उनले अस्पतालको निःशुल्क सेवा बन्द गरेको भन्ने दाबी सत्य नभएको स्पष्ट भएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ ९:४०