हर्मुज स्ट्रेटमा जीपीएस जामिङको समस्या, जहाजहरू पानीको सट्टा देखिन थाले जमिन र विमानस्थलमा
फागुन २८, २०८२ १२:४५
काठमाडौँ । मध्यपूर्वमा जारी तनावपूर्ण सङ्घर्षको बीच जीपीएस जामिङको समस्या देखिएको छ । जसले समुद्री सुरक्षा र नेभिगेसनमा ठुलो चुनौती खडा गरेको बीबीसीले लेखेको छ ।
समुद्री आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी 'विन्डवर्ड' (Windward) की वरिष्ठ समुद्री गुप्तचर विश्लेषक मिसेल विजका अनुसार इरान, संयुक्त अरब इमिरेट्स (यूएई) र कतार वरपरको समुद्रमा व्यावसायिक जहाजहरूको नेभिगेसन प्रणालीमा गम्भीर गडबडी देखिएको छ । नक्सामा जहाजहरू पानीको सट्टा जमिनमा, विमानस्थलहरूमा वा न्युक्लियर पावर प्लान्टहरूमा देखिएका छन् ।
हर्मुज स्ट्रेट (Strait of Hormuz) वरपर करिब ३५ वटा यस्ता 'क्लस्टर' (जहाजहरूको समूह) देखिएका छन्, जसले नक्सामा अनौठो गोलो र जिगज्याक आकृतिहरू बनाएका छन् । जहाजहरू यति नजिक र सटीक गोलो घेरामा समुद्रमा बस्न असम्भव हुन्छ, जसले गर्दा उनीहरूको जीपीएस कोर्डिनेट्ससँग छेडछाड गरिएको स्पष्ट हुन्छ ।
के हो जीपीएस जामिङ ?
जीपीएस जामिङ भनेको जीपीएस सिग्नलमा जानीजानी पुर्याइने अवरोध हो । स्याटलाइटबाट जहाजमा रहेका रिसिभरमा आउने रेडियो सिग्नलहरूलाई शक्तिशाली रेडियो फ्रिक्वेन्सीद्वारा दबाइन्छ। उदाहरणको रूपमा यदि तपाईं फोनमा कुरा गरिरहनुभएको छ र कसैले नजिकै ठुलो आवाजमा स्पिकर बजाइदियो भने तपाईंले अर्कोतर्फबाट साथीले बोलेको आवाज सुन्न सक्नुहुन्न । जामिङले पनि ठ्याक्कै यसरी नै वास्तविक जीपीएस सिग्नललाई ओझेलमा पारिदिन्छ ।
यसको प्रभाव मोबाइल, जहाज, ड्रोन र एयरक्राफ्टहरूमा पर्छ । जसका कारण उनीहरूले आफ्नो वास्तविक स्थान थाहा पाउँदैनन् वा गलत लोकेसन देखिन्छ ।
जहाजहरू धेरै ठुला र गह्रौँ हुने भएकाले उनीहरूलाई रोक्न वा मोड्न धेरै समय र दूरी चाहिन्छ । यदि चालकलाई आफ्नो वरपरका अन्य जहाजहरूको वास्तविक स्थान थाहा भएन भने, विशेष गरी राति वा कम दृश्यता भएको समयमा आपसमा जुधेर ठुलो दुर्घटना हुन सक्छ ।
यसमा समस्या जहाज कहाँ जाँदैछ भनेर होइन कि बाँकी जहाजहरू कहाँ छन् भन्ने थाहा नहुने भएकाले समस्या हुने गर्छ । यसले 'अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम' (एआईएस) लाई पनि प्रभावित पार्छ । यस क्षेत्रमा १-७ मार्चको बीचमा १,७०० जहाजहरूमा जीपीएस अवरोध ५५ प्रतिशतले बढेको पाइएको छ । २८ फेब्रुअरीमा अमेरिकाले इरानसँग सम्बन्धित निशानामा आक्रमण गरेको २४ घण्टाभित्र १००० भन्दा बढी जहाज प्रभावित भएका थिए ।
कसको हात हुन सक्छ?
आधिकारिक रूपमा जामिङ कसले गरिरहेको छ भन्ने पुष्टि भएको छैन । तर विश्लेषकहरूले इरानमाथि गम्भीर शङ्का गरेका छन् । रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका थोमस विथिङटनका अनुसार इरानले प्रयोग गरिरहेका उपकरणहरू घरेलु रूपमा बनाइएका वा रुस र चीनबाट प्राप्त गरिएका हुन सक्छन् ।
अर्कोतर्फ यस क्षेत्रमा रहेका अमेरिकी सेनाले आफ्ना बेस र जहाजहरूलाई ड्रोन वा मिसाइल आक्रमणबाट बचाउन आफैँले पनि जामिङ प्रणाली प्रयोग गरिरहेको हुन सक्ने सम्भावना छ । अमेरिकी रक्षा मन्त्रालयले 'अपरेसन सेक्युरिटी' को कारण देखाउँदै यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
फारसको खाडी विश्वकै सबैभन्दा महत्त्वपूर्ण उर्जा कोरिडोरमध्ये एक हो । यहाँ हुने जीपीएस जामिङले अन्तर्राष्ट्रिय समुद्री सीमाको उल्लङ्घन, ट्राफिकमा ढिलाइ र खोज तथा उद्धार कार्यमा ठुलो बाधा पुर्याउन सक्छ । अहिलेसम्म कुनै ठुलो दुर्घटना नभए पनि प्रविधिको यो दुरुपयोगले समुद्री नेभिगेसनलाई असुरक्षित बनाएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ १२:४६
