एआई सिर्जित तस्बिर
काठमाडौँ । बढ्दो वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने जोखिमलाई मध्यनजर गर्दै गुगलले आफ्नो लोकप्रिय म्याप एप्लिकेसनमा एयर क्वालिटी इन्डेक्स (AQI) अर्थात् वायु गुणस्तर सूचकाङ्क जाँच गर्ने सुविधालाई थप प्रभावकारी बनाएको छ । गुगलले हालै सार्वजनिक गरेको एयर भ्यु प्लस (Air View+) जस्ता नयाँ फिचरले प्रयोगकर्तालाई आफ्नो टोल-छिमेकको हावा कति स्वच्छ छ भन्ने रियल-टाइम जानकारी प्रदान गर्दछ ।
यसअघि मानिसहरूले वायु गुणस्तरको जानकारी लिनका लागि विभिन्न स्वतन्त्र वेबसाइटहरू र सरकारी निकायका स्रोतहरूमा भर पर्नुपर्ने अवस्था थियो ।
गुगल म्यापमा आफ्नो क्षेत्रको वायु गुणस्तर जाँच गर्न सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड वा आईफोनमा गुगल म्याप एप खोल्नुहोस् अथवा डेस्कटपमा गुगल म्यापको वेबसाइटमा जानुहोस् ।
अब मोबाइलका लागि स्क्रिनको दायाँतर्फ माथि रहेको तथा डेस्कटपका लागि तल बायाँ कुनामा रहेको 'लेयर्स' (Layers) आइकन (जुन एकमाथि अर्को खप्टिएका दुईवटा वर्गाकार बाकस जस्तो देखिन्छ) मा ट्याप गर्नुहोस् । 'म्याप डिटेल्स' अन्तर्गत रहेको एयर क्वालिटी (Air Quality) विकल्पमा क्लिक गर्नुहोस् ।

यसो गर्दा म्यापमा विभिन्न रङका थोप्लाहरू देखिनेछन् । कुनै पनि विशेष स्थानमा ट्याप गरेर त्यहाँको एक्यूआई अङ्क र स्वास्थ्यसम्बन्धी सुझावहरू (जस्तै: मास्क लगाउने वा झ्याल ढोका बन्द गर्ने) हेर्न सकिन्छ ।

गुगलले यो जानकारीलाई थप भरपर्दो बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र विभिन्न सेन्सरहरूको नेटवर्क प्रयोग गरिरहेको छ । भारत जस्ता देशहरूमा गुगलले स्थानीय संस्थाहरूसँग मिलेर रणनीतिक स्थानहरूमा सेन्सरहरू राखेको छ । जसले PM2.5, PM10, CO2 र ओजोन जस्ता प्रदूषकहरूको तथ्याङ्क प्रत्येक मिनेटमा अपडेट गर्दछ ।
नेपालको सन्दर्भमा पनि गुगल म्याप्सले अमेरिकी वातावरण संरक्षण एजेन्सी (EPA) को मापदण्ड र नेपालको वातावरण विभागको तथ्याङ्कलाई आधार मानेर वायु गुणस्तरको जानकारी उपलब्ध गराउँछ । गुगलले हालै ल्याएको अपडेट अनुसार अब म्यापमा वायु गुणस्तरको विवरण प्रत्येक घण्टामा अपडेट हुन्छ । जसले गर्दा प्रयोगकर्ताले पछिल्लो अवस्थाको सही जानकारी पाउँछन् ।
रङका सङ्केतहरूले के बुझाउँछन् ?

गुगल म्याप्सले वायु प्रदूषणको गम्भीरता बुझाउन रङहरूको प्रयोग गर्दछ । जसमा हरियोले वायुको अवस्था राम्रो छ भन्ने जनाउँछ । त्यस्तै पहेँलोले मध्यम स्तरको प्रदूषण, सुन्तला रङले संवेदनशील समूहका लागि अस्वस्थ, रातोले सबैका लागि अस्वस्थ र गाढा रातो तथा बैजनीले अत्यन्त अस्वस्थ वा खतरनाक अवस्था भन्ने बुझाउँछ ।
किन महत्त्वपूर्ण छ यो फिचर ?
विशेष गरी जाडो महिना वा डढेलो लाग्ने समयमा वायु प्रदूषण निकै बढ्ने गर्दछ । गुगल म्यापको यो फिचरले मानिसहरूलाई कुन समयमा बाहिर निस्कने, कस्तो रुट प्रयोग गर्ने र कहिले एन-९५ मास्क प्रयोग गर्ने भन्ने निर्णय लिन मद्दत पुर्याउँछ । यसका साथै गुगलले प्रदूषण कम गर्न मद्दत पुग्ने गरी इको-फ्रेन्ड्ली रुट (वातावरणमैत्री बाटो) को विकल्प पनि देखाउन थालेको छ ।
पछिल्लो अध्यावधिक: फागुन ३०, २०८२ १५:३३
