close

क्लाउड एआईले एकैछिनमा उडायो डेभलपरको साढे दुई वर्षको डेटा र ब्याकअप

टेकपाना टेकपाना

फागुन ३०, २०८२ १८:४९

क्लाउड एआईले एकैछिनमा उडायो डेभलपरको साढे दुई वर्षको डेटा र ब्याकअप

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई राम्रोसँग प्रम्प्ट नदिँदा कति ठुलो दुर्घटना हुन सक्छ भन्ने एउटा घटना हालै बाहिर आएको छ । ‘क्लाउड कोड’ नामक एआई टुलको प्रयोग गर्दा एलेक्सी ग्रिगोरेभ नामका डेभलपरले आफ्नो वेबसाइटको साढे दुई वर्षको सम्पूर्ण डेटा र ब्याकअप एकैछिनमा गुमाएका हुन् । 

अन्त्यमा डेटा फिर्ता ल्याउन सफल भए पनि यो घटनाले प्रविधि क्षेत्रमा काम गर्ने सबैलाई एउटा ठुलो पाठ सिकाएको छ । खासमा डेभलपर ग्रिगोरेभले आफ्नो ‘एआई सिपिङ ल्याब्स’ नामक वेबसाइटलाई अमेजनको क्लाउड सर्भर (एडब्लुएस) मा सार्ने निर्णय गरेका थिए । उनी यो वेबसाइटलाई आफ्नो अर्को वेबसाइट ‘डेटाटक्स डट क्लब’सँगै एउटै सिस्टममा राख्न चाहन्थे । क्लाउड एआईले दुई ओटा वेबसाइट एउटै ठाउँमा नराख्न सल्लाह दिएको थियो । तर, छुट्टाछुट्टै राख्दा लाग्ने खर्च र झन्झटबाट बच्न उनले एआईको सल्लाह मानेनन् ।

वेबसाइटको सिस्टम बनाउन वा भत्काउन उनले ‘टेराफर्म’ (Terraform) नामको सफ्टवेयर टुल प्रयोग गर्थे । उनले क्लाउड एआईलाई नयाँ वेबसाइट सेटअप गर्ने जिम्मा दिए । तर, काम दिने क्रममा उनले एउटा अत्यन्तै महत्त्वपूर्ण ‘स्टेट फाइल’ (जसमा सिस्टमको पुरा म्याप्स वा जानकारी हुन्छ) दिन बिर्सिए । 

पूरा जानकारी नपाएपछि एआईले काम गर्ने क्रममा एउटै कुरा दुई-दुई पटक (डुप्लिकेट) बनाइदियो । गल्ती भएको थाहा पाएपछि ग्रिगोरेभले एआईलाई बीचमै रोके र डुप्लिकेट कुरा हटाउन प्रम्प्ट दिए । त्यसपछि मात्र उनले त्यो छुटेको ‘स्टेट फाइल’ अपलोड गरे । उनले के सोचेका थिए भने एआईले पहिले बिग्रिएको काम सुधार्नेछ अनि मात्र नयाँ फाइल हेरेर काम अघि बढाउनेछ । तर, एआईले त्यसो गरेन । एआईले नयाँ फाइल पाउने बित्तिकै सबै कुरा सुरुदेखि नै मिलाउनका लागि पुरानो सबै सिस्टमलाई नष्ट गर्ने कमान्ड चलाइदियो ।

उक्त सिस्टममा उनको अर्को वेबसाइट ‘डेटाटक्स डट क्लब’ पनि जोडिएको थियो । एआईले नष्ट गर्ने कमान्ड चलाएपछि दुवै वेबसाइटको सम्पूर्ण सिस्टम एकै सेकेन्डमा उड्यो । त्यति मात्र नभई साढे दुई वर्षको डेटाबेस र आपतकालीन अवस्थाका लागि सुरक्षित राखिएको ब्याकअप (स्न्यापसट) पनि पूर्ण रूपमा मेटियो । 

आफ्नो सबै मेहनेत खेर गएपछि आत्तिएका उनले तत्काल अमेजन बिजनेस सपोर्टसँग गुहार मागे । धन्न, उनीहरूको सहयोगमा करिब एक दिनपछि उनले आफ्नो सबै डेटा सुरक्षित रूपमा फिर्ता पाउन सफल भए ।

यस घटनापछि ग्रिगोरेभले आफ्नो काम गर्ने तरिकामा धेरै सुधार गरेका छन् । अब उनी समय-समयमा आफ्नो ब्याकअप डेटा रिस्टोर हुन्छ कि हुँदैन भनेर परीक्षण गर्नेछन् । साथै, झुक्किएर केही कुरा डिलिट नहोस् भनेर सिस्टममा ‘डिलिट प्रोटेक्सन’ (सेक्युरिटी लक) लगाउने र महत्त्वपूर्ण फाइल आफ्नै कम्प्युटरमा नराखी सुरक्षित क्लाउड स्टोरेज (एस थ्री) मा राख्ने निर्णय उनले गरेका छन् । 

सबैभन्दा महत्त्वपूर्ण कुरा उनले आफू एआईमाथि धेरै नै निर्भर भएको गल्ती स्वीकार गरेका छन् । अबदेखि उनले एआईलाई आफै कुनै पनि काम सिधै गर्न नदिने र एआईले बनाएको योजना आफैले पढेर मात्र स्वीकृत गर्ने नियम बनाएका छन् ।

सामान्य रूपमा हेर्दा यो घटनालाई एउटा ‘मूर्ख एआईले गरेको गल्ती’ भन्न सकिन्छ । तर, प्रविधिका जानकारहरूका अनुसार यसमा मुख्य गल्ती डेभलपरकै थियो । एउटा सामान्य जुनियर कर्मचारी जस्तो एआईलाई मुख्य सिस्टम (प्रोडक्सन) मा जे पनि गर्न सक्ने पुरा अधिकार दिनु नै सबैभन्दा ठुलो गल्ती थियो । 

एआईले आफै सबै कुराको अवस्था र महत्त्व बुझ्छ भनेर आँखा चिम्लिएर विश्वास गर्नु हुँदैन भन्ने कुरा यस घटनाले देखाएको छ । डेभलपर ग्रिगोरेभले यसबारे आफ्नो न्युजलेटरमा विस्तृत जानकारी दिएका छन् । थप पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८२ २१:५९