टेक्नोको नयाँ स्मार्टफोन ‘स्पार्क गो ३’ नेपाली बजारमा, सुरुवाति मूल्य १६ हजार मात्र
चैत १, २०८२ १८:५१
काठमाडौँ । टेक्नोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘टेक्नो स्पार्क गो ३’ सार्वजनिक गरेको छ । विशेषगरी विद्यार्थी, युवा प्रोफेसनल र व्यस्त जीवनशैली भएका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो स्मार्टफोन बजारमा ल्याएको हो ।
यो फोन आकर्षक डिजाइनका साथै दैनिक प्रयोगका लागि निकै टिकाउ र भरपर्दो रहेको कम्पनीको दाबी छ । टेक्नो मोबाइल इन्डिया तथा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले युवा उपभोक्ताको दैनिक आवश्यकतालाई ध्यानमा राखेर यो फोन ल्याइएको बताए ।
“स्पार्क गो ३ मार्फत हामीले बलियोपना, इन्टेलिजेन्स र भरपर्दो कनेक्टिभिटीलाई युवाहरूको जीवनशैलीसँग सुहाउँदो रूपमा प्रस्तुत गरेका छौं,” उनले भने । दैनिक प्रयोगका क्रममा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै फोन धुलो र पानीबाट जोगिन आईपी ६४ रेटिङ प्राप्त गरेको छ ।
यसका साथै खस्दा पनि सजिलै नफुट्ने ‘ड्रप-रेडी ड्युरेबिलिटी’ प्रविधि प्रयोग गरिएकाले कक्षा कोठा, निर्माण स्थल, डेलिभरी रुट वा भिडभाडयुक्त स्थानमा समेत ढुक्कले फोन चलाउन सकिने कम्पनीले जनाएको छ । फोनमा प्रिमियम अनुभवका लागि १२० हर्जको ‘सुपर स्मुथ डिस्प्ले’ समावेश गरिएको छ ।
फोनको अर्को प्रमुख आकर्षण भनेको यसमा रहेको ‘टेक्नो एआई’ (भ्वाइस असिस्टेन्ट) हो । यसले प्रयोगकर्ताको निर्देशन बुझेर दैनिक कार्य छिटो र सहज बनाउन मद्दत गर्ने जनाइएको छ । त्यस्तै यसमा रहेको ‘नो नेटवर्क कम्युनिकेसन २.०’ प्रविधिमार्फत मोबाइल नेटवर्क नभएको वा कमजोर नेटवर्क भएका स्थान (जस्तै फ्याक्ट्री, वेयरहाउस, बेसमेन्ट, निर्माण क्षेत्र र ग्रामीण भेग) मा समेत सहजै सञ्चार गर्न सकिने सुविधा रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो स्मार्टफोन आज १५ मार्चदेखि नेपालभरका प्रमुख रिटेल स्टोरमा खरिदका लागि उपलब्ध हुनेछ । नेपाली बजारमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ तथा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
उपभोक्ताले यो फोन टाइटानियम ग्रे, इन्क ब्ल्याक, ग्यालेक्सी ब्लु र अरोरा पर्पल गरी चार ओटा रङमा खरिद गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: चैत १, २०८२ १८:५२
