भारतको जीपीएस सिस्टम सङ्कटमा, इसरोको नाभिक स्याटलाइट नेटवर्क ३ स्याटलाइटमा खुम्चियो
चैत २, २०८२ ९:४८
काठमाडौँ । भारतको आफ्नै क्षेत्रीय स्याटलाइट नेभिगेसन प्रणाली नाभिक (NavIC) गम्भीर सङ्कटमा परेको छ । प्रणालीको एक प्रमुख स्याटलाइटको 'एटोमिक क्लक' बिग्रिएपछि नेभिगेसनका लागि आवश्यक न्यूनतम क्षमताभन्दा तल झरेको हो ।
१३ मार्च, २०२६ मा IRNSS-1F स्याटलाइटमा रहेको अन्तिम एटोमिक क्लकले काम गर्न छाडेको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ISRO) ले पुष्टि गरेको छ । इन्डिया टुडेका अनुसार मार्च २०१६ मा प्रक्षेपण गरिएको यो स्याटलाइटले १० मार्चमा आफ्नो १० वर्षको डिजाइन आयु पूरा गरिसकेको थियो । पृथ्वीमा सही स्थान (Position) पत्ता लगाउन कम्तीमा चारवटा स्याटलाइटहरू एकसाथ सञ्चालनमा हुनुपर्छ । तर यो विफलतापछि अब केवल तीनवटा स्याटलाइटहरू मात्र बाँकी रहन पुगेका छन् ।
द इन्डियन एक्सप्रेसका अनुसार हाल सेवा दिइरहेका तीन स्याटलाइटहरूमा IRNSS-1B (सन् २०१४ मा प्रक्षेपण गरिएको र आयु समाप्त भइसकेको), IRNSS-1L (सन् २०१८) र NVS-01 (सन् २०२३) रहेका छन् । IRNSS-1B हाल सापटी समय (borrowed time) मा चलिरहेको छ ।
एटोमिक क्लकको महत्त्व र विफलताको कारण
एटोमिक क्लकलाई नेभिगेसन स्याटलाइटको मुटु मानिन्छ । यसले परमाणुको प्राकृतिक कम्पनलाई पछ्याएर अत्यन्तै सूक्ष्म समय मापन गर्छ । एक सेकेन्डको अर्बौँ भागको त्रुटि हुँदा पनि पृथ्वीमा स्थानको जानकारी सयौँ मिटरले गलत हुन सक्छ ।
द हिन्दूका अनुसार भारतले यसअघि स्विट्जरल्याण्डको 'स्पेक्ट्राटाइम' (SpectraTime) कम्पनीबाट यी घडीहरू आयात गर्ने गर्थ्यो । जुन बारम्बार फेल हुने समस्या (Persistent weak point) बनेको थियो । यसै कारण इसरोले नयाँ पुस्ताका NVS स्याटलाइटहरूमा स्वदेशमै विकसित 'रुबिडियम एटोमिक क्लक' प्रयोग गर्न थालेको छ ।
नाभिक प्रणाली सातवटा स्याटलाइटको समूह (Constellation) हुने गरी डिजाइन गरिएको भए पनि यो निर्धारित लक्ष्यबाट निकै टाढा छ । इन्डिया टुडेको रिपोर्ट अनुसार जुलाई २०२५ सम्ममा कक्षमा रहेका ११ स्याटलाइटमध्ये ४ वटाले मात्र नेभिगेसन सेवा दिइरहेका थिए, ४ वटा केवल मेसेज पठाउन मात्र सीमित थिए, एउटा काम नलाग्ने भएको थियो र दुईवटा त आफ्नो कक्षमै पुग्न सकेका थिएनन् ।
सबैभन्दा ठुलो धक्का सन् २०२५ को जनवरीमा लाग्यो । जब NVS-02 स्याटलाइट प्रक्षेपण गरिए पनि आफ्नो गन्तव्य कक्षमा पुग्न सकेन । एक सानो विद्युतीय खराबीका कारण इन्जिन समयमै नचल्दा उक्त स्याटलाइट अलपत्र परेको थियो ।
भारतको महालेखा परीक्षकको सन् २०१८ को प्रतिवेदन अनुसार सरकारले सन् २००६ मै कन्जुमर रिसिभरहरू विकास गर्न २०० करोड भारु दिए पनि काम सन् २०१७ मा मात्र सुरु भएको थियो । जसले गर्दा धेरै स्याटलाइटहरूको 'मिसन लाइफ' खेर गयो ।
हाल यो प्रणाली सङ्कटमा परेसँगै यसमा आधारित कयौँ महत्त्वपूर्ण सेवाहरू जोखिममा परेका छन् । ८,७०० वटा रेलहरूले रियल-टाइम ट्र्याकिङका लागि नाभिक प्रयोग गरिरहेका छन् । विपद् व्यवस्थापनका अलर्टहरू, सामुद्रिक नेभिगेसन र सवारी साधन ट्र्याकिङ सेवाहरू समेत यसबाट प्रभावित हुने देखिएका छन् ।
केन्द्रीय मन्त्री जितेन्द्र सिंहले संसदमा दिएको जानकारी अनुसार इसरोले सन् २०२६ को अन्त्यसम्ममा कम्तीमा तीनवटा नयाँ स्याटलाइटहरू प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । भारतले यसलाई विश्वव्यापी द्वन्द्वको समयमा विदेशी जीपीएसमा निर्भर हुन नपरोस् भन्ने फल ब्याक सिस्टमको रूपमा विकास गर्न खोजिरहेको छ ।
पछिल्लो अध्यावधिक: चैत २, २०८२ ९:४८
