close

भ्युज बढाएर कन्टेन्ट मनिटाइजबाट पैसा कमाउने लोभले ठगिँदै प्रयोगकर्ता, सचेत रहन प्रहरीको आग्रह

टेकपाना टेकपाना

चैत २, २०८२ १४:२५

भ्युज बढाएर कन्टेन्ट मनिटाइजबाट पैसा कमाउने लोभले ठगिँदै प्रयोगकर्ता, सचेत रहन प्रहरीको आग्रह

काठमाडौँ । पछिल्लो समय फेसबुक पेज तथा प्रोफाइल मनिटाइज (आम्दानी हुने व्यवस्था) गरी पैसा कमाउने होडबाजी चल्दा ‘भ्युज’ बढाउने बहानामा सर्वसाधारण ठगिने क्रम बढेको छ । यसरी भ्युज बढाइदिने भन्दै पैसा लिएर सम्पर्क विहीन हुने स्क्यामरको बिगबिगी बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार फेसबुकले कन्टेन्ट मनिटाइजेसनको सुविधा दिएपछि छोटो समयमै भ्युज बढाएर आम्दानी गर्न सर्वसाधारणले सामाजिक सञ्जालमा ‘बुस्ट’ गरिदिने व्यक्ति वा अकाउन्ट खोज्ने गरेका छन् । “भ्युज बढाउन शुल्क तिरेर बुस्ट गर्नेहरू हुन्छन्,” एसपी भट्टराईले भने, “ठगहरूले पहिला पैसा पठाउन लगाउने र रकम हात पारेपछि सम्पर्क विहीन हुने गरेका छन् ।”

यस प्रकारको ठगीमा विशेषगरी कन्टेन्ट मनिटाइज भएका प्रयोगकर्ता र साना व्यवसाय गर्दै आएका व्यवसायी बढी पर्ने गरेका छन् । फेसबुकले आम्दानीका लागि निश्चित भ्युजको टार्गेट दिएको हुन्छ, जसलाई छिट्टै पुरा गर्न प्रयोगकर्ताले बुस्टको सहारा लिने गर्छन् ।

नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई अधिकतम एक वर्षमा ५०० डलरसम्म मात्र विदेशी मुद्रा खर्च गर्न सक्ने (डलर कार्डको) सुविधा दिएको छ । सो रकमको सीमा सकिएपछि प्रयोगकर्ताले थर्ड पार्टी मार्फत आफ्नो पेज वा कन्टेन्ट बुस्ट गर्न खोज्दा ठगको फन्दामा पर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार यस ठगीमा एकै पटक ठुलो रकम नगुमे पनि थोरै-थोरै रकम गुमाउने सयौँ सेवाग्राही रहेका छन् । एसपी भट्टराई भन्छन्, “बढीमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म ठगिनेहरू सयौँको सङ्ख्यामा हुनुहुन्छ । पीडितहरूले त अहिले छुट्टै समूह नै बनाउनुभएको छ । यसबाट बच्न सचेत हुनुको विकल्प छैन ।”

यस्ता अनलाइन ठगीका घटनाबाट जोगिन प्रहरीले सावधानी अपनाउन अपिल गरेको छ । अपरिचित व्यक्ति वा पेजको विश्वासमा परेर रकम नपठाउन र पठाउनै पर्ने अवस्था आएमा त्यसको विश्वसनीयता सुनिश्चित गरेर आवश्यक प्रमाण राखेर मात्र कारोबार गर्न एसपी भट्टराईले सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: चैत २, २०८२ १४:२६