close

रास्वपा सांसद थापाको विजयोत्सव मनाउन ड्रोनबाट माला लगाउन खोज्दा भएको थियो दुर्घटना, अपुरो भिडिओ भाइरल

टेकपाना टेकपाना

चैत २, २०८२ १९:२१

रास्वपा सांसद थापाको विजयोत्सव मनाउन ड्रोनबाट माला लगाउन खोज्दा भएको थियो दुर्घटना, अपुरो भिडिओ भाइरल

काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अबिर र मालाले सजिएका एक व्यक्तिलाई ड्रोनमार्फत माला लगाउन खोजिएको एउटा भिडिओ भाइरल भइरहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को नतिजा सार्वजनिक भई निर्वाचित सदस्य घोषणा भइसकेको अवस्थामा धेरैले ती व्यक्ति विजयी उम्मेदवार भएको अनुमान गर्दै उक्त भिडिओमा आ-आफ्नो धारणा राखिरहेका छन् । तर, भाइरल भइरहेको २४ सेकेन्डको उक्त भिडिओ अपुरो रहेको पाइएको छ ।

यो भिडिओ कहिलेको, कहाँको र कुन सन्दर्भको हो भनेर खोज्ने क्रममा केही फेसबुक पेजले ती व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भएको उल्लेख गरे पनि नाम भने खुलाएका थिएनन् । थप विवरण खोज्दै जाँदा ती व्यक्ति सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका विजेता उम्मेदवार लालविक्रम थापा रहेको पुष्टि भएको छ ।

भिडिओको वास्तविक तथ्य सांसद थापाकै विजयी र्‍यालीमा पुगेका गणेशप्रसाद मेहताले अपलोड गरेको अर्को भिडिओबाट खुलेको हो । मेहताले १० मार्च २०२६ (२६ फागुन २०८२) मा अपलोड गरेको २ मिनेट १८ सेकेन्ड लामो भिडिओ अहिले भाइरल भइरहेको भन्दा फरक एङ्गलबाट खिचिएको छ ।

मेहताले उक्त भिडिओको क्याप्सनमा लेखेका छन्, “सुनसरी जिल्लाको २ नं क्षेत्र प्रतिनिधि सभा सदस्य श्री लाल बिक्रम थापा ज्यु लाई देवान गंज गां पा लगायतका वडाहरू मा बधाई ज्ञापन तथा जितेको फुलमाला लगाएर स्वागत गर्दै देवान गंज गा पा को जेएनजी एवं समर्थकहरूले”

मेहताले राखेको पूरा भिडिओमा ड्रोनमा रास्वपाको झण्डा फहराइएको र त्यही ड्रोनमा माला अड्काएर सांसद थापालाई लगाइदिन खोजिएको स्पष्ट देखिन्छ । तर, ड्रोनबाटै माला लगाउन नसकेपछि त्यहीँ रहेका एक व्यक्तिले ड्रोनबाट माला निकाल्छन् । माला निकालेलगत्तै ड्रोन दुर्घटनामा पर्छ ।

यता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा भने ड्रोनको सहायताले माला उडाइएको र लगाउन खोजिएको दृश्य मात्र देखाइएको छ, दुर्घटनाको दृश्य भने राखिएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद थापाले विजयोत्सव कार्यक्रममा ड्रोनमार्फत माला लगाउन खोजेको भिडिओलाई लिएर नकारात्मक प्रतिक्रिया बढी आइरहेका छन् । पुराना राजनीतिक दल र तिनको नेतृत्वबाट आजित भएका नागरिकले नयाँ पुस्ताको पार्टी मानिएको रास्वपालाई अभूतपूर्व साथ दिँदै कुल २७५ मध्ये १८२ सिटमा सफलता दिलाएका थिए । तर, पार्टी केन्द्रले ‘विजयोत्सव नै नमनाउन’ निर्देशन दिएको अवस्थामा सांसद थापाले देखाएको तडकभडकलाई बेतुकको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

नयाँ माहोलमा नयाँ भनिएका सांसदकै यस्तो शैली देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोखेका छन् भने केहीले यो शैलीलाई लिएर व्यङ्ग्य गरेका छन् । केही प्रयोगकर्ताले प्रविधिको दुरुपयोगमाथि व्यङ्ग्य गर्दै ‘अब देश विकास यसरी नै हुनेछ, हातले होइन ड्रोनबाट माला लगाएर देशको पैसा खर्च गर्दै प्रविधिको गज्जब प्रयोग भइरहेको छ’ भन्दै आलोचना गरेका छन् । त्यसैगरी ‘ढुङ्गा बोकेर वा बेल्चा र गैंती चलाएर निर्माणको काम हुँदैन, यसरी नै प्रविधि भित्र्याएर मात्र देशको विकास तीव्र रूपमा हुन्छ’ भन्दै सांसदको कदमलाई उडाइएको छ ।

यसबाहेक यस्ता गतिविधिले समग्र पार्टीको भविष्यमाथि नै प्रश्न उठाएको भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् । ‘यस्तै नमुनाहरूले गर्दा घण्टी पार्टी सिद्धिने भयो, जनताका प्रतिनिधि भनिएकाको यस्तो हालिमुहाली अझै कति हेर्न बाँकी छ’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । जनअपेक्षासहित उदाएको नयाँ शक्तिले पुरानै प्रवृत्तिको देखावटीपन र तडकभडक प्रस्तुत गरेको भन्दै सांसद थापाको यो कदमलाई ‘बेतुकको कार्य’ को संज्ञा दिइएको छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०८२ १९:२१