काठमाडौँ । स्मार्टफोन उत्पादक कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो मोबाइल डिभिजनमा 'आपत्कालीन व्यवस्थापन' (Emergency Management) मोड लागु गरेको छ। अचम्मको कुरा के छ भने, यो निर्णय कम्पनीको नयाँ ग्यालेक्सी एस-२६ सिरिजले प्रि-अर्डरमा ऐतिहासिक सफलता पाइरहेको समयमा आएको हो ।
सामसङको ग्यालेक्सी एस-२६ सिरिजको प्रि-अर्डर अघिल्लो वर्षको एस-२५ को तुलनामा दोहोरो अङ्कले बढेको छ । अमेरिकामा मात्र यसको प्रि-अर्डरमा २५ प्रतिशतको वृद्धि देखिएको छ । विशेषगरी ग्यालेक्सी एस-२६ अल्ट्रा मोडेल र यसमा रहेको 'प्राइभेसी डिस्प्ले' फिचरलाई ग्राहकहरूले निकै रुचाएका छन् ।
तर यो उत्साहजनक बिक्रीका बाबजुद कम्पनीभित्र गम्भीर आर्थिक सङ्कटको बादल मडारिएको छ । सामसङको मोबाइल एक्सपिरियन्स (MX) डिभिजनको सञ्चालन नाफा मार्जिन सन् २०२५ को पहिलो त्रैमासिकमा ११ प्रतिशत रहेकोमा सन् २०२६ को सोही अवधिमा घटेर करिब ३ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । यो नाफा अझै घटेर १ देखि २ प्रतिशतमा सीमित हुन सक्ने वा कम्पनीले इतिहासमै पहिलो पटक सञ्चालन घाटा ब्यहोर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ ।
एआई डेटा सेन्टरहरूको बढ्दो मागका कारण स्मार्टफोनमा प्रयोग हुने र्यामको मूल्यमा ८५० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । यसलाई प्रविधि क्षेत्रमा 'र्यामागेडन' (RAMageddon) को संज्ञा दिन थालिएको छ । र्याम मात्र नभई डिस्प्ले र चिपसेट जस्ता अन्य पार्टपुर्जाको मूल्य पनि आकासिएको छ ।
अर्कोतपर्फ मध्यपूर्वमा जारी इजरायल-इरान द्वन्द्वका कारण तेलको मूल्य बढेको छ । जसले गर्दा विश्वव्यापी ढुवानी लागतमा ठुलो भार थपिएको छ ।
यो सङ्कट टार्न सामसङले निकै कठोर कदमहरू चाल्न सुरु गरेको छ । कम्पनीको डिभाइस एक्सपिरियन्स (DX) डिभिजनले आफ्ना सबै एकाइहरूलाई खर्चमा ३० प्रतिशत कटौती गर्न निर्देशन दिएको छ ।
यसअन्तर्गत कर्मचारी र अधिकारीहरूको सुविधामा पनि व्यापक कटौती गरिएको छ । अबदेखि उपाध्यक्ष (भीपी) तहभन्दा मुनिका सबै कार्यकारीहरूले १० घण्टाभन्दा छोटो व्यावसायिक हवाई यात्रामा 'बिजनेस क्लास' को सट्टा 'इकोनोमी क्लास' मा यात्रा गर्नुपर्ने नियम बनाइएको छ । साथै कम्पनीले केही कर्मचारीहरूलाई अन्य विभागमा स्थानान्तरण गर्ने र केहीलाई स्वैच्छिक अवकाशका लागि प्रोत्साहन गर्ने तयारी समेत गरेको छ ।
बढ्दो लागतलाई सन्तुलनमा राख्न सामसङले ग्यालेक्सी एस-२६ र एस-२६ प्लसको मूल्यमा १०० डलरको वृद्धि गरिसकेको छ । यद्यपि एस-२६ अल्ट्राको मूल्य भने हाललाई स्थिर राखिएको छ, तर यसले कम्पनीको मुनाफामा थप दबाब सिर्जना गरेको छ ।
सामसङ जस्तो विशाल कम्पनीले यस्तो 'इमर्जेन्सी मोड' घोषणा गर्नु स्मार्टफोन उद्योगकै लागि चिन्ताको विषय हो । यदि विश्वकै नम्बर वन एन्ड्रोइड ब्रान्डले यस्तो आर्थिक दबाब महसुस गरिरहेको छ भने साना स्मार्टफोन कम्पनीहरूको अवस्था झनै नाजुक हुन सक्ने अनुमान गरिएको छ । प्रविधिको विकास र एआईको होडबाजीले गर्दा उपभोक्ताका लागि आगामी दिनमा स्मार्टफोनहरू अझ महँगो हुन सक्ने देखिन्छ ।
पछिल्लो अध्यावधिक: चैत ३, २०८२ १०:२१
