स्क्याम विरुद्ध प्रविधि कम्पनी एकताबद्ध, स्क्याम रोकथामलाई राष्ट्रिय प्राथमिकता घोषणा गर्न आग्रह
चैत ३, २०८२ ५:३३
काठमाडौँ । अस्ट्रियाको राजधानी भियनामा आयोजित संयुक्त राष्ट्र सङ्घको 'ग्लोबल फ्रड समिट २०२६' मा विश्वका प्रमुख प्रविधि कम्पनीहरूले अनलाइन ठगी र स्क्याम विरुद्ध लड्न एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । 'इन्डस्ट्री एकर्ड अगेन्स्ट अनलाइन स्क्याम्स एण्ड फ्रड' (Industry Accord Against Online Scams & Fraud) नाम दिइएको यो स्वेच्छिक सम्झौतामा गुगल, मेटा, माइक्रोसफ्ट, अमेजन र ओपनएआई जस्ता ११ वटा ठुला कम्पनीहरूले प्रतिबद्धता जनाएका छन् ।
यो सम्झौता यस्तो समयमा आएको छ, जब अनलाइन ठगीहरू सामान्य घटनाबाट विकसित भएर अत्यन्त परिष्कृत, विश्वव्यापी र सङ्गठित आपराधिक सञ्जालको रूपमा देखा परेका छन् । यी आपराधिक सञ्जालहरूले मानिसहरूलाई ठुलो आर्थिक र भावनात्मक क्षति पुऱ्याइरहेका छन् । इन्टरपोलको तथ्याङ्क अनुसार गएको एक वर्षमा मात्रै विश्वभरका उपभोक्ताहरूले स्क्यामरहरूका कारण करिब ४४२ अर्ब अमेरिकी डलर गुमाएका थिए ।
यो सम्झौतामा हस्ताक्षर गर्ने ११ कम्पनीहरूमा गुगल, मेटा, माइक्रोसफ्ट, अमेजन, ओपनएआई, एडोबी), लिङ्क्डइन, म्याच ग्रुप, पिन्ट्रेस्ट, लेभी स्ट्रस एण्ड को र टार्गेट रहेका छन् । सम्झौताले अनलाइन सुरक्षालाई मजबुत बनाउन चारवटा मुख्य लक्ष्यहरू निर्धारण गरेको छ ।
जसअनुसार रोकथामको रूपमा प्रोएक्टिभ सुरक्षा सुविधाहरू, एआई द्वारा सञ्चालित पहिचान प्रणाली र स्पष्ट प्रयोग नीतिहरू विकास गरिनेछ । दोस्रो सहयोग र सामूहिक सिकाईको रूपमा उद्योग र कानुन प्रवर्तन निकायहरू बीच जानकारी र खतराका सङ्केतहरू (Threat Intelligence) शेयर गर्ने र तेस्रोमा लचकता (Resilience) अन्तर्गत नयाँ र विकसित हुँदै गरेका खतराहरू विरुद्ध छिटो र समानुपातिक प्रतिक्रिया दिने विषय समेटिएको छ । चौथो उपायको रूपमा जनतालाई डिजिटल साक्षरता र स्क्याम चिन्न सिकाउने तथा जनचेतना शिक्षा दिने विषय रहेको छ ।
मेटाका अनुसार कम्पनीले आफ्ना विभिन्न प्लेटफर्महरूमा नयाँ सुरक्षा उपकरणहरू थपिरहेको छ । फेसबुकमा शङ्कास्पद 'फ्रेन्ड रिक्वेस्ट' का लागि चेतावनी, ह्वाट्सएपमा डिभाइस लिङ्किङ गर्दा हुनसक्ने ठगीबारे सचेत गराउने र मेसेन्जरमा एड्भान्स स्क्याम डिटेक्सन प्रणाली लागु गरिँदैछ । मेटाले सन् २०२५ मा मात्रै १५ करोड ९० लाख भन्दा बढी स्क्याम विज्ञापनहरू हटाएको र १० करोड ९ लाख आपराधिक अकाउन्ट बन्द गरिएको जानकारी दिएको छ ।
त्यस्तै गुगलले आफ्नो 'ग्लोबल सिग्नल एक्सचेन्ज' (Global Signal Exchange) लाई विस्तार गर्ने घोषणा गरेको छ । यसले कम्पनीहरूलाई एकअर्कासँग प्राविधिक क्षमता र विशेषज्ञता साटासाट गर्न मद्दत गर्नेछ । गुगलले सन् २०२६ मा डेटा शेयरिङ र कानुन प्रवर्तन निकायहरूलाई सहयोग गर्ने सम्बन्धी निर्देशिकाहरू पनि जारी गर्ने योजना बनाएको छ ।
यो सम्झौता स्वैच्छिक भए पनि यसले सरकारहरूलाई महत्त्वपूर्ण कदम चाल्न आग्रह गरेको छ । प्रविधि कम्पनीहरूले सरकारहरूलाई स्क्याम रोकथामलाई राष्ट्रिय प्राथमिकता घोषणा गर्न, कानुन प्रवर्तनका लागि पर्याप्त बजेट छुट्याउन र सीमापार सूचना आदानप्रदानलाई सहज बनाउन आह्वान गरेका छन् । साथै 'गुड समरिटन' (Good Samaritan) नीति मार्फत असल नियतले ठगी रोक्न खोज्ने कम्पनीहरूलाई कानुनी सुरक्षा प्रदान गर्न पनि माग गरिएको छ ।
स्क्यामरहरूले प्रायः एउटा मात्र एप प्रयोग नगरी धेरै प्लेटफर्महरू (जस्तै सामाजिक सञ्जालबाट सम्पर्क सुरु गरेर डेटिङ एप वा क्रिप्टो प्लेटफर्ममा लैजाने) प्रयोग गर्ने भएकाले यस्तो सामूहिक प्रयास अनिवार्य देखिएको हो । यद्यपि, यो सम्झौता पालना नगर्दा कुनै जरिबानाको व्यवस्था नभएकोले यसको प्रभावकारिता कम्पनीहरूको वास्तविक सक्रियता र उत्पादनमा आउने परिवर्तनमा निर्भर रहनेछ ।
यो शिखर सम्मेलन अस्ट्रियाको भियनामा १६ र १७ मार्च, २०२६ मा आयोजना गरिएको थियो । जसमार्फत् संयुक्त राष्ट्र सङ्घ र इन्टरपोलले विश्वव्यापी सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ ६:३१
