भारतको इन्दोरमा ईभी चार्जिङ प्वाइन्ट विस्फोट हुँदा आवासीय भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु
चैत ४, २०८२ ११:२९
काठमाडौँ । भारतको मध्य प्रदेश राज्यस्थित इन्दोरमा इलेक्ट्रिक कार चार्ज गरिरहेको अवस्थामा विस्फोट हुँदा ठुलो दुर्घटना निम्तिएको छ । बुधबार बिहान इन्दोरको 'बंगाली स्क्वायर' नजिकै रहेको ब्रजेश्वरी एनेक्स कोलोनी स्थित तीन तले आवासीय भवन बाहिर बिस्फोटपछि आगलागी भएको थियो ।
यसबाट निम्तिएको भीषण आगलागीमा परेर एकै परिवारका सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरी अधिकारीहरूका अनुसार यो घटना बिहान ३:३० देखि ४:३० बजेको बीचमा भएको हो । भारतीय सञ्चार माध्यमहरूले इन्दोरका प्रहरी कमिश्नर सन्तोष कुमार सिंहलाई उद्धृत गर्दै घर बाहिर पार्किङ गरिएको एउटा इलेक्ट्रिक कार चार्ज भइरहेको र चार्जिङ प्वाइन्टमा अचानक विस्फोट भएपछि कारमा सल्किएको आगोले तुरुन्तै पूरै घरलाई आफ्नो चपेटामा पारेको उल्लेख गरेका छन् ।
घरभित्र भण्डारण गरिएका करिब १० वटा खाना पकाउने ग्यास सिलिन्डरका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । आगो लागेपछि तीमध्ये केही सिलिन्डरहरू पनि विस्फोट भएका थिए । जसले गर्दा स्थिति अझ भयावह बनेको उल्लेख छ । प्रहरी टोलीले घटनास्थलमा २ देखि ३ पटक ठुला विस्फोटका आवाजहरू सुनिएको बताएको छ ।
समाचार अनुसार घरको ढोकामा जडान गरिएका इलेक्ट्रोनिक लकहरू उद्धार कार्यमा सबैभन्दा ठुलो बाधक बनेको बनेका छन् । अधिकारीहरूका अनुसार आगलागीका कारण विद्युत् आपूर्ति बन्द भएपछि ती लकहरू खुल्न सकेनन्, जसले गर्दा मानिसहरू भित्रै थुनिएका थिए । प्रहरी कमिश्नर सिंहले भनेका छन्, "घरभित्र रहेका मानिसहरू बाहिर निस्कन खोजेका थिए, तर इलेक्ट्रोनिक लक नखुलेका कारण उनीहरू भित्रै फसेको देखिन्छ ।"
आगलागीको समयमा घरभित्र करिब १० जना मानिस रहेको बताइएको छ । वारुणयन्त्र र आपत्कालीन टोलीले छिमेकी भवनबाट भित्र पसेर उद्धार सुरु गरेका थिए । उद्धार टोलीले सुरुमा तीन जनालाई सुरक्षित बाहिर निकाल्न सफल भए पनि अन्य धेरै जना सुत्ने कोठामा फसेका थिए ।
महात्मा गान्धी मेमोरियल मेडिकल कलेजका डीन डा. अरविन्द घन्घोरियाले अस्पताल ल्याइएका सातै जनाको मृत्यु धुवाँका कारण निसास्सिएर भएको पुष्टि गरेका छन् । आगलागीमा परेर तीन जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप एक बच्चा हराइरहेको रिपोर्ट आएको र खोजी कार्य जारी रहेको एसीपी कुन्दन मण्डलोईले बताएका छन् ।
यस घटनापछि आवासीय क्षेत्रमा ईभी चार्जिङ प्वाइन्टहरूको सुरक्षालाई लिएर ठुलो बहस सुरु भएको छ । राज्य मन्त्री कैलाश विजयवर्गीयले घटनास्थलको भ्रमण गर्दै यस घटनालाई 'ईभी युगका लागि एक डरलाग्दो चेतावनी' भनेका छन् । उनले प्रहरी कमिश्नरलाई ईभी चार्जिङका लागि 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर' (एसओपी) तयार गर्न एक विशेषज्ञ समिति गठन गर्न निर्देशन दिएको बताइएको छ ।
प्रहरीले घरभित्र एलपीजी सिलिन्डरबाहेक अन्य प्रज्वलनशील पदार्थ पनि हुन सक्ने आशङ्का गरेको छ र यसबारे विस्तृत अनुसन्धान भइरहेको छ । दमकलकर्मीहरूले निकै प्रयासपछि आगोलाई नियन्त्रणमा लिएर छिमेकी घरहरूमा फैलिनबाट जोगाएका थिए ।
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ ११:२९
