close

अमेरिका र इजरायललाई चुनौती दिन इरानलाई स्याटलाइट तस्विर र ड्रोन प्रविधि उपलब्ध गराउँदै रुस

टेकपाना टेकपाना

चैत ५, २०८२ ७:५२

अमेरिका र इजरायललाई चुनौती दिन इरानलाई स्याटलाइट तस्विर र ड्रोन प्रविधि उपलब्ध गराउँदै रुस

काठमाडौँ । रुसले इरानसँगको आफ्नो गुप्तचर जानकारी र सैन्य सहयोग विस्तार गरेको खबर सार्वजनिक भएको छ । रुसले इरानलाई स्याटलाइट तस्विरहरू र सुधारिएको ड्रोन प्रविधि उपलब्ध गराएर यस क्षेत्रमा रहेका अमेरिकी सेनाहरूलाई लक्षित गर्न मद्दत गरिरहेको समाचार द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको हो ।

समाचार अनुसार रुसले आफ्नो सबैभन्दा नजिकको मध्यपूर्वी साझेदार इरानलाई अमेरिकी र इजरायली सैन्य शक्ति विरुद्धको लडाइँमा टिकाइराख्न र यो युद्धलाई लम्ब्याउन खोजिरहेको छ । जसबाट रुस स्वयँलाई सैन्य र आर्थिक रूपमा फाइदा पुगिरहेको छ ।

रुसले इरानलाई परिमार्जित शाहेद ड्रोनका पाटपुर्जा उपलब्ध गराइरहेको छ । जसको उद्देश्य सञ्चार, नेभिगेसन र लक्ष्य निर्धारण प्रणालीमा सुधार ल्याउनु हो । एक वरिष्ठ युरोपेली गुप्तचर अधिकारीका अनुसार रुसले युक्रेनमा ड्रोन प्रयोग गर्दाको आफ्नो अनुभवको आधारमा इरानलाई रणनीतिक मार्गदर्शन समेत दिइरहेको छ । यसमा कति सङ्ख्यामा ड्रोनहरू प्रयोग गर्ने र कुन उचाइबाट आक्रमण गर्ने भन्ने जस्ता सल्लाहहरू समेत समावेश छन् ।

द वाल स्ट्रिट जर्नलका अनुसार रुसले इरानलाई मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बल र उनीहरूका क्षेत्रीय सहयोगीहरूको अवस्थितिको बारेमा जानकारी दिँदै आएको छ । युद्धको सुरुवाति दिनदेखि नै यो सहयोग अझ गहिरो पारेको रुसले हालैका दिनहरूमा सिधै इरानलाई स्याटलाइट इमेजरी समेत उपलब्ध गराउन थालेको हो ।

यो सहयोग अमेरिका र युरोपेली सहयोगीहरूले विगतका वर्षहरूमा युक्रेनलाई दिएको गुप्तचर सहायता जस्तै प्रकृतिको भएको विश्लेषण गरिएको छ । मस्कोको यो सहायताले इरानलाई हालै जोर्डनमा रहेको 'थाड' (THAAD - Terminal High Altitude Area Defense) प्रणालीको ‘अर्लि वार्निङ राडार’का साथै बहराइन, कुवेत र ओमानका अन्य लक्ष्यहरूमा प्रहार गर्न मद्दत गरेको विश्वास गरिन्छ ।

स्याटलाइटबाट प्राप्त हुने तस्बिरहरूले जमिन र समुद्रमा आधारित लक्ष्यहरूको वस्तुस्थितिका बारेमा विस्तृत जानकारी प्रदान गर्छन् । जसले आक्रमण अघिको लक्ष्य निर्धारण र आक्रमण पछिको क्षति मूल्याङ्कनमा ठुलो मद्दत पुर्‍याउँछ । पूर्व सीआईए विश्लेषक जिम ल्यामसनका अनुसार यदि रुसले उपलब्ध गराएका तस्विरहरूमा विशिष्ट प्रकारका विमान, गोलाबारुद भण्डारण स्थल, वायु रक्षा सम्पत्ति र नौसैनिक गतिविधिका विवरणहरू छन् भने त्यसले इरानी सैन्य क्षमतालाई ठुलो बल पुग्छ ।

यो डेटा रुसी एयरोस्पेस फोर्सेस (VKS) द्वारा व्यवस्थित स्याटलाइटहरूको समूहबाट प्राप्त हुन्छ । विश्लेषकहरूका अनुसार इरानको हालैको आक्रमण गर्ने शैली रुसले युक्रेनमा अपनाएको रणनीतिको प्रतिविम्ब जस्तै देखिन्छ । जसमा मिसाइल प्रहार गर्नुअघि राडारलाई ओझेलमा पार्न ड्रोनको प्रयोग गरिन्छ ।

रुसले यस विषयमा तत्काल कुनै टिप्पणी गरेको छैन । रुससँग वार्ताको नेतृत्व गरेका अमेरिकी विशेष दूत स्टिभ विट्कफका अनुसार रुसले इरानलाई यस्तो गुप्तचर सहयोग दिएको कुरालाई अस्वीकार गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्पले मस्कोले इरानलाई 'थोरै' सहयोग गरिरहेको हुन सक्ने धारणा व्यक्त गरेका छन् ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले भने बाह्य सहयोगले अमेरिकी परिचालन सफलतामा कुनै असर नगरेको दाबी गर्दै अमेरिकी सेनाले ७,००० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरेको र इरानका १०० भन्दा बढी नौसैनिक जहाज नष्ट गरेको बताएकी छिन् । उनका अनुसार यसले इरानको मिसाइल आक्रमण ९०% र ड्रोन आक्रमण ९५% ले घटेको छ ।

रुस र इरानबिच औपचारिक सैन्य गठबन्धन नभए पनि प्रमुख सैन्य आपूर्तिकर्ता र साझेदार बनेको छ । युक्रेनमा रुसी आक्रमणपछि यो सम्बन्ध अझ बलियो भएको हो । दुवै देशले सैन्य सिकाइ आदानप्रदान गर्न कार्यदलहरू नै बनाएका छन् र नियमित तालिमहरू सञ्चालन गरिरहेका छन् । रुसले इरानको हालैको एउटा स्याटलाइट प्रणाली निर्माण र प्रक्षेपणमा समेत सहयोग गरेको थियो ।

इरानले रुसलाई युक्रेन युद्धका लागि शाहेद ड्रोनहरू आपूर्ति गरेको थियो । युक्रेनका अनुसार रुसले युद्ध सुरु भएदेखि ५७,००० भन्दा बढी शाहेद ड्रोनहरू प्रयोग गरिसकेको छ । अहिले रुसले यी ड्रोनहरू आफ्नै देशमा उत्पादन गर्न थालेको छ र इलेक्ट्रोनिक वारफेयर जामिङ सहन सक्ने गरी विकास गरिएका नयाँ प्रविधिहरू पुनः इरानलाई उपलब्ध गराइरहेको छ ।

रुसको यो सहयोग केही हदसम्म युक्रेनको आफ्नै द्वन्द्व र ट्रम्प प्रशासनलाई चिढ्याउन नचाहने उद्देश्यले सीमित रहेको विश्लेषक जिम ल्यामसनले बताएका छन् । र्‍यान्ड (Rand) का साम्युएल चारापका अनुसार रुसले यसलाई अमेरिकाले युक्रेनमा दिइरहेको सहयोगको बदलाको रूपमा हेरेको छ ।

यो युद्धले रुसी अर्थतन्त्रलाई पनि फाइदा पुर्‍याएको छ । हर्मुज स्ट्रेट (Strait of Hormuz) बन्द हुने आशङ्काले तेलको मूल्य बढेको छ, जुन रुसी अर्थतन्त्रको मेरुदण्ड हो । साथै यस युद्धले युक्रेनलाई आवश्यक पर्ने अमेरिकी वायु रक्षा इन्टरसेप्टरहरूको मौज्दात पनि घटाइरहेको छ । यद्यपि इरानमा सत्ता परिवर्तन भएमा रुसका लागि जोखिम पनि उत्तिकै छ । तर अहिलेका लागि रुसले वाशिङ्टनलाई आफ्नो रणनीतिक प्रतिद्वन्द्वी मान्दै इरानलाई सहयोग गरिरहेको हो 

 

पछिल्लो अध्यावधिक: चैत ५, २०८२ ७:५२