close

अब ट्यालेन्ट कनेक्ट्स एचआर प्लेटफर्म र फ्युजमसिनको एआई इन्टरभ्यु एजेन्टले मिलेर काम गर्ने

टेकपाना टेकपाना

चैत ६, २०८२ ८:२

अब ट्यालेन्ट कनेक्ट्स एचआर प्लेटफर्म र फ्युजमसिनको एआई इन्टरभ्यु एजेन्टले मिलेर काम गर्ने

काठमाडौँ । एजेन्टिक एआई प्रविधि प्रदायक फ्युजमसिन्स इंकले भर्ना तथा मानव संसाधन (एचआर) व्यवस्थापन प्लेटफर्म ट्यालेन्ट कनेक्ट्ससँग एक महत्त्वपूर्ण साझेदारी गरेको छ । ट्यालेन्ट कनेक्ट्सले फ्युजमेसिन्सको इन्टरभ्यु एजेन्टलाई आफ्नो प्लेटफर्ममा एकीकृत गर्ने योजनाका साथ यो सहकार्य थालिएको हो ।

यसबाट विश्वभरका ३०० भन्दा बढी व्यावसायिक ग्राहकहरू लाभान्वित हुनेछन् । फ्युजमसिन्सको इन्टरभ्यु एजेन्टलाई अन्तर्वार्ताको समयमा रिक्रुटर्स र हायरिङ म्यानेजरहरूलाई सहयोग पुर्‍याउने गरी डिजाइन गरिएको छ । यो एआई उपकरणले अन्तर्वार्ताको क्रममा सान्दर्भिक प्रश्नहरू सोध्न सुझाव दिने, उम्मेदवारका प्रतिक्रियाहरूको मूल्याङ्कन गर्ने, रियलटाइम उम्मेदवारको उत्तरलाई अङ्क (scoring) प्रदान गर्ने र अन्तर्वार्ताको समग्र पर्फर्मेन्सको विस्तृत विश्लेषण र मूल्याङ्कन उपलब्ध गराउने कार्य गर्दछ ।

यो प्रविधिको प्रयोगले संस्थाहरूलाई थप व्यवस्थित, सुसङ्गत र प्रभावकारी अन्तर्वार्ता लिन मद्दत पुग्ने अपेक्षा गरिएको छ । जसले गर्दा नियुक्तिका लागि टिमहरूले छिटो र सही निर्णयहरू लिन सक्नेछन् ।

यो सहकार्यले फ्युजमसिन्सको एआई-सञ्चालित इन्टरभ्यु इन्टेलिजेन्सलाई ट्यालेन्ट कनेक्ट्सको हायरिङ वर्कफ्लोमा सहज पहुँच दिइने
छ । फ्युजमसिन्सका सीईओ समीर मास्केले यो सहकार्यले सयौँ संस्थाहरूलाई उनीहरूको भर्ना प्रक्रियामा एआई इन्टेलिजेन्स समावेश गर्न सक्षम बनाउने र भविष्यमा मानव संसाधन व्यवस्थापनलाई रूपान्तरण गर्न थप एजेन्टहरू एकीकृत गर्दै लैजाने बताए ।

त्यस्तै ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले संस्थाहरूलाई आधुनिक उपकरणहरू मार्फत छिटो, स्मार्ट र प्रभावकारी बनाउनु नै आफ्नो कम्पनीको मिसन रहेको उल्लेख गर्दै यो सहकार्यले उम्मेदवार मूल्याङ्कन र अन्तर्वार्ताको गुणस्तरलाई बलियो बनाउने विश्वास व्यक्त गरे । दुवै कम्पनीले भविष्यमा भर्ना र एचआर वर्कफ्लोलाई अझ सुधार गर्न थप एआई क्षमताहरूको मूल्याङ्कन गर्ने योजना समेत बनाएका छन् ।

सन् २०१३ मा स्थापना भएको फ्युजमसिन्सले एआईको लोकतान्त्रीकरण (Democratizing AI) को लक्ष्यसहित विश्वभर एआई उत्पादन र सेवाहरू प्रदान गर्दै आएको छ । यसका कार्यालयहरू उत्तर अमेरिका, एसिया र ल्याटिन अमेरिकामा छरिएका छन् ।

ट्यालेन्ट कनेक्ट्स क्लाउडमा आधारित एक आवेदक ट्र्याकिङ सिस्टम (ATS) र ट्यालेन्ट व्यवस्थापन प्लेटफर्म हो । यसले विज्ञापन पोस्टिङदेखि उम्मेदवारको छनोट र अनबोर्डिङसम्मका प्रक्रियाहरूलाई सहज बनाउँछ । ट्यालेन्ट कनेक्ट्सको कार्यालय नेपाल र अमेरिकामा रहेको छ । यो कम्पनीले पहिलो सिजनको शार्क ट्याङ्क नेपालमार्फत रणनीतिक लगानी समेत प्राप्त गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८२ ८:२