close

देशव्यापी फोरजी विस्तार हुँदा पनि टुजी र थ्रिजीमै किन अल्झिए एनसेल र टेलिकमका लाखौँ ग्राहक ?

टेकपाना टेकपाना

चैत ६, २०८२ १४:३०

देशव्यापी फोरजी विस्तार हुँदा पनि टुजी र थ्रिजीमै किन अल्झिए एनसेल र टेलिकमका लाखौँ ग्राहक ?

काठमाडौँ । दूरसञ्चार कम्पनीहरूले देशव्यापी रूपमा आधुनिक चौथो पुस्ताको फोरजी सेवा विस्तार गरे पनि अझै लाखौँ ग्राहक भने पुरानै दोस्रो पुस्ताको टुजी वा तेस्रो पुस्ताको थ्रिजी सेवामै अल्झिएको पाइएको छ । यसले गर्दा ग्राहकहरू तीव्र गतिको इन्टरनेट र गुणस्तरीय कल सेवाबाट वञ्चित हुन पुगेका छन् ।

फोरजीको तुलनामा टुजी र थ्रिजीमा इन्टरनेटको गति ढिलो हुने, एप र भिडिओ लोड हुन बढी समय लाग्ने र स्ट्रिमिङ गर्दा बारम्बार बफरिङ हुने समस्या हुन्छ । साथै भ्वाइस कलहरू पनि थ्रिजी नेटवर्कमार्फत् हुने भएकाले कल कनेक्ट हुन ढिलो हुने र आवाजको गुणस्तर समेत अपेक्षाकृत रूपमा कम हुने समस्या रहन्छ ।

नेटवर्क, मोबाइल फोन र सिम सबै फोरजी भएपनि धेरै ग्राहकहरूले अझै त्यही टुजी वा थ्रिजी चलाइरहेको टेलिकम कम्पनीहरूको भनाई छ । टेलिकम कम्पनीहरूका अनुसार विशेषगरी काठमाडौं, मोरङ, झापा, सुनसरी, रूपन्देही, बारा, पर्सा, धनुषा र महोत्तरीलगायतका जिल्लाहरूमा यस्तो समस्या बढी देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत माघसम्ममा देशभर फोरजी सेवा लिएका ग्राहकको सङ्ख्या २ करोड ६४ लाख रहेको छ भने अझै पनि ७ लाखभन्दा बढी ग्राहकले थ्रिजी चलाइरहेका छन् ।

टुजी र थ्रिजी इन्टरनेट चलाउनेको सङ्ख्या जोड्ने हो भने १० लाख भन्दा बढी हुने बताइएको छ । थ्रिजी पुरानो प्रविधि भएकोले अहिले नेपाल टेलिकम र एनसेल दुवैले क्रमशः यो सेवा बन्द गर्दै जाने नीति लिइसकेका छन् ।

एनसेलका अनुसार कम्पनीका ग्राहकहरूको कनेक्टिभिटीको समस्यालाई थप खोतलेर हेर्दा धेरैजसो फोरजीमा अपग्रेड भइनसेकको पाइएको हो ।

नेपाल टेलिकम र एनसेलले नौ वर्ष अगाडि नै सञ्चालनमा ल्याएको फोरजी सेवा अहिले देशभर विस्तार भइसकेको छ । प्रयोगकर्ताले आफ्नो मोबाइलको सेटिङमा गई फोरजी वा एलटीई सेवा सजिलै अन गर्न सक्छन् ।

नेपाल टेलिकमले सूचना नै प्रकाशन गरी फोरजीमा अपग्रेड हुन आग्रह गरिसकेको छ । कम्पनीका अनुसार निकट भविष्यमा थ्रिजी सेवा क्रमशः बन्द गरी फोरजीमा रूपान्तरण गर्ने कार्य अघि बढिसकेको छ । साथै टुजी तथा थ्रिजी मात्र सपोर्ट गर्ने पुराना सिम प्रयोग गर्ने ग्राहकलाई सूचना स्वरूप मेसेज तथा सिस्टमबाट भ्वाइस कलमार्फत जानकारी दिने कार्य समेत भइरहेको छ ।

ग्राहकले आफ्नो पहिचान खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयत्र वा अन्य सरकारी प्रमाणपत्र साथमा लिएर नजिकैको कार्यालयमा गई निःशुल्क रूपमा फोरजी सिम लिन सक्नेछन् ।

मोबाइलमा फोरजी सेवा कसरी अन गर्ने ?

आईफोन तथा आईओएस प्रयोकर्ताले मोबाइलको सेटिङमा गएर सेलुलरलाई रोजेर सेलुलर डेटा अप्सनलाई सेलेक्ट गर्नु पर्ने हुन्छ । त्यसपछि स्क्रिनमा देखिएको भ्वाइस एन्ड डेटामा गएर एलटीई वा फोरजीमा क्लिक गर्नु पर्छ ।

त्यस्तृ एन्ड्रोइड तथा अन्य मोबाइलको हकमा प्रयोगकर्ताले आफ्नो सेटिङमा गएर कनेक्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि स्क्रिनमा देखिएको मोबाइल नेटवर्कलाई छानेर नेटवर्क टाइप अथवा नेटवर्क मोडमा गएर एलटीई वा फोरजी रोज्न सकिन्छ । यति गरेपछि सजिलै फोरजी सेवामा अपग्रेड हुन सकिन्छ ।

टेलिकमका प्रयोगकर्ताले *444# डायल गरेर तथा एनसेल प्रयोगकर्ताले  *324#  डायल गरेर फोरजी सेवा सक्रिय गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १४:३०