close

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई ‘कुखुरा’ बनाएको भिडिओ भाइरल, के हो वास्तविकता ?

टेकपाना टेकपाना

चैत ६, २०८२ १५:४६

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई ‘कुखुरा’ बनाएको भिडिओ भाइरल, के हो वास्तविकता ?

काठमाडौँ । शिक्षकले विद्यार्थीलाई ‘कुखुरा’ बनाएर सजाय दिएको एउटा भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडिओमा १२ जना छात्रलाई कक्षाकोठाभित्र दुई खुट्टाको बीचबाट हात छिराएर कान समात्न लगाइएको (कुखुरा बनाइएको) देखिन्छ । विद्यार्थीहरूले गृहकार्य नगरेका कारण शिक्षकले उनीहरूलाई त्यसरी सजाय दिएको भिडिओमा सुन्न सकिन्छ । 

भिडिओमा शिक्षकले भनेका छन्, “होमवर्क नगरी आउने हैन ? तिमीहरू कति जना छौ ? एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, १०, ११, १२... ओहो !”

भिडिओमा शिक्षकको हातमा दुईवटा लठ्ठी देखिन्छ र उनले विद्यार्थीहरूलाई ‘कुखुरा’ को पोजिसनमा राखिरहेका छन् ।  सजाय पाउने विद्यार्थीहरूले आकासे नीलो रङको सर्ट र नीलो प्यान्ट लगाएका छन् । एक विद्यार्थीले लगाएको ट्रयाकसुटको पछाडि ‘अन्तर ज्योति माध्यमिक विद्यालय’ लेखिएको देखिन्छ । सोही विद्यार्थीलाई लक्षित गर्दै शिक्षकले भनेका छन्, “ओई ओई ओई... ठाडो हो, ठाडो हो । के हो यसको नाम ? रिदम ! ओई, छाड्छस् ?” 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो भिडिओ गोरखाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. ६, डाँडागाउँस्थित श्री अन्तर ज्योति माध्यमिक विद्यालयको भएको दाबी गरेका छन् । ‘शिक्षा Hub’ नामक फेसबुक पेजले यो भिडिओ पोस्ट गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश नदिने उल्लेख गरेको छ । बिहीबार सार्वजनिक गरिएको उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “गृहकार्य नगरेको बहानामा गोरखाको बारपाक सुलीकोट- ६ डाडाँगाउँको श्री अन्तर ज्योति माध्यमिक विद्यालयको शिक्षकले विद्यार्थीलाई दिइएको सजायले सकारात्मक सन्देश दिएन गुरुहरुबाट यस्ता गतिविधि हामीले आशा गरेका छैनौ सम्बन्धित निकायको ध्यान जाओस् ..”  

उक्त भिडिओ अन्य कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका छन् । 

भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ । धेरैजसो प्रयोगकर्ताले गृहकार्य नगरेकै भरमा बालबालिकालाई मानसिक र शारीरिक सजाय दिनु गलत भएको र यसले उनीहरूको मनोविज्ञानमा गम्भीर असर पार्ने बताएका छन् । कतिपयले आफ्नो बाल्यकालको अनुभव सुनाएका छन् भने केहीले अनुशासनका लागि सामान्य सजाय आवश्यक हुने भन्दै शिक्षकको बचाउ समेत गरेका छन् । 

प्रधानाध्यापक भन्छन्: भिडिओ १८ महिना पुरानो हो

यो घटना गोरखाको बारपाक सुलीकोट-६ स्थित अन्तर ज्योति माध्यमिक विद्यालयकै भएको पुष्टि भएको छ । तर, विद्यालयका प्रधानाध्यापक रणबहादुर बरामका अनुसार यो भिडिओ हालको नभई करिब १८ महिना पुरानो हो ।

प्रधानाध्यापक बरामले 'टेकपाना'सँग कुरा गर्दै भने, “यो घटना २०८१ असोज ताकाको हो । विद्यार्थीलाई यसरी सजाय दिएको जानकारी पाएलगत्तै हामीले सम्बन्धित शिक्षकलाई स्पष्टीकरण सोधेका थियौँ । उहाँले व्यक्तिगत रिसिबी नभई गृहकार्य नगरेका कारण सजाय दिएको स्वीकार गर्दै माफी माग्नुभएको थियो । तर, बालबालिकालाई शारीरिक र मानसिक यातना दिनु विद्यालयको नीति विपरीत भएकाले हामीले उहाँलाई तत्कालै सेवाबाट अवकाश दिएका थियौँ ।”

विद्यालयका अनुसार भिडिओमा देखिने शिक्षक उज्ज्वल प्रसाद पनेरी हुन्, जो त्यसबेला करार सेवामा कार्यरत थिए । उनी विद्यालयकी एक शिक्षिका सुत्केरी बिदामा बसेको समयमा केही अवधिका लागि नियुक्त भएका थिए । आधारभूत तहमा अध्यापन गराउने पनेरीले विद्यार्थीलाई सजाय दिँदै आफैँले भिडिओ समेत बनाएको पाइएको छ । “हामीले १८ महिनाअघि नै कारबाही गरेर हटाइसकेका शिक्षकको भिडिओ अहिले आएर भाइरल हुनु दुःखद छ,” प्रधानाध्यापक बरामले थपे ।

विद्यालयले विद्यार्थीलाई सजाय दिने कार्यमा शून्य सहनशीलताको नीति अपनाएको र शिक्षकहरूलाई सधैँ विद्यार्थीको मनोविज्ञान बुझेर स्नेहपूर्ण वातावरणमा सिकाउन प्रोत्साहन गर्ने गरेको पनि उनले बताए ।

यस्तै, गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले पनि भिडिओ पुरानो भएको पुष्टि गरेका छन् । उनले भने, “दरबन्दीका शिक्षकहरूलाई विद्यार्थीसँग गरिने व्यवहारबारे हामीले समय-समयमा तालिम दिँदै आएका छौँ । यो पुरानो घटना हो र शिक्षकले कारबाही भोगिसक्नुभएको छ । यद्यपि, यो घटनाले हामीलाई करारमा शिक्षक नियुक्ति गर्दा थप सचेत रहनुपर्ने पाठ सिकाएको छ ।”

पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १६:२८