close

लिक्विड कुलिङ भएको विश्वकै पहिलो गेमिङ फोन रेडम्याजिक ११ प्रो नेपाल आउँदै, कति छ मूल्य ?

टेकपाना टेकपाना

चैत ८, २०८२ १०:३७

लिक्विड कुलिङ भएको विश्वकै पहिलो गेमिङ फोन रेडम्याजिक ११ प्रो नेपाल आउँदै, कति छ मूल्य ?

काठमाडौँ । जेडटीईको गेमिङ ब्रान्ड रेडम्याजिकले आफ्नो सबैभन्दा शक्तिशाली र एआई–केन्द्रित स्मार्टफोन 'रेडम्याजिक ११ प्रो' नेपाली बजारमा ल्याउने भएको छ । करिब १ लाख ६० हजार रुपैयाँ हाराहारी मूल्य पर्ने यो फोन व्यावसायिक रूपमा ठुलो मात्रामा उत्पादन गरिएको विश्वकै पहिलो 'लिक्विड–कुल्ड' स्मार्टफोन हो ।

यो फोनको सबैभन्दा विशिष्ट पक्ष भनेकै यसमा रहेको 'अक्वाकोर कुलिङ सिस्टम' (AquaCore Cooling System) हो । यो प्रविधि शक्तिशाली गेमिङ पीसी र एआई सर्भरहरूमा प्रयोग हुने कुलिङ प्रणालीसँग मिल्दोजुल्दो छ । जसलाई स्मार्टफोनको सानो आकारमा फिट गरिएको छ ।

यसमा रहेको 'पिजोइलेक्ट्रिक सेरामिक माइक्रो–पम्प' ले फोनका तातो हिस्साहरूमा एन्टी–फ्रिज कुलेन्ट (तरल पदार्थ) निरन्तर सञ्चालन गराउँछ । यो तरल पदार्थ -४० देखि ७० डिग्री सेल्सियसको तापक्रममा पनि प्रभावकारी रहन्छ ।

फोनको पारदर्शी भेरियन्टहरू (नाइटफ्रिज र सबजेरो) को पछाडि यो निलो तरल पदार्थ प्रवाह भएको स्पष्ट देख्न सकिन्छ । जसले एउटा 'टाइम-स्पेस रिङ' जस्तो आभास दिन्छ । यो प्रणालीले गर्दा सीपीयूको कार्यक्षमतामा २०% र जीपीयूमा ३०% सम्मको बढोत्तरी हुने दाबी गरिएको छ ।

यसका साथै फोनमा २४ हजार RPM मा घुम्ने टर्बो फ्यान पनि रहेको छ ।रेडम्याजिक ११ प्रोमा शक्तिशाली 'क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५' चिपसेट प्रयोग गरिएको छ । यसलाई साथ दिन कम्पनीकै Red Core R4 गेमिङ प्रोसेसर पनि राखिएको छ, जसले फ्रेम रेट र ग्राफिक्सलाई अझ स्मुथ बनाउँछ ।

गीकबेन्चको मल्टी–कोर स्कोरमा यसले ११,००० भन्दा बढी अङ्क प्राप्त गर्दै धेरैजसो फ्ल्यागशिप फोनहरूलाई पछि पारेको छ । फोनमा २४ जीबीसम्मको LPDDR5T र्‍याम र १ टीबीसम्मको UFS 4.1 Pro स्टोरेज क्षमता रहेको छ । यो शक्तिशाली हार्डवेयरले गर्दा 'वुदरिङ वेभ्स' (Wuthering Waves) जस्ता उच्च ग्राफिक्स भएका गेमहरू ९०fps मा लगातार १२० मिनेटसम्म खेल्न सकिन्छ ।

प्रसिद्ध टेक भिडिओ निर्माता जेरीरिगएभ्रिथिङ (JerryRigEverything) ले गरेको कडा परीक्षणमा यो फोन उत्कृष्ट देखिएको छ । फोनको स्क्रिनमा लाइटरको आगोले २० सेकेन्डसम्म पोल्दा पनि एमोलेड डिस्प्ले तुरुन्तै पुरानै अवस्थामा फर्किएको थियो ।

फोनलाई अगाडि र पछाडिबाट जोडले बङ्ग्याउँदा पनि यसको संरचनामा कुनै क्षति पुगेन । साथै यो फोनमा IPX8 वाटर रेसिस्टेन्स रेटिङ छ, जसको अर्थ यो पानीभित्र डुब्दा पनि सुरक्षित रहन सक्छ । यद्यपि फ्यानका लागि हावा जाने प्वालहरू भएकाले यसमा धुलो पस्ने जोखिम भने रहन सक्छ ।

डिस्प्लेको कुरा गर्नुपर्दा यसमा रहेको ६.८५ इन्चको BOE X10 AMOLED स्क्रिनमा कुनै पनि नच वा प्वाल छैन । सेल्फी क्यामेरा स्क्रिनको मुनि लुकाइएको छ, जसले गर्दा ९५.३% स्क्रिन–टु–बडी रेसियो प्राप्त हुन्छ । यसमा १४४ हर्जको रिफ्रेश रेट र ३,००० हर्जको टच स्याम्पलिङ रेट रहेको छ ।

यसको ७,५०० mAh क्षमताको ब्याट्रीले मध्यम प्रयोगमा २ दिनसम्म ब्याकअप दिने बताइएको छ । यो फोनले ८० वाटको वायर्ड र ८० वाटकै वायरलेस फास्ट चार्जिङ सपोर्ट गर्दछ । ३० मिनेट चार्ज गर्दा ब्याट्री ७०% सम्म भरिन्छ ।

क्यामेरा गेमिङ फोनहरूको प्राथमिकताको विषय नभए पनि यसमा ५० एमपी + ५० एमपी + २ एमपीको ट्रिपल रियर सेटअप छ । अतिरिक्त सुविधाहरूमा ५२० हर्जको रेस्पोन्स रेट भएका दुईवटा 'क्यापासिटिभ सोल्डर ट्रिगर्स', ३.५ एमएमको हेडफोन ज्याक र एउटा मेकानिकल गेम मोड स्विच (Red Slider) पनि यसमा समावेश छन् । यो फोन 'रेडम्याजिक ओएस ११' मा चल्छ, जुन एन्ड्रोइड १६ मा आधारित छ र यसमा गुगल जेमनाई एआईको सपोर्ट पनि उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८२ १०:३७