close

अब पेन्सनका लागि भाैतिक उपस्थित हुनैनपर्ने, किताबखानाले सुरु गर्‍यो एकीकृत डिजिटल पेन्सन सेवा

टेकपाना टेकपाना

चैत ९, २०८२ ११:५८

अब पेन्सनका लागि भाैतिक उपस्थित हुनैनपर्ने, किताबखानाले सुरु गर्‍यो एकीकृत डिजिटल पेन्सन सेवा

काठमाडौं । अब राजीनामा दिने  वा अनिवार्य अवकाशमा जाने कर्मचारीहरू निवृत्तिभरण (पेन्सन) र उपदानका लागि किताबखानाको कार्यालय पुग्नुपर्ने बाध्यता हटेकाे छ । राष्ट्रिय किताबखानाले शुक्रबार एक कार्यक्रम गर्दै अवकाश प्राप्त कर्मचारीहरूका लागि एकीकृत डिजिटल निवृत्तभरण (पेन्सन) सेवा सुरु गरेको हाे । 

किताबखानाले गत १२ पुसमा मात्रै डिजिटल निवृत्तिभरण (पेन्सन) सेवाकाे सफल परीक्षण  सम्पन्न गरेको थियो । ‍औपचारिक रूपमा सेवा सञ्चालनमा आएसँगै अब ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सहजकर्ताको रूपमा यो प्रणालीमा पहुँच दिइएको किताबखानाका निर्देशक तथा सूचना अधिकारी शाेभाकर पाण्डेयले जानकारी दिए । उनका अनुसार कर्मचारीले सम्बन्धित जिल्लाबाटै अनलाइन आवेदन दिन सक्ने र किताबखानाले विवरण प्रमाणीकरण गरेपछि जिल्लाबाटै सेवा सुनिश्चित हुनेछ ।  

महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार कुनै कार्यालय प्रमुखले आफ्नो निबृत्त कर्मचारीलाई आफ्नै अफिसबाट ई-पेन्सन सेवा दिन्छु भनेर किताबखानालाई आग्रह गरेमा एक पटकको पहुँच दिने व्यवस्था मिलाइनेछ । जसका लागि जिल्ला स्थित काेष तथा लेखा नियन्त्रक कार्यालय पनि पुग्नु नपर्ने उनकाे भनाइ छ । 

यो प्रणालीमा निवृत्तिभरण अधिकारपत्र, उपदान रकम निर्धारण, सञ्चित बिदाको सुविधा र औषधि उपचारको किटानीपत्र जस्ता सेवाहरू समेटिएका छन् । साथै कर्मचारीले रोजेको बैङ्कमा सोझै निवृत्तिभरण खाता खोल्न सक्ने सुविधा समेत किताबखानाले दिएकाे छ । 

पेन्सन सेवाका लागि आवश्यक कागजातनमुना फारामहरू  राष्ट्रिय किताबखानाकाे आधिकारिक साइटबाट लिन सकिने छ ।  निकट भविष्यमा नै निवृत्तिभरण अधिकारपत्र र परिचयपत्रलाई नागरिक एप मार्फत हेर्न र प्रिन्ट गर्न सकिने गरी विस्तार गरिने किताबखानाले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत ९, २०८२ १२:०