स्टार्टअप कर्जा पाउने आशमा १० हजार बढीको आवेदन, एआई सफ्टवेयरमार्फत मूल्यांकन हुँदै
चैत १०, २०८२ १९:१५
काठमाडौँ । सरकारले प्रवाह गर्ने स्टार्टअप कर्जाका लागि परेका आवेदनहरूको प्रारम्भिक छनोट गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित स्क्रिनिङ सफ्टवेयर प्रयोगमा ल्याएको छ । यस सफ्टवेयरले स्टार्टअप प्रस्तावहरूलाई ८० प्रतिशतसम्मको शुद्धताका साथ प्रारम्भिक छनोट गर्ने मन्त्रालयको दाबी छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत १९ कात्तिकमा आह्वान गरेको प्रस्तावमा देशभरबाट कुल १० हजार २४४ परियोजनाका लागि आवेदन परेको छ । जसमा आठ हजार २०३ अनलाइन र दुई हजार ४१ भौतिक रूपमा प्राप्त प्रस्ताव रहेका छन् ।
परियोजनाको वास्तविक अवस्था र उद्यमीको सक्रियता बुझ्न मन्त्रालयले स्थानीय तहका उद्यम विकास सहजकर्तालाई परिचालन गरेको छ । स्थलगत निरीक्षणका क्रममा सहजकर्ताहरूले परियोजनाको फोटो र उद्यमीको कार्य देखिने एक मिनेटको भिडिओ समेत संकलन गरेका छन् । प्राप्त कागजात, फोटो र भिडिओका आधारमा कार्यविधि अनुसारको मूल्यांकन समितिले अंक प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
सरकारले युवाहरूलाई स्टार्टअप उद्यममा आकर्षित गर्न चालू आर्थिक वर्ष २०८२/८३ का लागि ८६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअन्तर्गत तीन प्रतिशत ब्याजदरमा बिना धितो कर्जा प्रवाह गरिने छ ।
प्रारम्भिक सूचीमा परेका परियोजनाहरूको बैंकमार्फत ‘क्रेडिट जाँच’ गरिनेछ । मूल्यांकनका क्रममा ५० अंकभन्दा बढी ल्याउने प्रस्तावहरूलाई प्राथमिकताका आधारमा कर्जाका लागि सिफारिस गरिने मन्त्रालयले प्रस्ट पारेको छ ।
मन्त्रालयले तेस्रो पटक स्टार्टअप कर्जा वितरण गर्न लागेको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा १८३ जना र आर्थिक वर्ष २०८१/८२ मा ६६१ जना उद्यमी कर्जाका लागि सिफारिस भएका थिए ।
उद्यमीहरूको उत्साह बढे पनि सरकारले यस वर्ष कार्यक्रमको बजेट घटाएको छ । गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । त्यस्तै, उद्यमीले पाउने कर्जाको अधिकतम सीमा पनि घटाइएको छ । गत वर्ष पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म ऋण पाइने व्यवस्था रहेकोमा यस वर्ष अधिकतम सीमा २० लाख रुपैयाँमा झारिएको छ । यद्यपि, ब्याजदर भने तीन प्रतिशतमा यथावत् राखिएको छ ।
पछिल्लो अध्यावधिक: चैत १०, २०८२ २१:३९
