२०० एमपी क्यामेरा भएको ‘साओमी १७ अल्ट्रा’ नेपालमा, प्रिबुकिङमा क्यासब्याकदेखि स्मार्टवाचमा छुट
चैत ११, २०८२ १४:५३
काठमाडौँ । नेपाली बजारमा साओमीको प्रिमियम स्मार्टफोन ‘साओमी १७ अल्ट्रा’ को प्रि-बुकिङ खुला गरिएको छ । कम्पनीको फ्ल्यागशिप सिरिज अन्तर्गत केही समयअघि मात्रै विश्व बजारमा सार्वजनिक भएको यो फोन अब नेपाली बजारमा समेत उपलब्ध हुने भएको हो ।
प्रिमियम डिजाइन, शक्तिशाली हार्डवेयर र उत्कृष्ट क्यामेरा फिचरसहित यो फोन निर्माण गरेको कम्पनीको दाबी छ ।
कम्पनीले पहिलोपटक पूर्ण फ्ल्याट डिजाइनमा ल्याएको यो फोन ८.२९ एमएम मोटाइ र २२४ ग्राम तौलको छ । ६.९ इन्चको एलटीपीओ ओएलईडी डिस्प्ले रहेको फोनले १२० हर्जको रिफ्रेस रेट, १.५ के रिजोलुसन र ३५०० निट्ससम्मको पिक ब्राइटनेस सपोर्ट गर्दछ ।
पानी र धुलोबाट सुरक्षाका लागि फोनमा आईपी६६, आईपी६८ र आईपी६९ रेटिङ दिइएको छ ।
एन्ड्रोइड १६ मा आधारित हाइपर ओएस ३.० बाट सञ्चालित फोनमा स्न्यापड्रागन ८ एलिट जेन फाइभ चिपसेट प्रयोग गरिएको छ । फोनमा १६ जीबी र्याम र ५१२ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ । यसले गर्दा हेभी गेमिङ र मल्टिटास्किङका लागि यो फोन निकै उपयुक्त हुने कम्पनीको दाबी छ ।
‘लाइका’ (Leica) ट्युनिङसहितको ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा ५० मेगापिक्सेलको मुख्य सेन्सर, २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स र ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा समावेश छन् ।
यसबाट डीएसएलआर जस्तो फोटो गुणस्तर र लामो दूरीसम्म उत्कृष्ट जुम गर्न सकिने कम्पनीले जनाएको छ । सेल्फीका लागि यसमा ५० मेगापिक्सेलको क्यामेरा दिइएको छ, जसले फोरके भिडिओ रेकर्डिङ सपोर्ट गर्छ ।
६००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा ९० वाटको फास्ट चार्जिङ, ५० वाटको वायरलेस चार्जिङ र २२.५ वाटको रिभर्स चार्जिङ सुविधा छ । साथै, फोनमा वाई-फाई ७, ब्लुटुथ ६.०, एनएफसी, आईआर ब्लास्टर, थ्रडी अल्ट्रासोनिक इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र डल्बी एटमससहितको स्टेरियो स्पिकर जस्ता आधुनिक सुविधाहरू छन् । नेपाली बजारमा यस फोनको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
प्रि-बुकिङमा के-के छन् अफर ?
कम्पनीका अनुसार यो फोनको प्रि-बुकिङ आज बुधबारदेखि सुरु भएर चैत १७ गतेसम्म रहनेछ । प्रि-बुक गर्ने ग्राहकले १० हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । यदि ग्राहकले क्यासब्याक नलिई ३९ हजार ९९९ रुपैयाँ मूल्यको साओमी वाच एस४ खरिद गर्न चाहेमा उक्त घडी २४,९९९ रुपैयाँमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै, प्रि-बुक गर्ने सबै ग्राहकले १५ हजार ९९९ रुपैयाँ बराबरको साओमी बड्स ५ नि:शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत ११, २०८२ १५:६
